ad ad

राजनीति


उपेन्द्र यादव पक्षका सांसद र कार्यकारिणी समिति सदस्य गोदावरी रिसोर्टमा

उपेन्द्र यादव पक्षका सांसद र कार्यकारिणी समिति सदस्य गोदावरी रिसोर्टमा

नेपालखबर
साउन १०, २०७८ आइतबार १९:०,

निर्वाचन आयोगले पार्टीमा चलिरहेको विवादको फैसला सोमबार दिने भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आफू पक्षीय सबै सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई गोदावरी भिलेज रिसोर्टमा राखेको छ।

जसपा यादव पक्षका नेता मोहम्मद इस्तियाक राईका अनुसार उनीहरुलाई आवासीय प्रशिक्षणका लागि गोदावरी रिसोर्टमा लगेर राखिएको हो। यादव पक्षले गोदावरी रिसोर्टमा ३३ जना कार्यकारिणी सदस्य र २१ जना सांसदलाई राखिएको छ।

उनीहरुलाई जसपा अध्यक्ष यादव र अर्का अध्यक्ष डा. बाबुराम भट्टराईसहितले प्रशिक्षण दिने भनेर त्यहाँ लगिएको हो। निर्वाचन आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गर्ने  भएपछि संसदीय दल र कार्यकारिणी समिति सदस्य दुवैतर्फ बहुमत जुटाएको यादव पक्ष आज गोदावरीमा बास बसेको हो। 

यादव पक्षले निर्वाचन आयोगले जसपाको आधिकारिकता टुंग्याउने दिन सांसद र कार्यकारिणी सदस्यहरुलाई दायाँ बायाँ गरेर अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा लाग्न नदिन यस्तो कदम चालेको हो। रिसोर्टमा राखिएका सांसद र कार्यकारिणी सदस्यहरूमाथि जसपा नेतृत्वले कडा निगरानी गरिरहेको छ। 

'कार्यकारिणी सदस्य र सांसदहरु सबै आज राति गोदावरी रिसोर्टमा बास बस्ने छन्। उनीहरु भोलि बिहान उठेर खाजा र खानासमेत खाएपछि मात्रै त्यहाँबाट हिँड्नेछन्', जसपा यादव पक्षका अर्का नेताले भने, 'गोदावरीबाट उनीहरु सबै एकसाथ निस्किएर सिधै निर्वाचन आयोगमा पुग्नेछन्। त्यसका लागि आजै उनीहरुलाई नागरिकता र मतदाता परिचयपत्र अनिवार्य बोक्न भनिएको छ।'

यसअघि २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि सरकारमा दाबी गरेका माओवादी र कांग्रेसलाई फेल खुवाउन जसपाकै महन्थ ठाकुर समूहले आफ्नो पक्षमा रहेका करिब १९ सांसदलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा लगेर राखेको थियो। ठाकुर समूहले सांसदहरुलाई रिसोर्टमा लगेर राखिदिँदा जसपाको यादव समूहसहित तीन दलले सरकारका लागि बहुमत जुटाउन असफल भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .