सत्तारुढ नेपाली कांग्रेसले मुख्य चाडपर्वका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको चियापान तथा शुभकामना कार्यक्रम यो वर्ष नगर्ने भएको छ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति निकालेर कोरोना भाइरस महामारीको जोखिम कायमै रहेको भन्दै चियापान कार्यक्रम नगर्ने उल्लेख गरेक छन्।
कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान गर्ने गरेको थियो। ‘कांग्रेस नेतृत्वको सरकारले खोपलाई व्यापक बनाएपछि कोरोना महामारी त्रास र आकार घट्दै गएको छ तर जोखिम घटिसकेको छैन', उनले भनेका छन्, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा लाग्नु अहिले हामी सबैको कर्तव्य भएको छ।’
कांग्रेसले हरेक वर्ष गर्ने चियापानमा हजारौँलाई बोलाउने गरेको थियो। दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकाय, निजामती कर्मचारी, नागरिक समाजका सदस्य र सर्वसाधारण पनि चियापानमा जाने गरेका थिए। कांग्रेसको चियापान गत वर्ष पनि भएको थिएन।
Shares
प्रतिक्रिया