ad ad

राजनीति


देउवा खुमलटार पुग्दा यसरी फेरियो प्रचण्डको कुर्सीको ‘पोजिसन’

देउवा खुमलटार पुग्दा यसरी फेरियो प्रचण्डको कुर्सीको ‘पोजिसन’

नेपालखबर
साउन ५, २०७८ मंगलबार २३:६,

एमाले–माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेकपा’ बैठकमा सुरुमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को कुर्सी सँगै रहने व्यवस्था थियो। तर, पार्टी एकताको ६ महिना बित्दा–नबित्दै अध्यक्षको कुर्सीमा ओली एक्लै देखिन थाले। 

जसै ओलीमा सत्ताको अहंकार बढ्दै गयो, प्रधानमन्त्री निवास बालुवाटारमा हुने नेकपा बैठकमा आफूलाई अरु सबैभन्दा ‘अग्लो’ देखाउन ओलीले अध्यक्ष प्रचण्ड बस्ने कुर्सी केन्द्रीय सचिवालयका बाँकी ७ सदस्यहरुकै लहरमा राख्न लगाएका थिए। 

आफ्नो कुर्सी सारिएकोमा प्रचण्डले कहिल्यै गुनासो गरेको सुनिएन। बरु, ओलीको यस्तो व्यवहारबारे बरिष्ठ नेता माधव नेपाल आक्रोस पोख्थे। 

‘म भएको भए आफैँले कुर्सी सारेर भएपनि सँगै बस्थेँ’, नेपालले सार्वजनिक रुपमै भनेका थिए, ‘प्रचण्डजी त साह्रै सोझो हुनुहुँदो रहेछ।’ 

पार्टी एकताको मर्म विपरित त्यसबेला ओलीले अध्यक्षको स्थानबाट सचिवालय सदस्यतिर आफ्नो आसन सारिदिँदा समेत कुनै गुनासो नगरेका प्रचण्डले मंगलबार प्रधानमन्त्री देउवा आफ्नो निवास आउँदा आफैँ आफ्नो आसन परिवर्तन गरेर देउवाप्रति सम्मान प्रकट गरेका छन्। 

प्रचण्डले खुमलटारस्थित निवासमा भुइँतलाको देब्रेतिरको कोठालाई बैठक कोठाको रुपमा प्रयोग गर्दै आएका छन्। टेलिभिजनका लागि अन्तर्वार्ता दिँदा बाहेक त्यहाँ रहेको उनको आसन हत्पत्ति परिवर्तन हुने गर्दैन। 

बैठक कोठाको तीनतिर राखिएका सोफा आगन्तुकहरुका लागि छुट्ट्याइएको छ भने प्रचण्डका लागि छुट्टै सोझाको व्यवस्था छ। प्रचण्ड त्यही सोफामा बस्छन्। सोफाको दायाँ–बायाँ पार्टी र नेपालको राष्ट्रिय झण्डा राखिएको छ। सँगै बुद्धको तस्वीर पनि छ। 

तर, मंगलबार मध्यान्ह प्रधानमन्त्री देउवा एकाएक प्रचण्ड निवास पुगेपछि बैठक कोठाको आसन एकाएक परिवर्तन भयो। सोफाहरुको व्यवस्थापन पूर्ववत राखिँदा प्रधानमन्त्री देउवाप्रति असम्मान गरेजस्तो देखिने भएकाले प्रचण्डको सोफाको ‘लोकेसन’ परिवर्तन गरिएको थियो।  

यसअघि प्रचण्डले एक्लै सोफामा बसेर कुराकानी गर्ने गरेकामा आज देउवा र उनी आमनेसामने हुने गरी सोफाको व्यवस्थापन गरिएको थियो। देउवाको लहरमा  कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का थिए भने प्रचण्डसँग उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए।

‘सोफा पहिले जसरी राखिएको थियो, त्यसैगरी कुराकानी गर्दा प्रधानमन्त्रीप्रति असम्मान गरेको सन्देश जान्थ्यो’, स्रोतले भन्यो, ‘आफू बस्ने कुर्सीमा देउवालाई बसाउँदा पनि अप्ठेरो हुन्थ्यो। त्यसैले, सहज र स्वभाविक रुपमा आमनेसामने हुने गरी सोफाको व्यवस्थापन गरिएको हो।’  

प्रधानमन्त्री देउवा पुग्नु भन्दा एक घण्टा अघिमात्र प्रचण्ड बालुवाटारमा साढे एक घण्टा बिताएर खुमलटार फर्केका थिए। लगत्तै प्रचण्डपत्नी सीताप्रति स्वास्थ्य लाभको कामना गर्न देउवा पनि खुमलटार आइपुगेका थिए। 

खुमलटार पुग्नासाथ प्रधानमन्त्री देउवाले सबैभन्दा पहिले प्रचण्डपत्नी सीतालाई भेटे। निकै नाजुक स्वास्थ्य अवस्थामा देखिने सीता कान्छी छोरी गंगा र एकजना सहयोगीको साथमा बिछ्यौनामा थिइन्।  

प्रधानमन्त्री देउवा कोठामा प्रवेश गरेपछि ‘‘प्रधानमन्त्रीजी क्या, शेरबहादुरजी’ भन्दै प्रचण्डले सीतालाई देउवाको चिनारी गराएका थिए। त्यसपछि देउवा ‘राम्रै छ?’ भन्दै अघि बढे। सीताले नमस्कार फर्काइन्।  

प्रचण्डले प्रम देउवाको परिचय दिएपनि सीताले देउवालाई चिन्न सकिनन् सायद। आफूले देउवालाई चिन्न नसकेको संकेत उनले आफ्नो हात शीरमा राखेर गरिन्। त्यसपछि फेरि प्रचण्डले भने, ‘चिन्यौ नि तिमीले, शेरबहादुरजी...।’

त्यसपछि सीताले ‘चिनेँ’ भन्ने उत्तर दिइन्। तर, सीताले चिनेको कुरा देउवाले नबुझेको हुनसक्ने लख प्रचण्डले काटे। र, देउवालाई सुनाए, ‘उनले चिनेँ भनिन्।’ त्यसपछि प्रचण्डले थपे, ‘आरजु पनि आउनु हुन्छ।’ 

एक घण्टाअघि बालुवाटारमा भेटघाट भएका देउवा विरामी अवस्थामा रहेकी पत्नी सीतालाई भेट्न आएकामा प्रचण्ड निकै आभारी देखिए। स्वास्थ्यलाभको कामना गरेपछि प्रचण्डले देउवासँग भने, ‘यसरी भेटघाट गरेपछि यिनको मनोवल अलिक उठ्छ क्या।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .