ad ad

राजनीति


एमसीसीको राजनीतिक तरंगबीच भाजपा नेता राम माधव काठमाडौंमा

एमसीसीको राजनीतिक तरंगबीच भाजपा नेता राम माधव काठमाडौंमा

नेपालखबर
भदौ २४, २०७८ बिहिबार २२:५, काठमाडौँ

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौं ओर्लिए लगत्तै भारतीय जनता पार्टीका नेता राम माधव पनि सुटुक्क आइपुगेका छन्। 

भाजपा विदेश मामिला विभाग प्रमुख विजय चौथाइवाले आएको एक महिना नबित्दै अर्को उच्चस्तरीय भ्रमण भएको हो। चौथाइवाले ६ भदौमा काठमाडौं आएर चार दिनसम्म राजनीतिक भेटघाटपछि फर्किएका थिए।  

एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा बाँडिएका बेला सत्तारुढ कांग्रेसकै निमन्त्रणमा पूर्व महासचिव माधव काठमाडौं उत्रिएको स्रोतले जनाएको छ।

भदौ २४ गते बिहीबार नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानबाट भाजपाका नेता राम माधवसहित दुई जना १५:५५ बजे काठमाडौं उत्रिएका हुन्। 

काठमाडौंको गोकर्ण रिसोर्टमा बसिरहेका उनको भेटघाट तालिका खुल्न सकेको छैन। 

पछिल्लो समय दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेका बेला भाजपासम्बद्ध राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्य पनि रहेका माधवको भ्रमणलाई अर्थपूर्ण भनिएको छ।

भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएयता भारतप्रति नेपाली जनसाधरणसम्म आक्रोश बढेको छ। 

त्यस्तै दार्चुला सदरमुकामस्थित नेपाली आकाशमा भारतीय हेलिकोप्टर बिनाअनुमति उडाएको प्रकरणले पनि चिसोपना बढाएको छ।

यी दुवै घटनालाई लिएर गत शुक्रबार सरकारले भारतलाई कूटनीतिक नोट लेखिसकेको छ। नेपालले पठाएको कूटनीतिक नोटबारे हालसम्म भारतले कुनै जवाफ दिएको छैन।

यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक माधवको भ्रमण तनावपूर्ण स्थितिलाई साम्य पार्न भएको अनुमान पनि कतिपयले गरेका छन्।

अमेरिकाले करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुने एमसीसीबारे निर्णायक छलफल नेपालमा थालिसकेको छ। एमसीसी उपाध्यक्ष फातिमा सुमारले बिहीबारै एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट फुटेर गएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरिसकेकी छन्। 

राम माधवले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तयारी छ। तर उनले भेटघाट तालिकाबारे केही बताइएको छैन। एक महिना नबित्दै भाजपा नेताको यो दोस्रो उच्चस्तरीय भ्रमण नेपालको राजनीतिमा केही न केही प्रभाव छाडेर जानु आँकलन गर्न थालिएको छ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला विश्व महाशक्ति अमेरिकी टोली र भाजपा नेता एकै दिन काठमाडौं उत्रिएका छन्। 

एमसीसीबारे कांग्रेस जस्ताको तस्तै पास गर्ने पक्षमा उभिएको छ। तर माओवादी र एकीकृत समाजवादी भने कुनै हालतमा संशोधन गरी पास गर्ने पक्षमा छैनन्। 

राम माधवले यसभन्दा पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालमा २०७५ सालमा नेपालको भ्रमण गरेका थिए। त्यसबेला उनले नेपाललाई लिएर विवादित टिप्पणी गरेका थिए। 

उनले नेपालले दक्षिण नीति नै अपनाउनुपर्ने टिप्पणी त्यसबेला गरेका थिए। 'नेपालले सामुद्रिक मार्गमा सहज पहुँच र फाइदाका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाओस्', उनले भनेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .