ad ad

राजनीति


सरकार बनाउने बेला संकटमा तालिबान : पन्जसिरमा लफडा, काबुलमा झगडा

सरकार बनाउने बेला संकटमा तालिबान : पन्जसिरमा लफडा, काबुलमा झगडा

तालिबानका सह-संस्थापक मुल्ला बरादर


नेपालखबर
भदौ २०, २०७८ आइतबार १३:४९, काठमाडौँ

बीस वर्षदेखिको सशस्त्र संघर्षकै बलमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको ३ साता पुगिसकेको छ।

एकपछि अर्काे प्रान्त गर्दै गत अगस्ट १५ तारिखका दिन तालिबानका लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गनी देशै छाडेर भागिसकेका छन्। अहिले उनी सपरिवार यूएईमा शरण लिएर बसेका छन् भने उपराष्ट्रपति अब्दुल्लाह सालेह अफगानिस्तानकै पन्जसिर प्रान्तको कुनै स्थानमा बसिरहेका छन्। 

पन्जसिर मात्रै अफगानिस्तानको एउटा त्यस्तो प्रान्त हो, जुन अहिलेसम्म तालिबानले आफ्नो नियन्त्रणमा लिन सकेको छैन। यसअघि (२० वर्षअघि) को शासनमा पनि तालिबानले त्यो प्रान्तमा आफ्नो नियन्त्रण कायम गर्न सकेको थिएन भने कुनै बेला सोभियत संघले समेत हार खाएको थियो।

यो पनि :​ सोभियत संघसमेत हारेको अफगानिस्तानको पन्जसिर प्रान्तः यस्तो छ भौगोलिक अवस्था र कथा

अहिले पनि पन्जसिरमा तालिबान र विरोधी लडाकुबीच भीषण लडाइँ जारी रहेको विभिन्न न्युज एजेन्सीहरूले जनाएका छन्। 

सकसमा तालिबान
२० वर्षपछि दोस्रोपटक तालिबानले अफगानिस्तान कब्जा गर्न सफल तालिबान, अमेरिकाले समयसीमा (डेडलाइन) गत अगस्ट ३१ को अघिल्लै दिन आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता लगेपछि आफ्नो नेतृत्वको सरकार घोषणा गर्ने अन्तिम तयारीमा छ।

यसबीच आजै, भोलि नै तालिबानकाे सरकार घोषणा होला भन्ने अनुमान पनि गरिए। तर यसो भनिएको तीन/चार दिन बितिसक्दा पनि तालिबानले अझै सरकार गठन गर्न सकेको छैन। अब उसले झन्डै एक हप्ताका लागि सरकार घोषणाको कार्यक्रम स्थगन गरेको विभिन्न न्युज एजेन्सीहरूले उल्लेख गरेका छन्। 

कारण दुइटा छ–

१. पन्जसिरमा विराेधी सेनासँग युद्ध जारी

२. काबुलमा सरकार गठनबारे हक्कानी नेटवर्कसँग झगडा

पन्जसिरमा लफडा
समाचार एजेन्सीहरूका अनुसार पन्जसिर उपत्यकामा तालिबान र उसका विरोधी लडाकुबीच अहिले पनि भीषण युद्ध भइरहेको छ।

त्यहाँ तालिबानविरुद्ध अहमद मसुद नेतृत्वको सेना सक्रिय छन्। जसलाई अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अब्दुल्लाह सालेहले पनि साथ दिइरहेका छन्। उनले पनि आफ्नो एक मुठी सास छउन्जेल तालिबानविरुद्धको लडाइँ नछाड्ने भनेर सामाजिक सञ्जालमार्फत भनिरहेका छन्। 

यसबीच पन्जसिरमा दुवै पक्षले आआफूले जितिरहेको दाबी गरिरहेका छन्। तर यसको स्वतन्त्र पुष्टि कतैबाट हुन सकिरहेको छैन।​

तालिबानका प्रवक्ता बिलाल करिमीले पन्जसिर प्रान्तका ७ जिल्लामध्ये ४ जिल्ला आफूहरूले नियन्त्रणमा लिइसकेको दाबी गरेका छन्। उनले ट्विटरमार्फत यो जानकारी दिँदै भनेका छन्, ‘मुजाहिदिन (तालिबान लडाकु) केन्द्र (प्रान्तको) तर्फ अगाडि बढिरहेका छन्।’

उता तालिबानविराेधी राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का स्थानीय नेता अहमद मसुद पक्षका सेनाले शनिबार तालिबानका ६ सय लडाकु मारिएको दाबी गरेका छन्। साथै आत्मसमर्पण र पक्राउ गरेर हजार जना तालिबान लडाकु आफ्नो नियन्त्रणमा रहेको दाबी पनि उनीहरूले गरेका छन्।​

एनआरएफका प्रवक्ता फहिम दश्तीले तालिबानसँग युद्ध जारी रहेको बताएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘पन्जसिर दृढताका साथ उभिइरहेनछ।’

काबुल र हेरातमा महिलाले गरेको विरोध प्रदर्शनको उदाहरण दिँदै उनले यसले अफगान नागरिकले आफ्नो न्यायको लडाइँ नछाडेको र डरलाई जितेर अघि बढिरहेको स्टाटसमा लेखेका छन्। 

पन्जसिरको लडाइँकै कारण पनि तालिबानले सरकार घोषणा गर्न नसकिरहेको कतिपय सञ्चारमाध्यमले जनाएका छन्। 

काबुलमा झगडा
उता आफ्नो सरकार घोषणका लागि अन्तिम तयारी भइरहेको राजधानी काबुलमा भने सत्ता नेतृत्वका विषयमा सहयोगी समूह हक्कानी नेटवर्कसँग झगडा परेको र गोलाबारीसम्मको स्थितिमा पुगेको खबर सार्वजनिक भएका छन्।  

अफगानिस्तानको पत्रिका पन्जसिर अब्जर्भरका अनुसार हक्कानी नेटवर्कले हानेको गाली लागेर तालिबानका सह-संस्थापक मुल्ला बरादर घाइते भएका छन्। अहिले उनको उपचार जारी छ। 

पाकिस्तानका गुप्तरचर एजेन्सी आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिद काबुल पुगेका बेला झगडा भएको कुरा सार्वजनिक भएको हो। 

यो पनि :  भारतीयको हत्यारा हक्कानी नेटवर्क र तालिबानको सम्बन्ध कस्तो? यस्तो छ नालीबेली

पाकिस्तानी गुप्तचर प्रमुख हमिद टोलीसहित शनिबार काबुल पुगेका हुन्। उनी त्यहाँ पुग्नुको उद्देश्य मुल्ला अब्दुल गनी बरादरलाई तालिबानी सरकारको प्रमुख हुनबाट रोक्नु् र आतंकवादी संगठन हक्कानी नेटवर्कका नेतालाई बनाउनु रहेको दाबी अफगानिस्तानका पूर्वसांसद मरियम सोलाइमनखिलले गरेका छन्। 

यहीबीच सत्ताको नेतृत्व लिने विषयमा उसैको एक सहयोगी समूह हक्कानी नेटवर्कसँग झगडा परेको र उसले हानेकाे गोली लागेर तालीबानी नेता बरादर घाइते भएको दाबी गरिएको छ।

यसैकारण तालिबानले अब सरकार गठनको विषय केही दिनलाई स्थगन गरेको विभिन्न न्युज एजेन्सीले जनाएका छन्। 

यसबीच राजधानी काबुलमा आफूहरूलाई पनि पुरुषसरह अधिकार दिन माग गर्दै महिलाले पनि तालिबानविरुद्ध प्रदर्शन गरेका छन्।

यो पनि : ​अफगानिस्तानमा आफूविरुद्ध प्रदर्शन गर्ने महिलालाई तालिबानले बन्दुकको कुन्दाले हाने (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .