ad ad

राजनीति


जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई

नेपालखबर
साउन ११, २०७८ सोमबार १७:१५,

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो। 

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो। उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए। एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए। 

राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित बोलाएर सनाखत गराएको थियो। उक्त सनाखतमा यादव पक्षमा करिब दुईतिहाइ बहुमत पुगेको हो। 

जसपाको ठाकुर समूहले आयोगको निर्णयबाट ४० प्रतिशत पनि मत जुटाउन असफल भयो। दल विभाजनका लागि केन्द्रीय समिति र दल दुवैमा ४० प्रतिशत मत आवश्यक हुन्छ। यस्तोमा ठाकुर समूह निरीह सावित भएको हो। 

केपी शर्मा ओली नेतृत्वको सरकार हुँदासम्म जसपामा ठाकुर समूह बलियो थियो। तर ओली सरकार ढलेसँगै कांग्रेस र माओवादीसँग मिलेको उपेन्द्र यादव पक्षमा बहुमत सर्‍यो । ठाकुर पक्षमा रहेका सात सांसदले एकै पटक साथ छाडे। उता कार्यकारिणी समितिका सदस्यहरुले पनि धमाधम ठाकुर समूहलाई छाड्दा यादव पक्षले जसपाको आधिकारिकता पाउन सफल भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .