ad ad

राजनीति


ओलीको निर्देशन : लेखराज भट्ट नै सुदूरपश्चिम इन्चार्ज, भीम रावलले उपाध्यक्षको काम गर्नू

रावलको टिप्पणी : मलाई अन्याय भयो
ओलीको निर्देशन : लेखराज भट्ट नै सुदूरपश्चिम इन्चार्ज, भीम रावलले उपाध्यक्षको काम गर्नू

नेपालखबर
भदौ २७, २०७८ आइतबार १४:५७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  सुदूरपश्चिम प्रदेश पार्टी  इन्चार्जमा लेखराज भट्ट नै यथावत रहने बताएका छन्। 

पार्टीका सुदूरपश्चिम प्रदेशस्थित नेताहरुलाई बालकोटमा बोलाएर छलफल गरेपछि अध्यक्ष ओलीले अहिलेलाई माओवादीबाट आएका भट्ट नै त्यहाँको इन्चार्ज कायम रहने बताएका हुन्। 

ओलीले नेताहरूसँगको छलफलपछि पार्टी २ जेठ २०७५ मा फर्किए अुनसार इन्चार्जमा दाबी गर्दै आएका उपाध्यक्ष रावललाई सुदूरपश्चिम प्रदेशमा समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिएका छन्।

आइतबार बिहान नेता रावल, भट्ट र एमाले प्रदेश अध्यक्ष कर्णबहादुर थापासहितका शीर्ष नेताहरुसँग बालकोट पुगेका थिए। उक्त भेटका क्रममा अध्यक्ष ओलीले यसअघि तोकिएको जिम्मेवारी हेरफेर नहुने बताएका हुन्। 

नेकपा एमालेलाई जेठ २ मा फर्काउने गरी असार २७ मा गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका रावल नै हुन्छन्। तर ओलीले भट्ट नै इन्चार्जको जिम्मेवारीमा यथावत रहने बताएका हुन्। 

'असार २७ मा भएको १० बुँदे सहमति पार्टी विभाजनलाई रोक्न गरिएको थियो। त्यो आन्तरिक सहमति मात्रै थियो', एमाले सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले नेपालखबरसँग भने, 'हाम्रो पार्टीमा तीनवटा समयावधिका जिम्मेवारी छन्। पहिलो, जेठ २ अघिको नेकपा एमालेको, दोस्रो, जेठ २ पछि पुस ५ सम्म नेकपा अवधि र तेस्रो, फागुन २३ को सर्वोच्चको निर्णयपछिको जिम्मेवारी। यी सबै परिस्थिति हेरेर तत्काललाई अध्यक्षले भट्टलाई नै इन्चार्जमा कायम राख्नु भएको हुन सक्छ।'

भट्टले गत फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि माओवादी छाडेर एमाले रोजेका थिए। माधव नेपाल समूहसँग विवाद चलिरहेका बेला ओलीले भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्ज तोकेका थिए। त्यसबेला रावल माधव नेपाल समूहमा थिए। 

माधव नेपालसहितका नेताहरु असार २७ को १० बुँदे अस्वीकार गर्दै एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन लाग्दा रावल एमालेमै फर्किएका थिए। रावल १० बुँदे कार्यदलका संयोजक समेत थिए। पार्टी जेठ २ मा फर्किने सहमतिपछि रावल स्वत: आफैँ सुदूरपश्चिम संयोजक हुनुपर्ने अडानमा छन्। 

तर एमाले सुदूरपश्चिम अध्यक्ष थापा भने रावलले प्रदेशतिर सिंगौरी खेल्न छोडेर राष्ट्रिय नेता हुनुपर्ने बताए। 'भीम रावल उपाध्यक्ष हुनुहुन्छ, उहाँ राष्ट्रिय नेताका रुपमा विकास हुनुपर्छ। प्रदेशमा सिंगौरी खेल्दा पदीय मर्यादा अझै कमजोर हुन्छ', थापाले भने, 'उहाँ त पार्टी अध्यक्षको लाइनमा उहाँ जानुपर्छ भन्ने हो। केही मानिसले भनेर हो कि उहाँ अलमलिनु भएको छ। उहाँले आफ्नो पदीय मर्यादामा आँच आउने गरी प्रदेशतिर अलमलिनु हुँदैन।'

एमालेले १० बुँदे कार्यान्वयनलाई सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र थापालाई जिम्मेवारी दिएको थियो। अध्यक्ष थापाले प्रदेश कमिटीको अध्यक्ष आफू र इन्चार्ज लेखराज भट्ट भएको बताए। अध्यक्ष ओलीले पनि सोही अनुसार निर्देशन दिएको उनले जानकारी दिए।

‘बालकोटमा अध्यक्ष कमरेडले नेता रावलजीलाई तपाईँ उपाध्यक्षको भूमिका निर्वाह गर्नुस्। लेखराजजीको जिम्मेवारी परिवर्तन हुन्न भन्नु भएको छ', थापाले भने, 'बाहिर चर्चा भए जस्तो भीम रावलजीको असन्तुष्टि छैन। उहाँले पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु भन्नुभएको छ।'

सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएको थियो। त्यहीकारण ओलीले आइतबार बिहान उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष थापालाई बालकोट बोलाएर यस्तो निर्देशन दिएका हुन्। 

ओलीको निर्देशनलाई लिएर रावलले असन्तुष्टि जनाएका छन्। उनीनिकट एक नेताका अनुसार रावलले आफूमाथि अन्याय भएको भन्दै ओलीको उक्त निर्देशन १० बुँदे सहमति अनुसार नआएको पनि बताएका छन्। 

एमाले एक हुँदा ओलीविरुद्ध माधवसँग मिलेर शक्ति संघर्ष गरेका रावल अहिले एमालेमै फर्किएका छन्। सुदूरपश्चिम भूगोलमा उनले जिल्लादेखि प्रदेश सभासम्म आफ्नाहरुको साथ गुमाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .