ad ad

राजनीति


जेटस्ट्रिम युगबाट एटीआर युगमा यती एयरलाइन्स, यस्तो रह्यो उडानको २३ वर्ष

जेटस्ट्रिम युगबाट एटीआर युगमा यती एयरलाइन्स, यस्तो रह्यो उडानको २३ वर्ष

नेपालखबर
असोज ५, २०७८ मंगलबार ११:४५, काठमाडौँ

निजी क्षेत्रबाट सञ्चालित यती एयरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ। 

सन् १९९८ को सेप्टेम्बर २१ बाट कम्पनीको जहाजले पहिलो उडान सुरु गरेको थियो। यतीले सोही दिनलाई वार्षिक उत्सव मनाउने गरेको हो। 

नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एयरलाइन्सले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। 

स्थापनाको सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले जानकारी दिए। 

‘यती एअरलाइन्स र तारा एअरका साहसी पाइलट एवं आत्मविश्वासी चालकदल, दक्ष प्राविधिक, तालिमप्राप्त कर्मठ कर्मचारी, साझेदार संघ÷संस्थाहरुको लगन, मिहिनेत, इमानदारी तथा यात्रुहरुको विश्वासले यती एयरलाइन्सले गौरवमय २३ वर्षे इतिहास पूरा गर्न सफल भएको हो’, रिमालले भने।

२४ वर्षे यात्रासँगै यतीले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ। हालै यतीले आफूसँग रहेका ५ वटा विमान बिक्री गरेको छ। 

एयरलाइन्सका प्रवक्ता एवम् हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान गरेको कारण यती एयरलाइन्स स्वदेशी तथा विदेशी यात्रुको रोजाइमा पर्न सफल भएको  बताए।

बर्तौलाले बिरामी, अपाङ्गता वा फरक क्षमता भएका यात्रु, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखी सुरक्षित रुपमा गन्तव्यमा पु¥याउँदै आएको बताए।

यती एयरलाइन्सले २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै आजबाट कल सेन्टरको औपचारिक शुभारम्भ गरेको छ। 

कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडानसम्बन्धी जानकारी लिन सकिने र उडानसम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यती एयरलाइन्सले जनाएको छ। 

कार्बन न्युट्रल एयरलाइन्स
यती एयरलाइन्स नेपालको पहिलो र एकमात्र कार्बन न्युट्रल एयरलाइन्स हो। 

वातावरण संरक्षणमा यती एयरलाइन्स उत्तिकै संवेदनशील र सक्रिय रहेको प्रवक्ता बर्तौला बताउँछन्।

यतीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायहरुको सहकार्यमा सगरमाथा सफाइ अभियानमार्फत सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एयरलिफ्ट गरिसकेको छ । 
यस्तै, विभिन्न जिल्लामा दुई लाख ७२ हजार ६०० वटा विरुवा वृक्षरोपण गरिसकेको छ। 

वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथामिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ। 

हवाइ र पर्यटनमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि यतीको विशेष योगदान रहेको छ, विशेषगरी क्रिकेट, फुटबल र गल्फमा पनि यती एयरलाइन्सको प्रत्यक्ष योगदान रहेको कम्पनीले उल्लेख गरेको छ। 

‘अहिलेको अवस्थामा आफू स्वस्थ रही संक्रमणलाई नियन्त्रण राख्न सफल भयौँ भने मात्र हाम्रा उद्देश्य र मूल्य मान्यता जोगाउन सफल हुनेछौँ’, बर्तौला भन्छन्, ‘महामारीको बीच लाखौँ यात्रुहरुलाई सुरक्षित यात्रा गराउन सफल भएका छौँ।’

अबको योजना 
आगामी वर्षमा वायुयानको संख्या थप गर्ने, नयाँ गन्तव्यमा उडान थप गरी बजार हिस्सा बढाउने, थप रोजगारी सृजना गर्ने, चार्टर्ड उडानमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। 

नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याई हवाइ सेवालाई परिष्कृत गर्दै थप गुणस्तरीय बनाउने र यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने सहुलियत अफरहरु ल्याउने प्रवक्ता बर्तौलाले बताए। 

यतीले हाल पाँचवटा एटीआर विमानमार्फत नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्विन–अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .