ad ad

राजनीति


कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोकमा संस्थापन इतर समूहका नेता वडामै हारे

कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोकमा संस्थापन इतर समूहका नेता वडामै हारे

फाइल तस्बिर : क्षेत्रीय प्रतिनिधिमा पराजित नेविसंघका महामन्त्री बलदेव तिमल्सिना र महिला संघकी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गीता नेपाल ढुंगाना।


नेपालखबर
असोज ६, २०७८ बुधबार ११:२५, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट सिन्धुपाल्चोकको राजनीतिमा प्रभाव राख्ने नेताहरू वडा अधिवेशनमै हारेका छन्। 

सिन्धुपाल्चोकमा मंगलबार सम्पन्न वडा अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्वकर्ता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेताहरू क्षेत्रीय प्रतिनिधि चुनिन नसकेका हुन्। 

सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्रबहादुर थापा बाह्रबिसे नगरपालिका ३ को वडा अधिवेशन र सुनकोसी गाउँपालिकाकी उपाध्याक्ष लक्ष्मी पौडेल सुनकोसी गाउँपालिका–४ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका हुन्। 

पूर्वसभापति थापा र गाउँपालिका उपाध्यक्ष पौडेल वरिष्ठ नेता पौडेलनिकट मानिन्छन्। 

यस्तै कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल ढुंगाना र नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिना पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्। 

ढुंगाना बलेफी गाउँपालिका–५ र तिमल्सिना त्रिपुरासुन्दरी गाउँपालिका–३ मा सम्पन्न वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका हुन्। 

ढुंगाना र तिमल्सिना पूर्वमहामन्त्री सिटौलानिकट मानिन्छन्। कांग्रेसको संस्थापन समूहमा रहेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकमा संस्थापन इतर समूहका धेरैजसो उम्मेदवार वडामै रोकिएको बताइएको छ। 

बस्नेतको क्रियाशील सदस्यता रहेको बाह्रबिसे नगरपालिका–४ मा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको उनीनिकटले जानकारी दिएका छन्।

१४औं महाधिवेशनअन्तर्गत कांग्रेसले गत भदौ १८ देखि वडा अधिवेशन गरिरहेकाे हाे। क्रियाशील सदस्यता नटुंगिएका कारण कतिपय जिल्लामा वडा अधिवेशन गर्ने क्रम जारी रहेकाे हाे। 

क्रियाशील सदस्यले आफ्ना वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्।

महाधिवेशनअन्तर्गत कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने कार्यतालिका बनाएकाे छ। 

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाका अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र १४औं महाधिवेशन मंसिर ९–१३ गते काठमाडौंमा गर्ने तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .