ad ad

राजनीति


उपत्यकाको एकीकृत विकासका लागि प्राधिकरण र नगर प्रमुख, उप प्रमुखबीच छलफल

उपत्यकाको एकीकृत विकासका लागि प्राधिकरण र नगर प्रमुख, उप प्रमुखबीच छलफल

नेपालखबर
असोज ७, २०७८ बिहिबार १७:३१, काठमाडौँ

उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उप प्रमुखहरुसँग  छलफल गरेको छ। 

प्राधिकरणले हालसम्म गर्दै आएका काम र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल भएको प्राधिकरणले जनाएको छ। 

कार्यक्रममा प्राधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव विकास आयुक्त दिलिप शेखर श्रेष्ठले जानकारी दिएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत छलफल भएको थियो।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाडौं उपत्यका विकास प्राधिकरणको उदेश्य काठमाडौं उपत्यकालाई पर्यटकीय, सांस्कृतिक, पुरातात्विक सम्पदाको शहरको रुपमा चिनाउँदै सम्पदाको संरक्षण, संवर्द्धन गर्दै भौतिक पूर्वाधारयुक्त, वातावरण मैत्री शहर बनाउनु रहेको बताइन्।

उनले उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानिय निकायको जिम्मेवारी भएकोले आगामी दिनमा नगरपालिकाहरू र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताइन्।

उपत्यका विकास प्राधिकरण र स्थानीय नगरपालिका बीचको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने भन्दै प्राधिकरणले विगतका दिनहरुमा स्थानिय निकायसँग समन्वय नगरि कामहरु गरिरहेको हो की भन्ने महसुश आफूलाई भएको र अबका दिनमा आफ्नो टिमले काम गर्दा स्थानीय निकायलाई प्राथमिकतामा राखेर समन्वयमा मात्रै कामहरु अगाडि बढाउने  प्रतिबद्धता समेत जनाइन्। 

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले उपत्यका विकास प्राधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरु, सम्पूर्ण नदीहरुको कोरिडोर निर्माणका कामहरु एकीकृत रुपमा अबका दिनमा प्राधिकरणले गर्नुपर्ने धारणा राखे। त्यस्तै प्राधिकरणले योजना अनुमति दिने गरेको तर बिना अनुमति डाँडाकाँडामा अहिले डोजर चलाउने गरेको देखिएकोले अनुमतिबिना गरिने त्यस्ता कार्यलाई रोक्नको लागि पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताए।

त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्राधिकरण साना साना कामहरु भन्दा ठूला कामहरुमा फोकस हुनुपर्ने र उपत्यकाको नदी करिडोर सँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागू गर्नुपर्ने, खोलाको सूचिकरण गर्ने, नदी सभ्यतालाई कायम गर्दै दिगो रुपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिदै नगरपालिकाहरूलाई प्रविधिक सहयोग गर्ने, समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकार सम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नु पर्ने बताए। 

त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकाको मास्टर प्लान काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउनुपर्ने, प्राधिकरणले नगरपालिकासँग समन्वय गरेर विकासनिर्माणका कामहरु गर्नुपर्ने र अनाधिकृत रुपमा भएको जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्ने बताए। त्यस्तै उपत्यका भित्र वस्ती विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित वस्ती विकासमा पनि उपत्यका विकास प्राधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाडौंको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटो भन्दा छिटो काम शुरु गरिहाल्नुपर्ने बताए।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले कागेश्वरी मनोहरा क्षेत्रमा स्मार्ट सिटिको लागि भनेर जग्गा रोकेर राखेको भएपनि अहिले सम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको छ भन्दै स्मार्ट सिटिको कामलाई छिटो शुरु गर्नुपर्ने र जति ढिला हुँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताए। 

त्यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले उपत्यका विकास प्राधिकरणले साना साना काम नगरेर ठूलो बजेट पर्ने कामहरु गर्नुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गर्दा प्राधिकरणको काम प्रभावकारी हुने बताए। 

कार्यक्रममा कागेश्वरी मनोहराकी उप प्रमुख बिन्दु पुडासैनी लगायतले आ आफ्नो धारण राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .