ad ad

राजनीति


ओलीसँग एकताले ज्ञान पाएँ, अब मबाट सिक्ने कि मलाई नै सिद्धयाउने?

बुढेसकालमा माओ जस्तै एक्लिने चिन्ता
ओलीसँग एकताले ज्ञान पाएँ, अब मबाट सिक्ने कि मलाई नै सिद्धयाउने?

नेपालखबर
भदौ २७, २०७८ आइतबार १७:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग देशलाई समाजवादतिर लैजानका लागि एकता गरिएको बताएका छन्। 

तर आफ्नो उद्धेश्यविपरीत ओली दक्षिणपन्थी धारतिर अघि बढेपछि एकता बीचमै भंग हुन पुगेको पनि उनले बताएका छन्। 

 माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' पुस्तक विमोचन कार्यक्रममा आइतवार बोल्दै दाहालले क्रान्तिबारे अझै पनि आफूहरुले बुझिनसकेको पनि बताए। 

'हामीले क्रान्ति के हो बुझेका छैनौँ। अहिले भनिएको छ, कम्युनिष्ट पार्टीको औचित्य सिद्धियो। तर त्यसो भन्दा हामीले सकी नसकी खण्डन गरेका छौँ', उनले भने, 'मार्क्सवाद र कम्युनिष्ट पार्टीलाई विकसित र परिमार्जित गर्नुपर्छ। तर कम्युनिष्ट पार्टीको काम छैन भन्ने कुरा असत्य हो।'

अध्यक्ष दाहालले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरुले उपदेश दिने गरेको पनि बताए। 'अरु सबै खराब म चाहिँ ठिक भनेर उपदेश दिने धेरै भए। मार्क्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो', उनले भने, 'नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरु अझै पनि यहाँ रहेछन्।'

उनले त्यत्रो वर्ष जनयुद्ध गरेको आएको आफ्नै नाम लिन पनि नसक्नेहरु अझै यो समाजमा रहेको भन्दै गुनासो गरे। 'अहिले पनि माओवादीको नाम लिन मान्दा रहनेछन्। प्रचण्डको त नाम आउँछ जस्तो गर्दा रहेछन्', उनले भने, 'नेपालको कम्युनिष्ट इतिहासमा भएका कुराहरुलाई समेट्ने क्रममा यो पुस्तकका लेखक परशुराम तामाङले सबैको नाम उल्लेख गर्नु भएको छ। तर अझै पनि केही मानिसहरु हाम्रो नाम लिन नसक्दा रहेछन्।'

उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले जोखिम मोलेको बताए। 'समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो', उनले भने, 'गठबन्धन बैठकमा मलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन्। ज्ञान प्राप्त गरेर आएँ भनेको छु। यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन। ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो। प्रचण्डको यही ज्ञानले गर्दा वाम-लोकतान्त्रिक गठबन्धन बनेको हो।'

उनले अब आफ्नो अनुभवबाट सिक्नेतिर लाग्न पनि आग्रह गरे। 'मेरो अनुभवबाट केही सिक्ने कि प्रचण्डलाई सिद्धयाइदिऊँ भन्नु हुन्छ?', उनले सोधे, 'हामी अब उमेरले पनि उत्तरार्द्धमा पुग्यौँ। अन्तिमसम्म पदमा, नेतृत्वमा बसिरहन मन छैन। माथि जाँदा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर जान मन छ।'

प्रचण्डले उमेर बढ्दै जाँदा चीनका माओत्सेतुङ जस्तै आफू पनि एक्लै पर्ने डरले पिरोल्ने गरेको पनि सुनाए। उनले बोलेको बुझ्न पनि मेसिन लाउनै पर्ने अवस्थासम्म माओ बाँचेको बताउँदै आफू पनि एक्लिने डर लाग्ने गरेको बताए। 

'उमेर बढ्दै जाँदा म पनि माओ जस्तै एक्लै पो हुन्छु कि भन्ने डर लाग्न थालेको छ', उनले भने, 'अब हामीले एक चरण विभाजित भएर हेरियो। लछारपाटो केही लागेन, अब मिलेर हेरौँ यो पनि वैज्ञानिक हुन्छ कि?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .