ad ad

राजनीति


कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित, तल्लो तहको अधिवेशन सारिँदै

कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित, तल्लो तहको अधिवेशन सारिँदै

नेपालखबर
साउन ९, २०७८ शनिबार १३:३९,

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ। क्रियाशील सदस्यताको टुंगो लाग्न ढिलाइ भएपछि कांग्रेसको आशन्न महाधिवेशन कार्यतालिका प्रभावित भएको हो।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन १२ गतेका लागि तय भएको गाउँ/नगर वडा अधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले साउन १२ मा हुने भनिएको गाउँ/नगर वडा अधिवेशन पछाडि सारिने जानकारी दिए। महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको हो भन्ने प्रश्नमा उनले भने, ‘साउन १२ को मात्रै सर्‍यो।’

अब बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिले केन्द्रीय महाधिवेशन मिति यथावत राखेर तल्लो तहका अधिवेशनहरुको कार्यतालिका हेरफेर गर्ने बताइएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन गर्न निर्देशन दिएका थिए।

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .