ad ad

राजनीति


माधव नेपालहरुलाई अर्को महाधिवेशनसम्म एमालेमा फर्काउँछौँ : घनश्याम भुसाल

एमाले पछारिएको हो, धुलो टकटक्याउँदै उठ्छ, अगाडि बढ्छ
माधव नेपालहरुलाई अर्को महाधिवेशनसम्म एमालेमा फर्काउँछौँ : घनश्याम भुसाल

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १५:३५, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एक पटक पछारिइसकेकाले अब पार्टीले संयम भएर अघि बढ्नुपर्ने बताएका छन्। 

रुपन्देहीको बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'हरेक पटक जिम्मेवार पार्टीले संयम हुनुपर्छ। हामी धेरै ठूलो चोटीबाट पछारिएका हौँ, त्यसैले हामीले मात्तिनु हुँदैन', उनले भने, 'हामी राष्ट्र र विकासको कुरा गर्छौँ सबै कुरा हटाइदिने हो भने राष्ट्र अमूर्त हुन्छ। हामीले देश विकासका लागि भोट लिएको हो। हामीले बाटो बिराउनु हुँदैन। हामीले विचार पुर्‍याएर अघि बढ्नुपर्छ।'

उनले आफूहरुले समृद्ध मुलुक चाहेको पनि बताए। 'हामी समृद्ध हुन चाहन्छौँ। एमाले पथभ्रष्ट भयो भने यो मुलुकको भविष्य के हुन्छ?', उनले सोधे, 'अब हामीले एकतावद्ध भएर अघि बढ्ने हो भने २०७४ सालको बर्चश्व फर्काउन सक्छौँ।'

भुसालले एमाले नेपाली समाजको तलसम्म पुगिसकेकाले त्यसको विकल्प अर्को पार्टी हुन नसक्ने पनि बताए। 

'एमालेले सामाजिक र सांस्कृतिक रुपले नेपाली समाजमा जरा गाडिसकेको छ। त्यो पार्टीको अभाव अर्को कसैले पूरा गर्न सक्दैन', भुसालले भने, 'एमालेको निर्माणमा हामीले ठूलो मिहिनेत गरेका छौँ। यही कुरा हामीले माधवकुमार नेपाललाई बताउन सकेनौँ। उहाँ आफैंले बुझे जस्तो गर्नु भएन किन बुझ्नु भएन।'

भुसालले यसअघि नेकपामा देखिएको विवादतिर इंगित गर्दै यसबीचमा भएका गल्तीको पनि समीक्षा हुनुपर्नेमा जोड दिएका छन्। 

'यो बीचमा कस-कसले गल्ती गरे? गरेनन् हामीले समीक्षा गरौँ', उनले भने, 'हामी यो बीचमा भाँडिएका हौँ। अब फेरि हामी भाँडिनु भएन। हामी घाइते भएका छौँ, ठन्डा दिमागले सोचेर पार्टीलाई एकै ठाउँमा ल्याऊँ।'

उनले अब आफूहरुले एमालेलाई बलियो बनाउन कसम खाएको पनि बताए। 'हामीले कसम खाएका हौँ। कसले गल्ती गर्यो गरेन, सबै छुट्टिन्छ', उनले भने, 'पार्टीमै बसेर माधव नेपालहरुले सामना गर्नु भएन, उहाँहरु हिँड्नु भयो।'

उनले माधव नेपालहरुलाई आगामी महाधिवेशनसम्ममा कुरा बुझाइसक्ने पनि बताए। उनले एमालेमै बसेर देशमा परिवर्तन र समृद्धि ल्याउन सक्ने कुरा आगामी महाधिवेशनसम्म बुझाएर उनीहरुलाई पार्टीमा फर्काउने पनि दाबी गरेका छन्। 

'माधव नेपालहरुले अहिले कुरा बुझ्नु भएन। यदि तत्काल बुझ्नु भएन भने हामी विधान महाधिवेशन र अर्को महाधिवेशनसम्म उहाँहरुलाई बुझ्न बाध्य बनाउनेछौँ', उनले भने, 'एमाले नै जनताको पार्टी हो भन्ने हामी उहाँहरुलाई बुझाउनेछौँ। हामीले धेरै परसम्म सोचौँ। एमाले पछारिएको हो, घाउ लागेको छ, घाइते भएको छ। तर अब उठ्छ, धुलो टकटक्याउँछ अगाडि बढ्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .