ad ad

राजनीति


पुष्पलाल स्मृति दिवस : एकै भवनमा ओली र नेपालको छुट्टै कार्यक्रम

माधव पक्षको कार्यक्रममा प्रचण्ड र वैद्य पनि आउने
पुष्पलाल स्मृति दिवस : एकै भवनमा ओली र नेपालको छुट्टै कार्यक्रम

नेपालखबर
साउन ७, २०७८ बिहिबार ११:३,

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले अलग अलग कार्यक्रम गर्ने भएका छन्।

एमालेको दुवै समूहमध्ये ओली पक्षले पुष्पलालको स्मृतिमा आजै कार्यक्रम गर्दैछ। ओली पक्षले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा पुष्पलाललाई सम्झिने कार्यक्रम छ। 

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा आजै १ बजेका लागि स्मृति दिवस कार्यक्रम राखिएको छ। त्यस्तै नेपाल समूहले पनि त्यही भवन भोलि पुष्पलाललाई सम्झिने भएको छ।

नेपालनिकट नेता जगन्नाथ खतिवडा अध्यक्ष रहेको पुष्पलाल मित्रता केन्द्रले तुलसीलाल स्मृति भवनमै पुष्पलाललाई भोलि सम्झिने भएको छ। नेपाल पक्षको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोहन वैद्य लगायतलाई डाकिएको छ।

एमालेको विवाद थामिने छाँट नदेखिएको अवस्थामा ओली-नेपाल पुष्पलाललाई सम्झिँदा पनि एक ठाउँ जुट्न नसकेका हुन्। यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कीर्तिपुरको चम्पादेवी पुगेर पुष्पलाललाई सम्झिएका छन्। नेताहरु सुरेन्द्र पाण्डे र बेदुराम भुसालसहित उनी कीर्तिपुर पुगेर पुष्पलाललाई श्रद्धाञ्जली दिएका हुन्। 

पुष्पलालले वि.सं. २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए। उनीसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए।

पुष्पलालले कम्युनिष्ट पार्टी स्थापनापछि साम्यवादी विचारधाराको प्रचार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गरेका थिए । पुष्पलाललाई नेपालमा मार्क्सवादी विचार फैलाउने प्रथम व्यक्ति भनिन्छ। उनलाई जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकार पनि भनिन्छ। 

उनी अध्ययनशील नेताका रुपमा परिचित थिए। उनले राजनीतिको वर्तमान अवस्थाको यथार्थ विश्लेषणदेखि नेपालको इतिहासको गहिरो अध्ययन गरेका थिए। वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते उपचारका भारतमा क्रममा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .