ad ad

राजनीति


कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै

नेपालखबर
असोज ५, २०७८ मंगलबार २०:४७, काठमाडौँ

सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा. नारायण खड्कालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन सहमति जुटाएको छ।

मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो। 

सरकार बनेको अढाई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेर चर्को आलोचनामा परेका प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवको सहमतिमा खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन्। 

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए।

त्यसपछि साउन १० उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषदमा खड्कालाई थप्न लागेका हुन्। 

गठबन्धन सरकार संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि परराष्ट्र मन्त्री नियुक्त गर्नुपर्ने दबाबमा थियो। 

न्यूयोर्कमा सार्क राष्ट्रका विदेशमन्त्रीको भेला पनि हुँदैछ। त्यसका लागि परराष्ट्र मन्त्री आवश्यक पर्छ।

मंगलबार नै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभामा सहभागिता जनाउन प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको थियो।

खड्कालाई भोलि (बुधबार) नै मन्त्रीको सपथ खुवाउने तयारी छ। अर्को हप्ता नेपाली टोली महासभामा भाग लिन न्यूयोर्क जाने छ। 

गठबन्धनमा यसअघि नै परराष्ट्र मन्त्री नियुक्तिबारे छलफल भएको थियो। खड्कालाई देउवाले सुरुमै मन्त्री नियुक्त गर्न चाहेका थिए। 

तर गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवसहितले पनि परराष्ट्रमा दाबी गरेपछि कुरा मिलेको थिएन। अन्तत: देउवाले आफ्ना एकजना विश्वासपात्रलाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .