ad ad

राजनीति


चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

नेपालखबर
असोज ७, २०७८ बिहिबार १९:५७, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताए।

‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खाणले भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ। त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला।’

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्ने तर्फ पनि ध्यान दिन आग्रह गरे। 

उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीहरूलाई आग्रह गरे। 

‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ,’ मन्त्री खाणले भने, ‘बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्नु पर्छ।’

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाएर बिदा गर्न सकिने उनको भनाइ थियो। मन्त्री खाणले उद्योगी, व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन र यातायात व्यवसायीहरूको मागमा सरकार सकारात्मक रहेको बताए। उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीहरूलाई आग्रह गरे। 

उनले वर्षातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दसैं अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने बताए। जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको बताए। 

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .