सरकारले विभिन्न देशमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाएको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
‘राजनीतिक नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ’ कार्कीले भने।
यस्तै, मन्त्रिपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने र कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने र संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर अन्तर्गत सलिसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३. ५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता कार्कीले बताए।
Shares
प्रतिक्रिया