ad ad

राजनीति


प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १७:५०, सुनसरी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन्। एमाले विभाजनपछि अल्पमतमा परेका उनले विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

आचार्यले बुधबार तीन मन्त्री र दुई राज्यमन्त्री थपेका हुन्। जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा  संखुवासभाका तुलसी प्रसाद न्यौपाने, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा झापाका हिरा थापा नियुक्त भएका छन्।

त्यस्तै तीन राज्य मन्त्रीहरु पनि नियुक्त भएका छन्। उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा सोलुखुम्बुका उत्तम बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा  मोरङका ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा मोरङका लीलाबल्लभ अधिकारी नियुक्त भएका छन्। 

यसअघि आचार्यको क्याबिनेटमा बलबहादुर सामसोहाङले सामाजिक विकास मन्त्रालय र लछुमन तिवारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालि सकेका थिए।

एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। 

नेकपा एमालेको विभाजनपछि भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीले वैधानिकता पाइसकेको अवस्थामा मुख्यमन्त्रीले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने अडान लिएको छ। 

तर असोज अन्तिम साता विश्वासको मत लिने गरी आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

आचार्यले राज्यमन्त्री बन्न गरेको प्रस्ताव एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद विमल कार्की र शेरधन राई नेतृत्वको सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझाले अस्वीकार गरेको बताइएको छ। 

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई बुधबारै साँझ पद तथा गोपनीयताको सपथ खुवाइएको छ। मन्त्रिपरिषदको बुधबारै बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। 

बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनेछन्। प्रदेशसभामा अहिले एमालेका सभामुखसहित ४१ सदस्य छन्। प्रदेशसभामा बहुमत देखाउन आचार्यलाई ४७ सांसद चाहिन्छ। तर विपक्षी गठबन्धनमा ५० सांसदसहित बहुमत छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .