ad ad

राजनीति


गहिरिँदै इरान–अजरबैजान तनाव : यस्तो छ यसको भित्री कथा

गहिरिँदै इरान–अजरबैजान तनाव : यस्तो छ यसको भित्री कथा

नेपालखबर
असोज १६, २०७८ शनिबार १७:४६, काठमाडौँ

इरान र अजरबैजानबीच बिस्तारै-बिस्तारै तनाव गहिरिँदै गएको छ। सात सय किलोमिटर लामो सीमा जोडिएका यी दुई देशबीचकाे सम्बन्ध अहिलेसम्म सामान्य नै थियाे तर केही दिनयता उथलपुथल हुन थालेकाे देखिएको छ। 

दुई देशबीचको सम्बन्धमा यो गडबडी गत महिना टर्की, पाकिस्तान र अजरबैजानले इरानको सीमादेखि थोरै मात्र टाढा स्थानमा संयुक्त सैन्य अभ्यास गरेपछि सुरु भएको हो। 

‘थ्री ब्रदर्स–२०२१’ नामको उक्त सैन्य अभ्यास सुरु हुनासाथ इरानले पनि अजरबैजान नजिकै सैन्य अभ्यास गर्ने घोषणा गरेको थियो।

इरानको उक्त सैन्य अभ्यासको निन्दा गर्दै अजरबैजानका राष्ट्रपति इलहम अलिएफले ‘यो निकै आश्चर्यजनक घटना हो’ भनेका छन्। 

टीर्कीको समाचार एजेन्सी एनाडोलुलाई दिएको अन्तर्वार्तामा अलिएफले भनेका छन्, ‘कुनै पनि देशले आफ्ना क्षेत्रमा कुनै पनि किसिमका सैन्य अभ्यासन गर्न सक्छन्। यो उसको सार्वभौम अधिकार हो। तर यो अहिले किन भइरहेको छ र हाम्रो सीमानानजिक के भइरहेको छ?’ 

समाचार एजेन्सी एनाडोलुसँग उनले भनेअनुसार २० वर्षअघि सोभियत संघको पतनपछि यो पहिलोपटक इरानले अजरबैजानको यति नजिकै शक्ति प्रदर्शनको योजना बनाएको हो। 

इरानले दियो कडा जवाफ
अजरबैजानका राष्ट्रपतिको वक्तव्यपछि इरान पनि चुप लागेर बसेको छैन। उसले तुरुन्त जवाफ दिँदै भनेको छ, ‘यो हाम्रो सार्वभौमसत्ताको कुरा हो।’

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेहले वक्तव्य जारी गर्दै भनेका छन्, ‘उत्तर–पश्चिमी सीमावर्ती क्षेत्रमा हाम्रो देशद्वारा गरिएको सैन्य अभ्यास सार्वभौम सत्ताको विषय हो।’ 

उनले इरान आफ्नो राष्ट्रिय सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने पनि बताए। 

यसपछि खतिबजादेहले आफ्नो वक्तव्यमा जे बताए, त्यसबाट इरान र अजरबैजानबीचको तनावको गम्भीरता बुझ्न सकिन्छ। उनले आफ्नो वक्तव्यमा इजरायलको नाम नलिईकन आफ्नो सीमानजिक यहुदी शासन सहन नसकिने चेतावनी पनि दिए। 

इरानका विदेशमन्त्री हुसैन अमिर अब्दुल्लाहियानले यही सेप्टेम्बर ३० का दिन अजरबैजानका नयाँ राजदूतसँग भेटका क्रममा पुनः भने, ‘सीमामा राष्ट्रिय सुरक्षासँग खेलबाड गरिरहेको यहुदी शासन हामी देख्न सक्दैनौं र त्यसविरुद्ध कुनै पनि आपतकाली कदम उठाउन सक्छौं।’ 

यस्तै अजरबैजानको राजधानी बाक्ुमा इरानका राजदूत अब्बास मुसावीले गत हप्ता इरानको सैन्य अभ्यास पूर्वयोजनाअनुसार नै भएको र यो अजरबैजानका लागि ‘कुनै खतरा नभएको’ दाबी गरेका थिए। 

तनावको वास्तविक कारण के हो? 
इरान र अजरबैजानबीच देखिएको तनावका पछाडि धेरै कारण भएको बताइन्छ। टर्की, पाकिस्तान र अजरबैजानबीच संयुक्त सैन्य अभ्यासबाहेक यो तनावका धेरै कारणमध्ये इजरायल, काराबाखमा अजरबैजानको कब्जा र इरानमा रहेका अजरबैजान मूलका जनता रहेको बताइन्छ। 

सबैभन्दा पहिले इजरायलको कुरा गरौं। अजरबैजानमा इजरायलको उपस्थिति स्पष्ट रूपमा देखिएको छैन, न उसको सीमा ती दुई देशबीचसँग जोडिएको छ। तर इजरायल अजरबैजानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता देश हो। 

इजरायलसँग अजरबैजानको कामकाजी सम्बन्ध पक्कै छ। तर इरानविरुद्ध इजरायली रणनीतिको उसले आधिकारिक रूपमा समर्थन गर्दैन। 

यही सेप्टेम्बर १७ तारिख शुक्रबारको नमाजपछि इरानका नेता अयातुल्लाह हसन अमेलीले फार्स समाचार एजेन्सीसँग भनेका छन्, ‘यो सैन्य अभ्यास इसरायललाई एउटा सन्देश दिनेछ।’ 
उनले अगाडि भनेका छन्, ‘यसकारण इसरायल अजरबैजान आएको हो, जसले गर्दा इरानविरुद्ध षड्यन्त्र रच्न सकियोस्।’ 

आर्मिनियामा अजरबैजानको जित पनि कारण हो? 
गत वर्ष सेप्टेम्बरमा अजरबैजान र आर्मिनियाबीच विवादित क्षेत्र नागोर्नो–काराबखका लाग युद्ध भएको थियो। 

६ हप्तासम्म चलेको युद्धमा झन्डै ६ हजार जनाको ज्यान गएको थियो भने अजरबैजानले काराबाखको एउटा ठूलो क्षेत्र कब्जा गरेको थियो। अहिले उक्त क्षेत्र अजरबैजानको नियन्त्रणमा आएपछि इरानको व्यापार मार्गमा ठूलो असर परेको छ। 

अजरबैजान–आर्मिनियाबीचको युद्धमा इरानले चुपचाप आर्मिनियाको समर्थन गरिरहेको थियो। तर अजरबैजान इरानजस्तै शियाबहुल मुलुक हो। 

काराबाखको व्यापार मार्गका माध्यमबाट पश्चिम एसिया र रुससम्म इरानको  पहुँच थियो, तर अहिले यो मार्ग अजरबैजानको नियन्त्रणमा छ। 

तेहरानस्थित पत्रकार फातिमा करिमखान टीआरटी वर्ल्डसँग भनेकी छन्, ‘काराबाख  आर्मिनियाको कब्जामा रहँदासम्म इरानले भन्सार नतिरीकनै पश्चिम एसिया र रुसबाट ट्रक तथा अन्य सवारीसाधानबाट ढुवानी गर्थ्याे।’ 

करिममखानका अनुसार युद्धका कारण काराबाख क्षेत्र अजरबैजानको कब्जामा गएको छ, जसले गर्दा पश्चिम एसियामा इरानको प्रवेशमा रोक लागेको छ र आर्मिनियासम्म पुग्न उसले इरानसँग पैसा असुलिरहेको छ। 

तर अजरबैजानलाई यो नीति एकदमै सामान्य लागेको छ। यो सार्वभौमसत्ताको सवाल भएको उसको बुझाइ छ र आफ्नो क्षेत्रबाट आवतजावतका लागि सीमा शुल्क लिन सकिने उसको भनाइ छ।

यसबाहेक इरानी ट्रकले उक्त बाटोबाट हतियार ओसार्न सक्ने र आफ्नो दुश्मन आर्मिनियालाई दिन सक्ने चिन्ता पनि अजरबैजानलाई छ। 

आफ्ना ट्रकलाई अवरोध गरिएका कारण पनि इरान रिसाएको छ। हालै मात्र इरानका दुई ट्रक चालकलाई सडक करका कारण अजरबैजानले नियन्त्रणमा लिएको थियो। त्यसपछि इरानी विदेश मन्त्रालयले उनीहरूलाई तुरुन्त रिहा गर्न भनेको थियो। 

करिमखानले टीआरटी वर्ल्डसँग भनेकी छन्, ‘आफ्ना ट्रकलाई अजरबैजानले गरेको अवरोध इरानका लागि अस्वीकार्य छ र पश्चिम एसियामा आफ्नो व्यापार सुरक्षामा खतरा महसुस गरेको छ।’

उनका भनाइमा– सैन्य अभ्यासका माध्यमबाट इरान आर्मिनिया र पश्चिम एसियासँग सडक सम्पर्कबारे आफ्नो गम्भीरता प्रकट गर्न चाहन्छ।  ​

अजरबैजान मूलका मानिससँग डराइरहेको छ इरान? 


धेरैजसो अजरबैजानी इरानको उत्तरी क्षेत्रलाई दक्षिणी अजरबैजान भन्छन्, जहाँ झन्डै २ करोड अजरबैजानी मूलका नागरिक छन्। 

धेरै जना अजरबैजानी राष्ट्रवादी र बुद्धिजीवी सांस्कृतिक र सामाजिक पहिचानका नाममा उत्तरी र दक्षिणी भाग एकीकरण गरिनुपर्ने माग गरिरहेका छन्, जसलाई ‘ग्रेटर अजरबैजान’ भनिन्छ। यी सबैले इरानलाई बाधा पुर्याइरहेका छन्। 

जब यी समस्या बढ्दै गए तब टर्की–पाकिस्तान–अजरबैजान तीन देशले संयुक्त सैन्य अभ्यास सुरु गरे।

एटलान्टिक काउन्सिलका वरिष्ठ फेलो तथा अजरबैजानका लागि अमेरिकाका पूर्वराजदूत म्याथ्यु ब्रेजाले टीआरटी वर्ल्डसँग भनेका छन्, तीन देशको संयुक्त सैन्य अभ्यासले इरानमा अजरबैजानी जनताको इरानविरोधी शक्ति बलियो भएको देखाउँछ।’ 

ब्रेजाका बुझाइमा सीमानजिक इरानले यो सैन्य अभ्यास गरेर आफ्ना अजरबैजानी समुदायलाई एउटा संकेत दिन चाहन्छ। 

उनी भन्छन्, ‘अजरबैजानी समुदायका लागि यो एक संकेत पनि हो, जो ठूलो संख्यामा उत्तरी इरानमा छन्। उनीहरूलाई दिन खोजिएको सन्देश के हो भने अशान्ति फैलाउन सकिन्छ भन्ने नसोच्दा हुन्छ। आर्मिनियासँग ४४ दिनसम्म अजरबैजानको युद्ध चल्दा उत्तरी इरानका  अजरबैजानी नागरिकले त्यसमा निकै चासो देखाएका थिए।’ 

अजरबैजान–आर्मिनिया युद्धका क्रममा उत्तरी इरानमा अजरबैजानको समर्थनमा प्रदर्शन पनि भएका थिए। 

अजरबैजानीको यो पृथकतावादबाट तेहरान चिन्तित छ। यो बढ्दै जान सक्ने उसको आशंका छ। 

यसैकारण माथ्यु ब्रेजा भन्छन्, ‘सीमानजिक गरिएको यो सैन्य अभ्यास देशमा रहेका अजरबैजान जनताका लागि संकेत हो।’

यस्तै नेदरल्यान्ड्को लाइडन युनिभर्सिटीमा मध्यपूर्व मामिला विज्ञ प्राध्यापक तुराज अताबाकी रेडियो फ्रि युरोपसँग भन्छन्, ‘इरान आफूलाई किनारा लगाइएकामा चिन्तित छ।’ 

उनी अगाडि भन्छन्, ‘टर्की नेटो सेनाको दोस्रो ठूलो साझेदार हो भने  पाकिस्तान उक्त क्षेत्रमा परमाणु शक्ति हो। त्यसैले यी दुई देश अजरबैजानसँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुनासाथ रुस र इरान चिन्तामा परेका हुन्। साथै इस्लामी गणराज्यका सेनाका अभ्यास पनि उनीहरूका लागि चिन्ताको विषय हो।’ 

उनका अनुसार एकप्रकारले अजरबैजानको सीमामा इरानले धेरै मोर्चालाई विचार गरेर सैन्य अभ्यास गरिरहेको देखिन्छ।  बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .