ad ad

राजनीति


मन्त्री छनोट गलत भयो, कांग्रेसको तर्फबाट क्षमा माग्छु : पूर्णबहादुर खड्का

मन्त्री छनोट गलत भयो, कांग्रेसको तर्फबाट क्षमा माग्छु : पूर्णबहादुर खड्का

नेपालखबर
साउन ११, २०७८ सोमबार २१:४८,

नेपाली कांग्रेसका महामन्त्री एवम् गठबन्धन सरकारलाई सघाउन बनेको कार्यदल संयोजक पूर्णबहादुर खड्काले संघीय मन्त्रिपरिषद र गण्डकी प्रदेशमा गलत मान्छेलाई मन्त्री बनाइएको स्वीकारेका छन् 

संघीय मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री शेरबहादुर देउवाले चर्चित व्यापारी एवम् निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएको भोलिपल्ट खड्काले गलत मान्छेलाई रोजिएको भन्दै क्षमा मागेका हुन्। 

देउवानिकट महामन्त्री खड्काले गण्डकी र संघीय मन्त्रिपरिषद्‍मा गलत मानिस छनोट गरेर कमजोरी गरिएको पनि बताएका छन्। ‘जसका कारणले मन्त्री चयनमा कमजोरी भए पनि कांग्रेस महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबै पक्षसँग क्षमायाचना गर्दछु’उनले भनेका छन्। 

सोमबार आफू नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम बाडेगाउँ पुगेको बताउँदै त्यहीँबाट क्षमायाचना गरेको पनि उल्लेख गरेका छन्। 

‘गण्डकी सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सकारात्मक रूपमा समयमै पाठ सिक्नु जरुरी छ,’ खड्काले फेसबुकमा भनेका छन्, ‘यो ऐतिहासिक अवसरमा हामीले देश र आमनागरिकप्रतिको कर्तव्य पालना गर्न, आशा जागृत गर्न तत्काल सच्चिनु आवश्यक छ। भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै हामी सचेत हुन जरुरी छ।’

देउवाले आइतबार मात्रै आफूलाई राम्रो आर्थिक सहायता गरिरहेका श्रेष्ठलाई  स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। उनलाई २०७४ को चुनावमा श्रेष्ठ करिब ५ करोड सहयोग गरेको समाचार बाहिरिएको थियो। समानुपातिक सांसद हुनका लागि पनि उनले कांग्रेसलाई करोडौँ आर्थिक सहयोग गरेको समाचार आइरहेका छन्। 

खड्काले गण्डकी प्रदेश सरकारमा भएको मन्त्री नियुक्ति पनि बेठीक भएको बताएका छन्। दलित समुदायको प्रतिनिधित्व गर्दै मन्त्री हुन लागेका तनहुँका डोबाटे विश्वकर्मालाई अन्तिम समयमा हटाएर कास्कीमा विजयी जग्गा कारोबारी विन्दुकमार थापालाई कानुन मन्त्री बनाइएको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भन्दै प्रधानमन्त्री देउवाले हस्तक्षेप गरेर आर्थिक रुपमा सम्पन्न थापालाई मन्त्री बनाएका थिए। 

पार्टीलाई लामो समयदेखि योगदान गरेका नेताहरुलाई पन्छाउँदै देउवाले व्यापारी र आर्थिक रुपमा पनि अनेक विवादमा फसेकालाई मन्त्री बनाउन थालेपछि कांग्रेस वृत्त र बाहिर पनि चर्को विरोध भइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .