ad ad

राजनीति


'ओली जस्तो अरुको अपमान गर्ने नेता र एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष देखेको थिइनँ'

'ओली जस्तो अरुको अपमान गर्ने नेता र एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष देखेको थिइनँ'

नेपालखबर
भदौ २८, २०७८ सोमबार २२:२४, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेर हिँडेको एमाले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार डाकेको सर्वदलीय बैठकमा बोल्दै उनले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष र ओली जस्तो अराजनीतिक नेता कहिले नदेखेको बताए। 

'एमाले जस्तो गैरजिम्मेवार प्रमुख प्रतिपक्ष र ओली जस्तो अरुको अपमान गर्ने नेता मैले आजसम्म देखेको थिइनँ। संसदमा पछिल्लो समय लागिरहेका नाराले पनि यो कुरा पुष्टि गर्छ', उनले भने, 'प्रमुख प्रतिपक्षीले संसदमा प्रयोग गरिरहेका शब्दहरूले सभ्यताका सबै सीमा नाघेका छन्। प्रमुख प्रतिपक्षी नेता (केपी ओली) अरुको अपमान र मानमर्दन गर्न लाग्नु भएको छ। ओलीसँग न त लोकतान्त्रिक चरित्र छ न त संस्कार नै छ।'

संस्कार र राजनीतिक चरित्रबिनाको प्रतिपक्षी नेता र एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु आफूहरुका लागि दु:खको कुरा भएको पनि उनले बताएका छन्। 

ओली र एमाले संसदमा जिम्मेवार नबनेको गुनासो गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटामाथि पनि गैरराजनीतिक व्यवहार गरिएको आरोप लगाए।

उनले प्रतिनिधिसभाप्रति पूर्वाग्रह नराख्न र लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न एमालेलाई अनुरोध गरेका छन्। अध्यक्ष नेपालले संविधानको धारा ७६ (५) अन्तर्गत अदालतको फैसलाअनुसार पनि दल त्याग आकर्षित नहुने जिकिर गरे। 

विधि पुर्‍याएर आफ्नो पार्टी दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर नेपालले गरेका छन्। 

मानवीय आवेग विस्तारै कम हुँदै जाने भन्दै असहमतिबीच सहमति खोजेर अघि बढ्न र संवाद जारी राख्न उनले सुझाव दिएका छन्। 

अध्यक्ष नेपालले सर्वोच्च अदालतबाटै आफूहरुको हकमा दलको ह्वीप नलाग्ने आदेश भइसकेको अवस्थमा संसदमा अवरोध गर्नु गलत रहेको उनले बताए। 

उनले संसद खुलाउन सभामुखले प्रतिपक्षीसँग कुरा गर्नुपर्नेमा पनि जोड दिए। एमालेले गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन गरेको भन्दै कारबाही गरेपछि संसद सचिवालयमा पत्र पठाएको थियो।

तर आफूले गरेको कारबाहीको सूचना सभामुखले नटाँसेपछि एमाले आक्रोशित छ। सरिता गिरि र माओवादीका चार सांसदको हकमा तात्तातै कारबाहीको सूचना टाँसेका सभामुखले आफूलाई राजनीतिक आधारमा विभेद गरेको आरोप एमालेले लगाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .