ad ad

राजनीति


एमालेले भन्यो : तुइन काटिएको घटनामा देउवा सरकार भारतसँग लाचार भयो, ढाकछोप गर्‍यो

एमालेले भन्यो : तुइन काटिएको घटनामा देउवा सरकार भारतसँग लाचार भयो, ढाकछोप गर्‍यो

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १७:५७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाकालीमा नेपाली युवा सवार तुइन भारतीय सुरक्षाकर्मीले काटेको घटनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले ढाकछोप गरेको आरोप लगाएको छ। 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विहीबार एक विज्ञप्ति निकालेर आफ्ना नागरिकको अन्यायपूर्वक ज्यान लिएको घटनालाई गठबन्धन सरकारले थामथुम पार्ने कोसिस गरेको बताएका छन्। 

एमालेले उक्त घटनालाई थामथुम पारेर अन्यत्रै ध्यान मोड्ने कोसिस गरिएको पनि जनाएको छ। सरकारले हुम्लामा चीनसँग सीमा विवाद रहेको भन्दै छानबिन गर्न समिति बनाएपछि एमालेले यसो भनेको हो।

'गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको एक
महिनाभन्दा बढी समय बितेको छ', एमालेले भनेको छ, 'यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइएको छ। तर  पनि प्रतिवेदन अस्पष्ट रहेको छ।'

एमालेले अस्पष्ट प्रतिवेदन बनाएर सरकारले घटना थामथुम पार्ने अभियानमा सरकार लागेको पनि उल्लेख गरेको छ।

'सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ', ज्ञवालीले विज्ञप्तिमा भनेका छन्, 'आफ्ना नागरिक वेपत्ता पारिएको यति संवेदनशील घटनाबारे भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ।'

एमालेले यति गम्भीर घटनामा पनि नेपाल सरकारले भारतसँग लाचारी देखाएको उल्लेख गरेको छ।  'नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति एमाले खेद व्यक्त गर्छ', विज्ञप्तिमा भनिएको छ, 'नेकपा एमाले यस घटनाको अविलम्ब सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ।' 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .