ad ad

राजनीति


टर्की र रुस वास्तवमा एकअर्काका मित्र हुन् वा शत्रु?

टर्की र रुस वास्तवमा एकअर्काका मित्र हुन् वा शत्रु?

नेपालखबर
असोज १७, २०७८ आइतबार १८:५८, काठमाडौँ

टर्की र रुसबीचको सम्बन्ध कसैबाट छिपेको छैन। दुई देशबीच राम्रो सम्बन्ध रहेको मानिन्छ। तर  ध्यान दिएर हेर्ने हो भने उनीहरूबीचको सम्बन्ध केवल व्यापार र पर्यटनमा देखिन्छ। वास्तविकताले के दखाउँछ भने धेरै कुरामा टर्की र रुसले एकअर्कालाई टक्कर दिइरहेका छन्। 

टर्कीले जब एस–४०० क्षेप्यास्त्र रक्षा प्रणाली (मिसाइल डिफेन्स सिस्टम) रुसबाट लिने घोषणा गरेको थियो, तब अमेरिकासहित नेटोले त्यसो नगर्न आग्रह गरेको थियो। 

यहाँसम्म कि अमेरिकाले टर्कीको रक्षा उद्योगमा समेत केही प्रतिबन्ध लगाएको थियो, तर टर्कीले आफूलाई यसो गर्न कसैले रोक्न नसक्ने चेतावनी दियो। 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भनेका थिए, ‘कुनै पनि देशले हामीलाई एस–४०० मिसाइल खरिदका विषयमा आदेश दिन सक्दैन।’

उक्त भनाइले टर्की र रुसको सम्बन्ध अझ गहिरो हुने स्पष्ट पारेको थियो, यो अनुमान सही साबित भयो– दुईबीचको व्यापारिक सम्बन्ध अझ गहिरो भएको छ।   

रुसले यस वर्षसम्ममा आफ्नो प्रयोगका लागि टर्कीबाट झन्डै आधा ग्यास आयात गरिसकेको छ। गत वर्ष पाइपलाइन बिग्रिएका कारण रुसले एकतिहाइ ग्यास मात्र खरिद गरेको थियो, तर अहिले यसमा उल्लेखनीय वृद्धि गरिएको छ। 

अर्कातर्फ कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा रुसबाट ७० लाख पर्यटक टर्की आएका थिए। जुन कुनै पनि देशबाट आउने मानिसको सबैभन्दा ठूलो संख्या थियो। 

यसैगरी रुसले टीर्कीको दक्षिणमा परमाणु प्लान्ट बनाउँदै छ, जसको काम २०२३ सम्ममा सुरु हुनेछ। यसै हप्ता मात्र टर्कीका राष्ट्रपति एर्दाेगानले रुस भ्रमणका क्रममा पर्यटनका लागि रुसले गरेको सहयोगको प्रशंसा गरेका थिए। 

यति धेरै व्यापारिक सहयोग हुँदाहुँदै पनि दुई देशबीचको सम्बन्ध धेरै स्थानमा बिग्रिएका पनि छन्, त्यो हो– युद्ध क्षेत्रमा। दुवैका लागि सबैभन्दा ठूलो युद्ध हो– सिरिया। 

सिरियामा रुस बसर अल असद सरकार समर्थित फौजका साथमा छ भने टर्कीचाहिँ विद्रोही लडाकुको समर्थन गरिरहेको छ।

टर्की आफूकहाँ रहेको कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई आतंकवादी संगठन ठान्छ र र सिरियामा युद्धरत वाईपीजीलाई यसैको शाखा मान्छ। जसलाई ऊ नष्ट गर्न चाहन्छ। 

हालै टर्कीका राष्ट्रपति एर्दोगानले रुसको भ्रमण गरेका थिए र त्यस क्रममा उनले सोचीमा त्यहाँक राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। 

भ्रमणबाट फर्किएपछि एर्दोगानले भनेका थिए, ‘सिरियाबारे रुसका हरेक निर्णयमा टर्की प्रतिबद्ध रहनेछ र त्यसमा पछि हट्ने प्रश्नै छैन।’

यस्तै सिरियामा हालै भएका हमलाका सम्बन्धमा एर्दोगानले त्यस क्षेत्रबाट वाईपीजी/पीकेके आतंकवादी समूह हटाउन रुससँग सम्झौता गरिएको र त्यो पूरा हुने जानकारी पनि दिए। 

उनले जोड दिँदै भने, ‘रुस भ्रमणका क्रममा मैले वाईपीजी/पीकेके आतंकवादी संगठनसम्बन्धी सवाल गम्भीरतापूर्वक उठाएको छु र पुटिनलाई आतंकवादविरुद्धको लडाइँमा बलियो सहयोग गर्न सम्झाएको छु।’​

एर्दाेगानले थप के भने?
टर्कीका अनुसार पीकेकेको ३५ वर्षसम्मको आक्रामणमा परी कम्तीमा ४० हजार जनाको ज्यान गएको छ। जसमा महिला, बालबालिका र नवजात शिशु छन्। उक्त संगठनलाई टर्कीसहित अमेरिका र युरोपेली संघले आतंकवादी संगठनको सूचीमा राखेको छ। 

सिरियाको युद्धमा तेस्रो पक्ष अमेरिका पनि रहेको छ, जसले कुनै बेला पीकेकेसहित विद्रोही लडाकुको समर्थन गरेको थियो। 

रुसको भ्रमणबाट फर्किने क्रममा एर्दाेगानले आफूले रोममा अमेरिकी राष्ट्रपति जो बाइडनलाई भेट्ने बताए। 

उनले भने, ‘मध्यपूर्व र उत्तरी अफ्रिकाका लागि ह्वाइट हाउसका संयोजक ब्रेट म्याकगर्क एक किसिमले ‘पीकेके/वाईपीजी/पीवाईडीका निर्देशक हुन् र टर्की जुन क्षेत्रमा संघर्ष गरिरहेको छ त्यहाँ आतंकवादी समूहरूसँग हातमा हात मिलाइरहेका छन्। 

यस्तै एर्दोगानले अमेरिकाले जतिसक्दो चाँडो सिरिया छाड्नुपर्छ र यो सिरियाली जनतालाई हस्तान्तरण गर्नुपर्ने बताए। 

गत बुधबार रुसको सोचीबाट फर्किेने क्रममा उनले विमानमा पत्रकारहरूसँग भने, ‘टर्कीले सिरियाली शरणार्थीहरूलाई सुरक्षित रूपमा आफ्ना घर फर्काउनका लागि आवश्यक सबै काम गरिरहेको छ। अहिलेसम्म १० लाख सिरियाली शरणार्थी घर फर्किसकेका छन्। जसमा ४ लाख इडलिबका बासिन्दा छन्।’ 

टर्की र रुसले एक सम्झौताअनुसार इडलिबलाई डी–एस्केलेसन जोन घोषणा गरेका छन्। 

टीआरटी वर्ल्ड वेबसाइट लेख्छ– धेरैपटक युद्धविरामको सम्झौता गरेर पनि सिरियाली सरकार र उसका सहयोगीले त्यसलाई तोडेर यस क्षेत्रमा धेरैपल्ट आक्रमण गरेका छन्।

रुस–टर्की अन्य स्थानमा पनि आमनेसामने
लिबियामा टर्कीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सहयोगका लागि त्रिपोलीमा सैन्य हस्तक्षेप गरेको थियो, तर खलिफा हफ्तरका सेनाले उसविरुद्ध आक्रमण गर्यो। 

समाचार एजेन्सी रोयटर्ससँग संयुक्त राष्ट्र संघका विशेषज्ञ भन्छन्, ‘रुसको वाग्नेर समूहले हफ्तरको सहयोगका लागि लडाकु पठाएको थियो। तर टर्कीले त्रिपोली सरकारलाई मद्दत गर्न सिसरियाली लडाकु पठाएको थियो।’ 

गत वर्ष अक्टोबरमा दुवै पक्षले युद्धविराम सम्झौता गरेका थिए, जसअनुसार विदेशी लडाकुले जनवरीसम्म लिबिया छाड्नुपर्ने थियो। तर अहिलेसम्म दुवै पक्षले यो अन्तिम मितिलाई बेवास्ता गरिरहेका छन्। 

यसबाहेक टर्कीले अजरबैजान र आर्मिनियाबीचको लडाइँमा खुलेर अजरबैजानको पक्ष लिइसकेको छ भने गत वर्ष दक्षिणी काकेसस पर्वतीय क्षेत्रमा पर्ने नागोर्नो–काराबाख कब्जाका लागि भएको युद्धका क्रममा रुस आर्मिनियाका पक्षमा थियो। 

रुसले आर्मिनियासँग आफ्नो दक्षिणी भागमा जस्तै उसले आर्मिनियाको रक्षा गर्ने सम्झौता गरेको छ। किनकि सोभियतकालमा यो उसकै एक भाग थियो। 

पुटिनले युद्ध र आर्मिनियाको पूरै हार हुनबाट रोक्न शान्ति सम्झौताको मध्यस्थता गरेका थिए। 

यसबाहेक टर्कीले क्रिमियामा रुसको कब्जालाई पनि मान्यता दिँदैन। टर्कीको भनाइ छ– युक्रेनको सार्वभौमसत्ता कायम राख्नु महत्त्वपूर्ण छ। 

टर्कीको उक्त वक्तव्यले रुस निकै रिसाएको थियो तर यसलाई बेवास्ता गर्दै गत महिना मात्र संयुक्त राष्ट्र संघमा टर्कीका राष्ट्रपति एर्दाेगानले त्यही कुरा दोहोर्याएका छन्। 

गत अप्रिमा एर्दाेगानले यो पनि भने, ‘हामी युक्रेनको सीमामा रुसी सेनाविरुद्ध उसलाई सहयोग गर्छाैं।’ यसपछि रुसले टर्कीलाई चेतावनी दिँदै भनेको थियो, ‘सैन्य भावना भड्काउने प्रयास नगर।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .