ad ad

राजनीति


माधव पक्षको निष्कर्ष : स्पष्टीकरणको अर्थ छैन, एकतामा भाँजो हाल्छ

विश्वासको मत दिने सांसदलाई डर त्रास देखाएको आरोप
माधव पक्षको निष्कर्ष : स्पष्टीकरणको अर्थ छैन, एकतामा भाँजो हाल्छ

नेपालखबर
साउन ६, २०७८ बुधबार १७:५,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षसँग जारी एकता प्रक्रियालाई अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले एमालेलाई एक बनाएरै लानुपर्ने निचोडसहित एकतामै जोड दिएको हो।

बैठकपछि बोल्दै नेपाल पक्षीय नेता रघुजी पन्तले एकतामै जोड दिएको बताए। 'संसदमा विश्वासको मतपछिको अवस्थालाई लिएर हामी छलफलमा बस्यौँ। आजको बैठकले एकता प्रक्रियालाई अघि बढाउनुपर्छ, त्यसमै जोड दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यो', पन्तले भने, 'तर अध्यक्ष ओली पक्षबाट भइरहेका एकता विरोधी गतिविधिले समस्या बनाएको छ।'

नेता पन्तले एकता वार्ता चलिरहेका बेला कुनै अर्थ नै नभएको स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाए। 'एकता वार्ता चलिरहेको र १० बुँदे सहमति पनि बुझाएको अवस्थामा वरिष्ठ नेता माधव नेपालविरुद्ध नारा जुलुस र पुत्ला जलाउने गतिविधि ओलीपक्षबाट भइरहेका छन्', उनले भने, 'सर्वोच्च अदालतको फैसला र संविधानले नै दिएको अधिकार अनुसार आफ्नो विवेक प्रयोग गरेर मत दिने सांसदहरुलाई डर त्रास देखाउने काम भएको छ।'

पन्तले एकताविरोधी यस्ता गतिविधि रोक्न पार्टी अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराएको जानकारी दिए। 'एकताविरोधी गतिविधि रोक्न यो बैठकले पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराएको छ', उनले भने, 'यही बीचमा अर्थहीन स्पष्टीकरण सोधिएको छ। विश्वासको मत दिएको कुरा स्पष्टीकरण आउने विषय नै होइन। स्पष्टीकरण सोधिरहनु भनेको एकता प्रक्रियामा फेरि भाँजो हाल्ने काम हो।'

उनले यसरी सोधिने स्पष्टीकरणले एकतामा अवरोध ल्याउने निचोड पनि बैठकले निकालेको बताए। 'स्पष्टीकरण सोध्नुको कुनै अर्थ नै छैन', बैठकको निष्कर्ष सुनाउँदै पन्तले भने, 'संविधान र अदालतले नै स्वविवेकीय अधिकार दिइसकेपछि त्यही विषयलाई निहुँ बनाएर स्पष्टीकरण सोध्नु गलत हो। यसले एकतामा अवरोध गर्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .