राजनीति


जेलबाट निर्वाचन आयोग आएर रेशम चौधरीले सुनाए महाभारतको कथा र कविता (जस्ताको तस्तै)

जेलबाट निर्वाचन आयोग आएर रेशम चौधरीले सुनाए महाभारतको कथा र कविता (जस्ताको तस्तै)

नेपालखबर
काठमाडौँ, साउन ११

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी सोमबार निर्वाचन आयोग आएका थिए। जसपाको आधिकारिताबारे दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) बीच विवाद भएपछि आयोगले आज दुवै पक्षका कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएकाले उनी पनि उपस्थित भएका हुन्। 

बिना हतकडी सुरक्षाकर्मीको घेरामा ससम्मान आयोगको कार्यालय आएका चौधरीले सुरुमा सञ्चारकर्मीसँग नेताहरूसँग भेटेर निर्णय गर्छु भने र पहिला महन्थ ठाकुरलाई भेटे। र, आयोगको कार्यालयबाट निस्किँदै उनले आफ्नो नैतिकताले कतैपट्टि पनि सनाखत गर्न नदिएकाले तटस्थ बसेको निर्णय सुनाए। यस क्रममा उनले निकै लामो भूमिका पनि बाँधे, महाभारतको कथा सुनाउँदै। 

उनका भनाइ जस्ताको तस्तै  
म पार्टीको बफादार सिपाही र इमान्दार कार्यकर्ता हो। म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ। त्यसैअनुसार कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भएँ। म तीनवटा कुरा तपाईंहरूसामु भनेर जान चाहन्छु। 

एउटा कुरा मेरो दुईटा अध्यक्षलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नुभएको छ, त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ– महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो, तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए। 

युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो। तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो। युद्ध हुन्जेलसम्म अर्जुनले हानेको वाणले भीष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिएपछाडि पनि भीष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘मैले तपाईँलाई वाण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईंलाई वाण हान्नुपर्यो, क्षमा पाऊँ ‘भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो। 

मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ, महन्थ ठाकुर। उहाँ अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ। कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर जिन्दगीभरी कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा दिन्छु। उहाँकहाँ गएर सबैले मैले के गर्नुपर्छ, मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ।

आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन। मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो। म जसपाको एउटा कार्यकर्ता हुँ। आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ। मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला। 

अन्त्यमा, उनले कविता पनि सुनाएः

कठघरामा उभिएर जति सत्य बके पनि

 न्याय पाऊँ भन्दै हजुर सयौंपटक झुके पनि

 निरीह ठान्दा रहेछन् शीर निहुराएपछि

दोषी ठहर्याउँदारैछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन ।।

टीकापुर काण्डमा चौधरी काठमाडौंको डिल्लीबजारस्थित कारागारमा जेल जीवन बिताइरहेका छन्। 

साउन ११, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .