ad ad

राजनीति


बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, क्रियाशील सदस्यता विवादबारे छलफल

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी, क्रियाशील सदस्यता विवादबारे छलफल

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १०:५३,

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन्।

बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यतालिकाबारे छलफल हुने बताइएको छ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधानका लागि भएको प्रगति विवरण प्रस्तुत गर्ने भएका छन्। बैठकले तल्लो तहका कार्यसमितिहरुको अधिवेशन मिति हेरफेर गर्ने सम्भावना छ।

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ। तर पूर्वनिर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन आयोजना गर्न असम्भव रहेको नेताहरु बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .