ad ad

राजनीति


आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनबारे छलफलको तयारी

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान महाधिवेशनबारे छलफलको तयारी

नेपालखबर
साउन ५, २०७८ मंगलबार ८:५६,

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा मंगलबार दिउँसो ३ बजे बैठक बस्ने एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबार पनि एमालेको बैठक बसेको थियो। उक्त बैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। 

आजको बैठक भने २५ साउनदेखि सुरु हुने पार्टीको विधान महाधिवेशनमा केन्द्रीत हुने नेता तामाङले जानकारी दिए। ‘आजको बैठकमा विधान महाधिवेशनको विषयमा केन्द्रीत हुनेछ,’ तामाङले नेपालखबरसँग भने, ‘पार्टीको ह्वीप विपरित मतदान गर्ने एमालेका सांसदलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ, त्यस विषयमा आजको बैठकमा केही निर्णय हुँदैन।’  

सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि अझै सबैलाई पत्र पठाइ नसकिएको उनले बताए। ‘हामी सबैलाई पत्र पठाउने तयारी गरिरहेका छौँ,’ उनले भने।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा आइतबार विश्वासको मत लिँदा एमाले का वरिष्ठ नेता माधव नेपाल पक्षका १४ र अध्यक्ष केपी ओली पक्षका ८ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए। एमालेका १० सांसद भने पार्टी ह्वीप विपरित तटस्थ बसेका थिए।

सोमबारको केन्द्रीय कमिटी बैठकमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .