ad ad

राजनीति


प्रचण्डलाई 'सुरक्षा थ्रेट', डीएसपीको कमाण्डमा खटाइयो थप प्रहरी

प्रचण्डलाई 'सुरक्षा थ्रेट', डीएसपीको कमाण्डमा खटाइयो थप प्रहरी

नेपालखबर
साउन ४, २०७८ सोमबार १८:१७,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि 'सुरक्षा थ्रेट' बढेको भन्दै सरकारले डीएसपीको कमाण्डमा थप प्रहरी टोली खटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णयानुसार शनिबारदेखि नै प्रचण्डको सुरक्षामा थप प्रहरी खटाइएको हो। 

प्रचण्डका एकजना सहयोगीका अनुसार सरकारको निर्णयबाट शनिबारदेखि डीएसपीको कमाण्डमा थप प्रहरी खुमलटार आइसकेका छन्। ती प्रहरीले अब प्रचण्डको अगुवाका रुपमा सुरक्षा दिनेछन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५३ जनालाई फिर्ता गरेको थियो।

तर माओवादीको समेत समर्थनमा प्रधानमन्त्री बनेका देउवाले प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको निचोडसहित थप प्रहरी पठाएका हुन्। 'अगुवा गाडीका लागि डीएसपीसहितका प्रहरी गएका हुन्', स्रोतले भन्यो, 'ओली सरकारले अगुवा हटाएर पछुवा मात्रै राखिदिएको थियो। तर अब प्रचण्डलाई अगाडि पछाडि दुवैतिरबाट सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिनेछन्।'

एक सुरक्षा अधिकारीका अनुसार सरकारले अहिले सबैभन्दा धेरै सुरक्षा चुनौती प्रचण्डलाई रहेको निष्कर्ष निकालेको छ। त्यही अनुसार प्रहरीको टोली पठाइएको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले यसलाई नियमित प्रक्रियाका रुपमा लिनुपर्ने बताए। 

'कुन भिआईपीलाई सुरक्षा चुनौती बढ्यो, घट्यो भन्ने कुरा सरकारले विश्लेषण गर्छ', उनले भने, 'त्यही आधारमा सुरक्षा थप्ने घटाउने कुरा हुन्छ। यसलाई हामीले नियमित प्रक्रियाका रुपमा बुझ्दा हुन्छ।'

सरकारले आवश्यकता ठानेमा अन्य नेताहरुका लागि समेत सुरक्षा घटाउन बढाउन सक्ने कुवँरले बताए। यसअघि २०७७ फागुनमा तत्कालीन ओली सरकारले प्रचण्डको सुरक्षामा तैनाथ धेरैजसो नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाएपछि  प्रकाशचन्द्र पाण्डे नेतृत्वमा वाईसिएलका सात कार्यकर्ता खटिएका थिए। 

ओली सरकारले फिर्ता लैजानुअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ जना र सशस्त्र प्रहरीका इन्स्पेक्टरको कमाण्डमा ४७ जना परिचालित थिए। 

ओली सरकारले गत फागुनमा बहालवाला तथा पूर्व सरकारी पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ कार्यान्वयन गरेर सुरक्षाकर्मी कटौती गरेको थियो। त्यसबेला पूर्वप्रधानमन्त्रीलाई सुरक्षा दिन सशस्त्रका १६ र नेपाल प्रहरीका दुई जवान मात्रै खटाउने नियम ल्याएको थियो। सरकारको उक्त निर्णयपछि प्रचण्डको सुरक्षामा खटिएका ५३ प्रहरी फिर्ता भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .