ad ad

राजनीति


हाइटीकी प्रथम महिलाको बयान : मारिनुअघि राष्ट्रपतिले मलाई भुइँमा पल्टिन भने

हाइटीकी प्रथम महिलाको बयान : मारिनुअघि राष्ट्रपतिले मलाई भुइँमा पल्टिन भने

‘म मरिसकेको ठानेर उनीहरु गए,’ हाइटीकी राष्ट्रपतिकी पत्नीको बयान


फ्रान्सेस रोब्लेस
साउन १५, २०७८ शुक्रबार २१:५२, मायामी

गोलीले उनको कुहिना क्षतविक्षत बनाएको थियो। मुखभरी रगत भरिएको थियो। हत्याराहरुले उनको कोठामा पसेर गोली वर्षाएपछि हाइटीकी प्रथम महिला आफ्नो ओछ्याननजिकै भुइँमा ढलेकी थिइन्। उनी सास फेर्न सकिरहेकी थिइनन्। 

‘तिनले उनको हत्या गर्नुअघि मैले तिनको बुट मात्रै देखेँ,’ मार्टिन मोइजले आफ्ना पति तथा हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या भएको क्षण सम्झिइन्, ‘त्यसपछि मैले आँखा चिम्लिएँ। अरु केही पनि देखिनँ।’

हत्याराहरुले कोठा तोडफोड गरेको आवाज उनले सुनिन्। उनका अनुसार तिनीहरु उनका पतिको फाइलमा केही चिज खोजिरहेका थिए। ‘स्पेनी भाषामा ‘त्यो होइन’, ‘त्यो होइन’ भन्दै थिए, अन्तिममा ‘यो चैँ हो’ भने,’ मोइजले सुनाइन्।  

त्यसपछि हत्याराहरु बाहिरिए। एउटाले उनको खुट्टा कुल्चियो। अर्कोले टर्च बालेर उनको आँखामा हेर्‍यो, उनी जिउँदै छिन् कि भनेर।

‘म मरिसकेको ठानेर उनीहरु गए,’ उनले भनिन्। 

जुलाई ७ मा राष्ट्रपतिको हत्या भएपछिको पहिलो अन्तर्वार्तामा ४७ वर्षीया मोइजले आफ्नो पतिको हत्याको दृश्य देख्नुपर्दाको असहनीय पीडाबारे चर्चा गरिन्। जोसँग उनले २५ वर्ष बिताएकी थिइन्, जसको हत्या उनकै आँखाअगाडि भएको थियो। 

त्यो बन्दुकको कान फुट्ने गर्जन, त्यो भित्ता र झ्यालको थर्थराहट, आफ्ना सन्तान मारिने पक्का भएको त्यो आतंकपूर्ण क्षण र पतिको मृत शरीर देख्नुपर्दाको त्यो भयावह पल उनी भोग्न चाहन्नथिन्। अथवा हत्याराहरु हिँडेपछि उभिनका लागि उनले जस्तो संघर्ष गर्नुपर्‍यो त्यो पनि बेहोर्न उनलाई मन थिएन। 

‘त्यो सारा रगत,’ उनले धीमा आवाजमा भनिन्। 

तर, उनलाई लाग्छ, उनले बोल्नुपर्छ। किनभने उनको पतिको हत्याको विषयमा भएको अनुसन्धानले सबैभन्दा मुख्य प्रश्नको जवाफ दिन सकेको छैनः उनको पतिको हत्याको आदेश कसले दियो र पैसा कसले तिर्यो?

हाइटीको प्रहरीले यो घटनामा अनेक किसिमका मानिसहरुलाई पक्रेको छ। जसमा १८ कोलम्बियाली छन् भने हाइटीका र अमेरिकी नागरिक पनि समातिएका छन्। त्यस्तै एक पूर्वन्यायाधीश, एक सुरक्षा सामग्री बिक्रेता, फ्लोरिडाका एक बिमा दलाल र राष्ट्रपतिको सुरक्षा टोलीका दुई कमान्डर समेत पक्राउ परेका छन्। 

हाइटी प्रहरीका अनुसार राष्ट्रपतिको हत्या योजनाको केन्द्रमा ६३ वर्षीय डाक्टर तथा पास्टर क्रिस्टियन इम्यानुएल स्यानन छन्। प्रहरीका अनुसार उनैले कोलम्बियाली भाडाका लडाकु ल्याएर राष्ट्रपतिको हत्या गर्ने र सत्ता हत्याउने षड्यन्त्र रचेका थिए। 

तर, सरकारको यो स्पष्टीकरणलाई थुप्रैले अस्वीकार गरेका छन्। उनीहरुका अनुसार अनुसन्धानमा उल्लिखित कसैले पनि यो षड्यन्त्र रच्न आवश्यक खर्च जुटाउने तागत राख्दैनन्। हाइटीका अन्य थुप्रै मानिसजस्तै मोइजलाई पनि विश्वास छ– यो हत्याको पछाडि कुनै ‘मास्टरमाइन्ड’ छ, जसले आदेश र पैसा दिने काम गरेको छ। 

उनका पति घरमा हुँदा सुरक्षाका लागि खटिने ३० देखि ५० जनासम्म सुरक्षाकर्मीलाई के भयो, मोइज जान्न चाहन्छिन्। राष्ट्रपतिको सुरक्षामा खटिएका कोही पनि मारिएनन्, न त घाइते नै भए। 

‘एक जनालाई पनि गोली कसरी लागेन, मैले बुझ्न सकेकी छैन,’ उनी भन्छिन्। 

हत्याको समयमा ५३ वर्षीय राष्ट्रपति मोइज राजनीतिक संकटको माझमा थिए। कार्यकालभन्दा बेसी सत्तामा बसेको, स्थानीय ग्याङ सञ्चालन गरेको र मुलुकका संस्थाहरुलाई खोक्रो पारेर हुकुमी शासन चलाएको आरोप प्रदर्शनकारीहरुले उनीमाथि लगाइरहेका थिए। 

मुलुकका केही धनी कुलीनहरुसँग उनको विवाद थियो। मुलुकको विद्युत प्रसारण लाइनमाथि नियन्त्रण भएको परिवारसँग पनि राष्ट्रपतिको झगडा थियो। थुप्रै मानिस राष्ट्रपतिलाई तानाशाही नेताका रुपमा चित्रण गर्छन्। तर, मोइज भने धनी र शक्तिशालीका विरुद्ध खडा भएको एक व्यक्तिका रुपमा नागरिकले आफ्नो पतिलाई सम्झिनुपर्ने बताउँछिन्। 

तिनै धनी व्यक्तिमध्ये एकले उनको हत्या गरेको मोइजको भनाइ छ। 

‘कुलीनहरु र यो व्यवस्थाले मात्रै उनलाई मार्न सक्थ्यो,’ उनी भन्छिन्। 

कालो कपडा लगाएकी, घाइते हातमा पट्टी बाँधेर बसेकी मोइज न्युयोर्क टाइम्सलाई साउथ फ्लोरिडामा अन्तर्वार्ता दिन तयार भइन्। यद्यपि उनी बसेको स्थान गोप्य राख्ने सर्तमा। वरिपरि उनका छोराछोरी, सुरक्षा गार्ड र हाइटीका कूटनीतिज्ञ थिए। उनको आवाज कानेखुसीभन्दा अलिकति मात्रै चर्को थियो। 

गोलीको आवाजले ब्युँझिनुअघि उनी र उनका पति सुतिरहेका थिए। मोइज आफ्ना दुई सन्तानलाई उठाउन दौडिन्। जो अहिले बीसेबाइसे उमेरका छन्। छोराछोरीलाई उनले बाथरुममा लुक्न भनिन्, किनभने त्यहाँ झ्याल थिएन। उनीहरु आफ्नो कुकुरलाई समेत लिएर लुक्न गए। 

उनका पतिले केही व्यक्तिलाई फोन गरे र सहयोग मागे। ‘प्रिय तिमीले कसलाई फोन गर्‍यौ भनेर मैले सोधेँ,’ उनी भन्छिन्। 

‘दिमित्री हेरार्ड र जिन लेगल सिभिललाई गरेँ, उनीहरुले आउँदैछौँ भनेका छन् भनेर उनले सुनाए,’ मोइजले भनिन्। राष्ट्रपतिको सुरक्षा यी दुईको जिम्मामा थियो। 

तर, हत्याराहरु तुरुन्तै घरभित्र पसे, बिनाकुनै अवरोध। राष्ट्रपतिले पत्नीलाई भुइँमा पल्टिन भने ताकि उनलाई चोट नलागोस्। 

‘भुइँमा तिमी सुरक्षित हुन सक्छौ,’ पतिको भनाइ उनले सम्झिन्। 

पतिले उनलाई भनेको अन्तिम कुरा यही थियो। 

त्यसपछि कोठामा गोलीको पर्रा छुट्यो। सुरुमा गोली आफूलाई लागेको उनी बताउँछिन्। उनको हात र कुहिनामा गोली लागेको थियो। परिवारमा आफू र सबैजना मारिएको ठानेर उनी भुइँमा निश्चल पल्टिरहिन्। 

हत्यारामध्ये कसैले पनि स्थानीय क्रियोल वा फ्रान्सेली भाषा नबोलेको उनले बताइन्। ती मान्छेले स्पेनी भाषामा मात्रै कुराकानी गरे। कोठाको तलासी लिइरहँदा उनीहरुले कसैसँग फोनमा समेत कुरा गरेका थिए। 

‘कोठामा उनीहरु केही खोजिरहेका थिए र तिनले त्यो फेला पारे,’ मोइज भन्छिन्। 

तर, त्यो के थियो, आफूलाई थाहा नभएको उनको भनाइ छ। 

‘त्यो क्षणमा मेरो सास रोकिन थालेको महसुस गरेँ किनभने मेरो मुखभरी रगत थियो,’ उनले भनिन्, ‘मनमनै सबैजना मारिइसकेको ठानेँ। किनभने राष्ट्रपति मर्न सक्छन् भने अरु सबै मर्न सक्छन्।’

राष्ट्रपतिले आफ्नो सुरक्षाका लागि विश्वास गरेका व्यक्तिहरु, जसलाई उनले सहयोग माग्दै फोन गरेका थिए, अहिले हिरासतमा छन्। 

हत्याको षड्यन्त्र रचेको आरोपमा केही व्यक्ति पक्राउ परे पनि उनी सन्तुष्ट छैनन्। मोइज एफबीआईजस्ता अन्तर्राष्ट्रिय एजेन्सीले यो घटनामा खर्च गरिएको पैसाको ट्रयाक गरोस् भन्ने चाहन्छिन्। कोलम्बियाबाट भाडाका सिपाही ‘लुकामारी खेल्न’ हाइटी नआएको उनको भनाइ छ। र, तिनलाई पैसा कसले दियो, उनी जान्न चाहन्छिन्। 

त्यसरी पैसा ट्रयाक गर्ने हो भने त्यो हाइटीकै कुलीनसम्म पुग्ने मोइजको अपेक्षा छ। जसको अकुत कमाइ उनको पतिका कारण रोकिएको उनको भनाइ छ।

मोइजले हाइटीका एक शक्तिशाली व्यवसायी रेजिनल्ड बुलोसको नाम लिइन्, जो राष्ट्रपति पदमा चुनाव लड्न समेत चाहन्छन्। उनको पतिको हत्याबाट बुलोसलाई फाइदा पुग्ने उनको भनाइ छ। यद्यपि, हत्याको आदेश बुलोसले नै दिएको आरोप भने उनले लगाइनन्। 

बुलोस र उनको व्यवसायमाथि हाइटी सरकारले कयौँ मुद्दा लगाएको थियो। उनले सरकारी पेन्सन कोषबाट सहुलियत ऋण लिएको आरोप थियो। राष्ट्रपतिको हत्या हुनुअघि बुलोसको बैंक खाता रोक्का थियो। राष्ट्रपति मारिएलगत्तै खाता फुक्का भएको मोइज बताउँछिन्। 

बुलोसले भने एक अन्तर्वार्तामा करिब ३० हजार डलर रकम भएको उनको एक व्यक्तिगत खाता मात्र रोक्का गरिएको दाबी गरेका छन्। पछि अदालतले खाता फुक्का गरेको उनको भनाइ छ। उनले राष्ट्रपतिको हत्यामा संलग्नता अस्वीकार गरेका छन्। राष्ट्रपति मोइज जिउँदो भएको भए आफ्नो राजनीतिक करिअर झन् राम्रो हुने बुलोसको भनाइ छ। किनभने राष्ट्रपति मोइजको आलोचना गरेर आफू स्थापित हुन सहज रहेको उनको तर्क छ। 

‘यो हत्यामा मेरो कुनै हात छँदैछैन। सपनामा पनि छैन,’ बुलोसले भनेका छन्, ‘यसमा बलियो र स्वतन्त्र छानबिन हुनुपर्छ।’

आफू रत्तिभर नडाराएको कुरा हत्याराहरुलाई थाहा होस् भन्ने मोइज चाहन्छिन्। 

‘यो काम गर्ने मान्छेहरु समातिनुपर्छ। नत्र तिनले अबका हरेक राष्ट्रपतिको हत्या गर्नेछन्,’ उनी भन्छिन्, ‘एक पटक उनीहरुले मारिसकेका छन्, फेरि पनि मार्नेछन्।’

राष्ट्रपतिमा चुनाव लड्ने विषयमा आफूले गम्भीरतापूर्वक सोचविचार गरिरहेको उनी बताउँछिन्। त्यसअघि उनले घाइते हातको शल्यक्रिया गराउनुपर्नेछ। दुई पटक शल्यक्रिया भइसक्यो। अब खुट्टाको नसा ल्याएर हातमा राख्ने डाक्टरहरुको योजना छ। अहिले उनी दाहिने हातको दुई वटा औँला मात्र चलाउन सक्छिन्। त्यो हात सधैँका लागि काम नलाग्ने बन्न सक्छ।

‘राष्ट्रपति जोभेनेलसँग एउटा सपना थियो,’ उनी भन्छिन्, ‘र, हामी त्यसलाई मर्न दिने छैनौँ।’

(न्युयोर्क टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .