ad ad

राजनीति


बालकोटमा ओलीले भने : बालुवाटार छाडेपछि आराम गर्न पाएँ, 'रिल्याक्स' भएको छ

बालकोटमा ओलीले भने : बालुवाटार छाडेपछि आराम गर्न पाएँ, 'रिल्याक्स' भएको छ

नेपालखबर
साउन २, २०७८ शनिबार १३:२०,

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेपछि आफूलाई आनन्द भएको बताएका छन्। आफूलाई भेट्न आएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, दलका नेता राजेन्द्र महतो र अर्का नेता शरदसिंह भण्डारीसहितसँगको संवादका क्रममा ओलीले यस्तो बताएका हुन्। 

जसपा भेटका क्रममा ओलीले सत्ताबाट बाहिरिएपछि आफूले आराम गर्न पाएको बताएका थिए। 'प्रधानमन्त्री पद छाडेर बालुवाटारबाट बाहिरिएपछि आराम गर्न पाएको छु। बालकोटमा आएर बस्दा 'रिल्याक्स' भएको छ, बहुत आनन्द आएको छ', ओलीको भनाइ उद्धृत गर्दै जसपा नेता शरदसिंह भण्डारीले नेपालखबरसँग भने, 'अब केही समय आराम गर्छु, त्यसपछि राजनीतिक छलफल र संवादलाई अघि बढाउँदै सक्रिय हुनेछु।'

करिब २० दिन सत्ता सहकार्य गरेका ओली र अध्यक्ष ठाकुरसहितका नेताबीचको भेटघाटलाई जसपाका नेताहरुले शिष्टाचार भनेका छन्। जसपा नेता भण्डारीले नेपालखबरसँग कुरा गर्दै आजको भेटघाटमा कुनै राजनीतिक कुराकानी नभएको  बताएका छन्।

नेता भण्डारीले प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिरिएपछि पहिलो पटक बालकोटमा संवाद भएको बताए। 'हाम्रा अध्यक्ष र दलका नेतासहित हामी एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट गएका हौँ', भण्डारीले अगाडि भने, 'त्यहाँ हामीबीच शिष्टाचार भेट भयो, हामीले उहाँको स्वास्थ्य अवस्थाबारे सोध्यौँ। उहाँले पनि हामीसँग राजनीतिक विषयभन्दा बाहिर रहेर संवाद गर्नु भयो।'

भेटका क्रममा हिजो एमाले सत्तामा हुँदा भएको सहकार्यलाई निरन्तरता दिनेबारे चाँडै अर्को बैठक बस्ने गरी विदा भएको भण्डारीले बताए। 'हिजोको सहकार्यलाई निरन्तरता दिनेबारे फेरि भेट गरेर छलफल अघि बढाउने कुरा भएको छ,' उनले अगाडि भने, 'दुवै पक्षबीच फेरि भेटेर राजनीतिक सहकार्य र संवादलाई अघि बढाउने गरी हामी उठ्यौँ।'

सहकार्य टुट्दैन : ठाकुर

जसपा नेताहरु लिएर बालकोट पुगेका अध्यक्ष ठाकुरले ओलीसँगको छलफलका क्रममा यसअघिको राजनीतिक साथ कायमै रहने बताएका छन्। स्रोतका अनुसार उनले ओलीलाई आफूहरु साथै रहेको बताउँदै अघि बढ्न आग्रह गरेका थिए। 'हामी साथमा छौँ, तपाईं अघि बढ्नुस्', ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'हामी अहिले नै तपाईंको साथ छाड्दैनौँ। सहकार्यलाई निरन्तरता दिन फेरि बसेर संवाद गरौँला।'

दुई पक्षबीचको संवादका क्रममा जनता समाजवादी पार्टी विभाजनबारे पनि कुरा भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार जसपा विभाजित भएर साविककै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी ब्यूँतिने सम्भावनाबारे पनि दुई पक्षबीच कुरा भएको छ। निर्वाचन आयोगमा हाल चलिरहेको जसपा दल विभाजनको कुरामा पनि दुई पक्षबीच छलफल भएको  बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .