ad ad

राजनीति


एमाले हामीले बनाएका हौँ तर अपमान र कुकर्म सहेर बसिँदैन : माधव नेपाल

एमाले हामीले बनाएका हौँ तर अपमान र कुकर्म सहेर बसिँदैन : माधव नेपाल

नेपालखबर
साउन ७, २०७८ बिहिबार १३:५,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीको कुकर्म सहेर सधैँ बस्न नसकिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यसो भनेका हुन्। 

प्रमुख अतिथिका रुपमा कार्यक्रममा बोल्दै नेता नेपालले पुष्पलालपथले कहिल्यै निरंकुशता नसहने उल्लेख गरे। उनले कम्युनिष्ट पार्टी सधैँ इमान्दारहरुबाट बन्नुपर्ने, सत्ता र शक्तिको लोभ गर्न नहुनेमा जोड दिए। उनले छिमेकी चीनमा कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहँदा नेपालमा भने त्यसको ठीक विपरीत अवस्था रहेको उल्लेख गरे।

तर नेपालमा त्यसको ठीक विपरीत टुटफुटमै अल्मलिने अवस्था बनिरहेको उनले बताए। 'राजनीतिक दलहरु ठीक ढंगले चल्न जरुरी छ', उनले भने, 'कम्युनिष्ट बिग्रेमा अरुभन्दा धेरै गन्हाउने भएकाले त्याग, तपस्या, स्वार्थरहित हिसाबले पार्टीमा लाग्नुपर्छ।’

एमालेमा जारी विवादमा आफू अहिले पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्। ‘आफैँले बनाएको घरमा अरुको अपमान र कुकर्म सहेर बसिँदैन', उनले भने, 'शक्तिमा जो पुगेपनि सच्चा कम्युनिष्टलाई फरक पर्दैन। किनकी कम्युनिष्ट कसैको दास हुन सक्दैन।’

उनले आफूविरुद्ध भइरहेका जुलुसले केही फरक नपर्ने बताए। 'अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैन', उनले भने, 'कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै त्यसको प्रतिफल पाउँछन्।' 

उनले कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुनेमा पनि जोड दिएका छन्। अनेक चुनौती चिरेर नै कम्युनिस्ट राजनीति परिपक्व हुने उनको तर्क थियो। उनले एमालेभित्रका अनेक घाउखटिराले आफूलाई सताइरहेको पनि जिकिर गरे। 

यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन्। नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो। नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .