ad ad

राजनीति


१५ हजार प्रतिनिधि छान्न कांग्रेसको अधिवेशन सुरु हुँदै

१५ हजार प्रतिनिधि छान्न कांग्रेसको अधिवेशन सुरु हुँदै

केशव सावद
भदौ १८, २०७८ शुक्रबार ६:४४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस शुक्रबार (आज) देखि १४औँ महाधिवेशनमा होमिँदै छ। ५६ जिल्लाहरुका क्रियाशील सदस्यताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेर कांग्रेस महाधिवेशनमा होमिन लागेको हो।

कांग्रेसले शुक्रबार क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका जिल्लामध्ये अधिकांश जिल्लाहरुमा वडा अधिवेशन गर्दैछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि ५६ वटै जिल्लाहरुमा केन्द्रबाट निर्वाचन अधिकृतहरु खटाएको छ।

यद्यपि, निर्वाचन अधिकृत खटिएका सवै जिल्लाहरुमा वडा अधिवेशन सुरु भने नहुने देखिएको छ। तयारी नपुगेको भन्दै केही जिल्लाहरुले शुक्रबार वडा अधिवेशन गर्न नसकिने निर्णयनै गरेका छन्।

नामावली प्रकाशित भइसकेका नुवाकोट, प्युठान, बाग्लुङ, झापालगायतका जिल्लाहरुले केन्द्रबाट उपलब्ध गराइएका निर्वाचन सामग्रीहरु बाढी–पहिरोका कारण आउन ढिलाइ भएको भन्दै वडा अधिवेशन पछि सारेका छन्।

यद्यपि, कांग्रेसका शीर्ष नेताहरुका बीचमा यसअघि ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन एकसाथ सुरु गर्ने समझदारी बनेको थियो। निर्वाचन समितिले ५६ मध्ये ४५ जिल्लामा वडा अधिवेशन सुरु हुन सक्ने जनाएको छ।

‘कति वडामा अधिवेशन हुन्छ भन्ने अहिलेनै भन्न सकिने अवस्था छैन। ५६ जिल्लामा हामीले निर्वाचन अधिकृत खटाएका छौं,’ समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, ‘४५ भन्दा बढी जिल्लामा वडा अधिवेशन हुन्छ कि भन्ने अनुमान छ।’

उनले शनिबारमात्रै पहिलो दिन वडा अधिवेशन गर्ने जिल्ला र वडाहरुको संख्याका बारेमा थाहा हुने पनि बताए।

‘आज (शुक्रबार) बेलुकी वा भोलि (शनिबार)सम्म वडा अधिवेशन गर्ने जिल्ला र वडाको संख्या थाहा होला,’ वरिष्ठ अधिवक्ता घिमिरेले भने।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएका जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृत खटाइएकोे जानकारी दिए।

निर्वाचन अधिकृत खटाइएका जिल्लाहरुमा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको उनले बताए।

कांग्रेसले यसपाली क्रियाशील सदस्यहरुको संख्या वृद्धि गरेर झण्डै नौ लाख पु¥याएको छ। कांग्रेसका यी क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् ।

क्रियाशील सदस्यले आफ्नो वडाको वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्न पाउने विधानले व्यवस्था गरेको छ।

गाउँपालिका वडा अधिवेशनले वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र गाउँपालिका÷नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ।

यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ।

विधानअनुसार तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य, महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट ६ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

गाउँपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

यस्तै १ सय ५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिकाका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि तीन महिलासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ।

१ सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्। वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ।

कांग्रेसको गाउँपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित  सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ। 

नगरपालिका वडा अधिवेशनमा पनि वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसको वैधानिक व्यवस्था छ।

यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ। विधानअनुसार ४ महिलासहित १२ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ८ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

नगरपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

उपमहानगरपालिका÷महानगरपालिका वडा अधिवेशनले पनि गाउँपालिका÷नगरपालिका वडा अधिवेशनकै अनुपातमा सभापति, उपसभापति, सचिव, सहसचिव प्रत्यक्ष निर्वाचित गर्नुपर्दछ भने कोषाध्यक्ष पनि वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट चयन गर्न पाउने व्यवस्था विधानमा छ।

उपमहानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ५ महिलासहित १५ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १० जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

उपमहानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

महानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ६ महिलासहित १८ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पछिडिएको क्षेत्रबाट १२ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

महानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनमा १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ।

१ सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्। वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ।

कांग्रेसको नगर, उपमहानगर र महानगरपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित  सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ।

निर्वाचन समितिले ६ हजार ७ सय ४३ वडामा अधिवेशन सम्पन्न भए ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६ सय ८१ सदस्यहरु निर्वाचित हुने जनाएको छ। यसबाहेक मनोनित हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५ सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
गत साउन ३० गते देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। यस्तै गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ। 
प्रदेश क्षेत्र क÷ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ। जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ।

कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ। कांग्रेसले तल्लो तहका अधिवेशनहरु सम्पन्न गरेर मंसिर ९ गतेदेखि १३ मा केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ।

यसअघि गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौँ पटक कार्यतालिका परिमार्जन गर्दै भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि निर्वाचन कार्यतालिका छैटौँ पटक परिमार्जन गरिएको थियो। 


यी हुन् अधिवेशनका लागि निर्वाचन अधिकृत खटाइएका जिल्लाहरु
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम
४९. नुवाकोट
५०. धादिङ
५१. चितवन
५२. ललितपुर
५३. अर्घाखाँची
५४. सुनसरी
५५. मकवानपुर
५६. बाग्लुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .