ad ad

राजनीति


इन्डो–प्यासिफिक रणमैदानमा चीनलाई ‘एकीकृत अवरोध’ गर्न जन्मियो ‘अकस’

इन्डो–प्यासिफिक रणमैदानमा चीनलाई ‘एकीकृत अवरोध’ गर्न जन्मियो ‘अकस’

अमेरिका र बेलायतसँग त्रिपक्षीय रक्षा सम्झौताअनुसार अस्ट्रेलियाको नौसेनाले आणविक उर्जाचालित पन्डुब्बी जहाज पाउनेछ (गेट्टी इमेज)


क्याथरिन हिली
असोज ६, २०७८ बुधबार १०:३३, काठमाडौँ

अमेरिका र बेलायतसँग त्रिपक्षीय रक्षा सम्झौता गरेपछि अस्ट्रेलिया चर्चामा छ। सम्झौताअनुसार अस्ट्रेलियाको नौसेनाले आणविक उर्जाचालित पन्डुब्बी जहाज पाउनेछ।

तर, ‘अकस’ नाम दिइएको यो सम्झौताको उदेश्य ती पन्डुब्बी र अस्ट्रेलियासम्म मात्र सीमित छैन। सैन्य अधिकारी तथा विश्लेषकहरुका अनुसार सो क्षेत्रमा चीनलाई प्रमुख शक्ति बन्न नदिने अमेरिकी प्रयासका लागि यो सन्धि अत्यावश्यक चाँजो हो। 

‘अमेरिकाले आफ्ना सहयोगीहरुको क्षमता बढाउन सकेसम्म कोसिस गरिरहेको छ। र, आफ्नो पहुँच वृद्धि गर्न यस्ता नयाँ सम्बन्धलाई सम्भव भएसम्म प्रयोग गरिरहेको छ,’ एसियाली सुरक्षा मामिला विज्ञ तथा सिंगापुरमा रणनीतिक परामर्शदात्री संस्था सञ्चालन गरिरहेका अलेक्जेन्डर निल भन्छन्, ‘यसको अर्थ हो, मित्र तथा सहयोगी मुलुकहरुलाई आफ्नो रणमैदानमा एकीकृत रुपमा उभ्याउने र आफ्नो शक्ति वृद्धि गरेर चीनविरुद्ध अवरोध सिर्जना गर्ने। अकस त्यही नै हो।’

चीनको क्षेप्यास्त्र भण्डारण बढिरहेको छ। जापान, गुआमलगायत एसियामा रहेका अमेरिकी सैन्य अखडाहरुमा ती क्षेप्यास्त्रले सजिलै आक्रमण गर्न सक्छन्। चीनले एकपछि अर्को युद्धपोत पनि बनाइरहेको छ। त्यस्तै, उसका विद्युतीय युद्धकला, अन्तरिक्ष शक्ति र पन्डुब्बी जहाजले एसियाको समुद्र र आकासमा स्वतन्त्रतापूर्वक चलखेल गर्ने अमेरिकी क्षमतालाई कमजोर बनाएको छ। 

चीनको जनमुक्ति सेनाले आफ्नो शक्ति निरन्तर बढाइरहँदा अमेरिकी नीतिनिर्माता र सैन्य अधिकारीहरुले आफ्नो शक्ति क्षयीकरणलाई कसरी रोक्ने भनेर एक दशकभन्दा लामो समयदेखि छलफल गर्दै आएका छन्। 

सुरुवातमा अमेरिकाले नौसेनाको कार्यसञ्चालनमा परिवर्तन ल्यायो, प्रशान्त महासागरका टापुहरुमा हवाई मैदानहरु बनायो र वायु सेना तथा नौसेनाका सामग्री उत्तरी अस्ट्रेलिया हुँदै आलोपालो गरियो।

तर, यो प्रयासलाई अकसले धेरै परसम्म लैजान सक्छ। 

‘मलाई लाग्छ, यसले सो क्षेत्रमा अमेरिकी सैन्य शक्तिमा भएको कमजोरी पुरा गर्छ। हामी अहिले अस्ट्रेलियासँग निकै गम्भीर किसिमको गठबन्धन निर्माण गर्दैछौँ। अमेरिकाले क्वाडमा त्योभन्दा धेरै लगानी गरिरहेको अवस्थामा यो सब भइरहेको छ,’ हवाइस्थित प्यासिफिक फोरम नामक थिंक ट्यांकका अध्यक्ष डेविड सान्टोरो भन्छन्। 

चीनलाई रोक्न अमेरिकाले अघि बढाएको क्वाडमा भारत र जापानका अलावा अस्ट्रेलिया पनि सामेल छ। 

एसियाका दुई सैन्य अधिकारीहरुले अर्को साता हुने क्वाड शिखर बैठकले रक्षा सहकार्यप्रति अमेरिकाको प्रतिबद्धता थप बलियो बनाउने आशा व्यक्त गरे।

‘क्वाडका फरकफरक साझेदारले समुद्रको फरकफरक क्षेत्रमा गस्तीको नेतृत्व गर्ने दिशातिर हामी जाँदैछौँ। त्यसले हामीसँग भएको सीमित स्रोतसाधनको उपयोगलाई वृद्धि गर्नेछ,’ एक अधिकारीले भने।

अमेरिकाको सैन्य विमान अस्ट्रेलियामा आलोपालो तैनाथ गरिँदै आएको छ। त्यसलाई विस्तार गर्ने दुवै मुलुकले बताएका छन्। अस्ट्रेलियामा रहेका अमेरिकी नौसैनिक जहाजको मर्मतसम्भारमा पनि सहकार्य गर्ने बताइएको छ। दुवै मुलुकले यो क्षेत्रमा अन्य साझेदारसँग मिलेर थप सैन्य अभ्यास गर्ने पनि बताएका छन्।

विश्वभर अमेरिकी सेनाको उपस्थिति, स्रोत र रणनीतिमा तत्काल केकस्तो परिवर्तन आवश्यक छ भनेर गत फेब्रुअरीमा बाइडेन प्रशासनले समीक्षा सुरु गरेको थियो। त्यसको पहिलो नतिजा अकस भएको विज्ञहरुको विश्वास छ।

‘त्यो समीक्षाको प्रभाव देखिन सुरु भएको हुनसक्छ,’ सिंगापुरस्थित इन्स्टिच्युट फर इन्टरनेसनल स्ट्राटेजिक स्टडिजका वरिष्ठ अध्येता युआन ग्राहम भन्छन्। 

अमेरिकाको यो नयाँ रणनीतिको केन्द्रमा छ ‘एकीकृत अवरोध’को अवधारणा। यो अवधारणाअनुसार अमेरिकाले आफ्नो सैन्य शक्तिलाई सहयोगी तथा साझेदार मुलुकको सैन्य शक्तिसँग मिसाउँछ र ती मुलुकमाथि अझ बढी निर्भर हुन्छ। यसले अमेरिकालाई चिनियाँ भूमिनजिक चलखेल गर्न त सजिलो हुन्छ नै, केही हदसम्म अमेरिकी स्रोत साधनलाई चिनियाँ आक्रमणबाट समेत बचाउँछ।

‘अस्ट्रेलिया अमेरिकाको राजनीतिक सहयोगी मात्र होइन। यो मुलुक एकदमै उपयुक्त स्थानमा अवस्थित छ। चीनको सबैभन्दा टाढा मार हान्नसक्ने क्षेप्यास्त्रबाहेक अन्य क्षेप्यास्त्रको पहुँचभन्दा बाहिर छ अस्ट्रेलिया,’ ग्राहम भन्छन्।

‘प्रविधि धेरै परिवर्तन हुन्छ। तर, भूगोल परिवर्तन हुँदैन। अमेरिकाले सम्भवतः लामो दुरीमा प्रहार गर्न मिल्ने हतियार अस्ट्रेलियामा राख्न सक्छ र यो मुलुकलाई १९४० को दशकमा जस्तै प्रयोग गर्न सक्छ,’ उनले थपे।

दोस्रो विश्वयुद्धमा अमेरिका र अस्ट्रेलिया मिलेर जापानविरुद्ध लडेका थिए। 

अस्ट्रेलियामा पानीजहाज ध्वस्त पार्ने क्षेप्यास्त्र प्रहार गर्ने अमेरिकी वायु सेनाको विमान पनि तैनाथ छ। त्यसले चिनियाँ नौसेनाको जहाजमाथि खतरा उत्पन्न गर्न सक्छ। 

अमेरिकी सेनाले पर्थस्थित एचएमएएस स्टर्लिङ नौसैनिक अखडामा पनि पहुँच माग गर्ने विश्लेषकहरु बताउँछन्। हिन्द महासागरमा पर्ने अस्ट्रेलियाको कोको आइल्यान्ड पनि दक्षिण चीन सागर नियाल्ने उपयुक्त ठाउँ हो।

रक्षा मामिला विज्ञहरुले ओसेनियामा शक्ति विस्तार गर्ने अमेरिकी प्रयासको एउटा हिस्साका रुपमा अकसलाई लिएका छन्। सो क्षेत्रमा अस्ट्रेलिया सबैभन्दा ठूलो शक्ति रहँदै आएको छ। 

यो क्षेत्रको गुआममा अमेरिकाले पन्डुब्बीहरुको बेडा नै राखेको छ। तर, चिनियाँ नौसैनिक जहाजहरु गुआमनजिक पुग्न थालेका छन्। 

अकसमार्फत अमेरिका र अस्ट्रेलियाको शक्तिबीच भएको यो बलियो एकीकरणले बेइजिङको रणनीतिक हिसाबकिताबलाई निकै जटिल तुल्याउने निश्चित छ।

‘द्वन्द्व भयो र अस्ट्रेलियाले सैन्य सूचना तथा निगरानी स्याटेलाइटहरुको सूचना अमेरिका र बेलायतसँग आदानप्रदान गर्यो भने चीनले कहाँ हान्ने भन्ने निर्णय गर्न कति दुविधा होला, कल्पना गर्नुस्,’ पेन्टागनमा पूर्वकर्मचारी तथा नेसनल युनिभर्सिटी अफ सिंगापुरका भिजिटिङ फेलो ड्रु थमसन भन्छन्।

थमसन यसको तुलना ताइवानमाथि आक्रमणको अवस्थामा चीनले सामना गर्ने दुविधासँग गर्छन्। चीनले अमेरिकालाई ताइवानको रक्षामा उत्रिन नदिन जापानको कादेनास्थित अमेरिकी हवाई अखडामा हान्नुपर्ने हुन्छ। तर त्यसो गर्दा जापान युद्धमा सहभागी हुने सम्भावना बढ्छ।

‘अकस त्यो विशाल र बलियो पहलको हिस्सा हो, जसले चीनको दुविधा निकै बढाउँछ,’ उनले भने।

(फाइनान्सियल टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .