ad ad

राजनीति


नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तव काठमाडौंमा

नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तव काठमाडौंमा

नेपालखबर
असोज १२, २०७८ मंगलबार २१:३९, काठमाडौँ

भारतीय विदेश मन्त्रालयबाट नेपाल मामिला हेर्दै आएका सहसचिव अनुराग श्रीवास्तव काठमाडौं आइपुगेका छन्। तीन दिने भ्रमणका लागि उनी मंगलबार काठमाडौं आएका हुन्। 

श्रीवास्तवले नेपालमा रहँदा विभिन्न औपचारिक कार्यक्रममा भाग लिने लैनचौरस्थित भारतीय दूतावास श्रोतले जनाएको छ। 

उनले काठमाडौंमा रहँदा नेपाल-भारत परियोजना अनुगमन समितिको बैठकमा सहभागिता जनाउनेछन्। 

बिहीबार हुने उक्त बैठकमा नेपालबाट परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछन्। 

श्रीवास्तबले नेपालमा रहँदा बुधबार काभ्रे पुगेर भारतीय आर्थिक सहयोगमा बनाइएको विद्यालय भवन उद्घाटन गर्नेछन्। 

उनले नेपालमा रहँदा अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदीसहितलाई भेट्नेछन्। 

उनले राजनीतिक तहमा पनि भेटवार्ता गर्ने बताइएको छ। तर उनले भेट्ने नेताहरुको विवरण सार्वजनिक गरिएको छैन।

यसअघि राष्ट्रसंघीय महासभामा भाग लिन पुगेका बेला न्यूयोर्कमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।

उक्त भेटवार्ताको दुई दिनभित्रै श्रीवास्तव काठमाडौं आएका हुन्। 

पछिल्लो समय नेपालमा भारतविरोधी भावना बढ्दै गएको छ। गत साउन १५ गते दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर महाकालीमा खसाइदिएको र नेपाली आकाशमा हेलिकप्टर उडाएको घटनालाई लिएर नेपालमा विरोध भइरहेको छ। 

यी दुई घटनामा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको बताएको थियो। तर अझैसम्म त्यसको जवाफ भारतले दिएको छैन। 

यी घटनामा संलग्नमाथि कारबाहीका लागि पाँच दलीय गठबन्धन सरकारले पनि ठोस पहल गर्न सकेको छैन। भारतसँगको विवाद साम्य पार्न उल्टै सरकारले चीनतिर सीमा विवाद रहेको भन्दै अध्ययन समिति नै बनाएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले असार २९ मा सरकार सम्हालेयता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र भाजपा पूर्व महासचिव राम माधव नेपाल आएका थिए। 

त्यसपछि अनुराग नेपालको भ्रमणमा आएका हुन्। भाजपा नेता यसअघि आए पनि देउवाले नेतृत्व सम्हालेयता अनुराग नेपाल आउने उच्च भारतीय सरकारी अधिकारी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .