नेकपा (एमाले) ले ललितपुरकाे गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशन सञ्चालन गर्न पाँचवटा कमिटी बनाएको छ।
विधान महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको हो।
एमाले केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन्।
यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहेका छन्।
सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फेलाई राखिएको छ।
यसैगरी बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर रहेका छन्।
प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेका छन्।
कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरु सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रपछि आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ। भोलि बिहान ८ बजे सुरु हुने दोस्रो दिन दस्तावेजहरुमाथि समूहगत छलफल हुने कार्यक्रम छ।
Shares
प्रतिक्रिया