ad ad

राजनीति


क्रियाशील सदस्यता विवाद : कार्यदलले आज सभापति देउवालाई प्रतिवेदन बुझाउने

क्रियाशील सदस्यता विवाद : कार्यदलले आज सभापति देउवालाई प्रतिवेदन बुझाउने

नेपालखबर
भदौ ६, २०७८ आइतबार ११:१७, काठमाडौँ

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मेवारी पाएको कार्यदलले आज (आइतबार) सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ। 

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको खाका तयार पारेर कार्यदलले आइतबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई प्रतिवेदन बुझाउन लागेको हो। 

विवाद समाधानको खाकालाई अन्तिम रुप दिएर आज दिउँसो सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिए। 

‘अधिकांश ठाउँमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद हामीले पहिलेनै समाधान गरिसकेको थियौं। बाँकी रहेका केही ठाउँकोे विवाद मिलाएर हामीले आज प्रतिवेदन बुझाउन लागेका छौं,’ उनले भने। 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा थप निर्णय पदाधिकारी बैठकले गर्ने बताइएको छ। 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यदललाई भदौ ३ भित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको थियो। 

यसअघि लेखकको संयोजकत्वमा गठित क्रियाशील सदस्यता विवाद समाधान समितिले गत साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो। 

क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन मंसिरका लागि तय गरेको छ। 

गत साउन ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडाहरूको अधिवेशन सुरु गरेर मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .