ad ad

राजनीति


किर्ते गरेर झिकेको नौ लाख पचाउन सेनाका जवानले गरे सहकर्मीकै हत्या

सेनाले प्रयोग गर्ने एसएमजी हत्यामा प्रयोग
किर्ते गरेर झिकेको नौ लाख पचाउन सेनाका जवानले गरे सहकर्मीकै हत्या

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १७:४१,

साथीको खाली चेक लिएर कीर्ते हस्ताक्षरमार्फत झिकेको नौ लाख रुपैयाँ पचाउन सेनाका एक जवानले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ। बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाँडास्थित सडक नजिकै एक पुरुषको शव भेटिएको थियो।

ती पुरुषको शव नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको भएको प्रहरीले जनाएको छ। उनको हत्यामा उनकै सहकर्मी रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङको हत्यामा उनी कार्यरत नेपाली सेनाको महेन्द्र दल गुल्म शिवपुरीमा कार्यरत जवान गंगाधर ढकाल रहेको पत्ता लागेको छ।

ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबारै पक्राउ गरिसकेको छ। उनले धादिङको नीलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा भरत गुरुङको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ९ लाख रुपैयाँ कीर्ते गरेर निकालेको खुलेको छ।

गुरुङको हस्ताक्षर आफैँ गरेर निकालेको उक्त रकम पचाउनकै लागि ढकालले नेपाली सेनाले प्रयोग गर्ने एसएमजी हतियारबाट गोली हानेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले गंगाधरलाई बिहीबारै भरतपुर-१८ चनौलीबाट पक्राउ गरिएको बताए। 

उक्त रकम पचाउन गंगाधरले भरतलाई अत्यधिक मदिरा पिलाएर बुधबार रातिदेखि भरतपुरका विभिन्न स्थानमा घुमाएका थिए। बुधबार रातभर मोटरसाइकलमा डुलाएका उनले बिहीबार बिहान पनि नहरमा पुगेपछि पिसाब फेर्ने बाहनामा झर्न लगाएर गोली हानेर भागेको अधिकारीले बताए। उनले मोटरसाइकलमै बसिरहेका भरतलाई दाहिने कन्चटतिर एक गोली हानेर ढालेपछि सडकभन्दा तलतिर झारेर हिँडेको पनि खुलेको छ। 

घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको थियो। घटनामा प्रयोग गरिएको मोटरसाइकल, एसएमजी पनि बरामद भइसकेको अधिकारीले बताए। भरतको बैंक खाताबाट पैसा निकालेर गंगाधरले परिवारका सदस्यलाई दिएको पनि खुलेको छ।

नौ लाखमध्ये गंगाधरले जागिर खाएर केही गर्न नसकेको भन्दै अहिले प्राप्त भएको ६ लाख रुपैयाँ श्रीमतीलाई दिएको खुलेको छ। त्यस्तै बाँकी २ लाख रुपैयाँ ढकालले बुवालाई दिएको भेटिएको छ। एक लाख रुपैयाँ भने उनी आफैंले राखेका थिए। 

गंगाधरले भरतको हत्यापछि एसएमजी अटोमेटिक हतियारलाई भरतपुर-८ स्थित बीसहजारी ताल जाने बाटोको पर्खाल पछाडि झाडीमा फालेको अवस्थामा बरामद भएको अधिकारीले बताए। गंगाधरले भरतलाई साउन ५ गते काठमाडौंबाट ल्याएका थिए। मोटरसाइकलमा काठमाडौंबाट आएका भरतले खातामा रहेको पैसाले चितवनमा जग्गा पास गर्ने योजना बनाएका थिए। तर आफ्नै साथीले खाताबाट कीर्ते गरेर पैसा गायब गरिसकेका थिए। त्यही पैसा उनको ज्यान जाने कारण पनि बन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .