ad ad

राजनीति


विघटित कार्यदल सदस्यको बैठक, गोकर्णले भने : एमाले एकता जोगाउने प्रयास गरिरहेका छौँ

विघटित कार्यदल सदस्यको बैठक, गोकर्णले भने : एमाले एकता जोगाउने प्रयास गरिरहेका छौँ

नेपालखबर
साउन २, २०७८ शनिबार १२:३०,

नेकपा एमालेले शुक्रबार विघटन गरिदिएको कार्यदलका सदस्यहरूबीच शनिबार छलफल भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरु सहभागी थिए। 

असार २७ मा भएको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा गठित कार्यदललाई विघटन गरिदिएको थियो। कार्यदल विघटन भइसकेपछि पनि एमालेको दोस्रो तहका नेताहरुले छलफललाई निरन्तरता दिएका हुन्। 

सिंहदरबारमा भएको अनौपचारिक छलफलपछि बाहिरिँदै नेपाल पक्षीय स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुवै पक्षको साझा सरोकार पार्टी एकता बचाउने रहेको टिप्पणी गरे। 'हामी सबैको गम्भीर सरोकार पार्टी एकता हो', उनले छलफलपछि पत्रकारहरुसँग भने, 'विघटित कार्यदलका नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो। म अहिले विगतका सबै कुरातिर फर्किन चाहन्न। सहमतिलाई नै आधार बनाएर  एकतालाई जोगाउने हाम्रो उद्देश्य हो।'

१० बुँदे सहमति अनुमोदन गरेर कार्यदल विघटन भए पनि एमालेभित्र जारी विवादले नयाँ रुप लिएको छ। प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओलीले अब एमालेमा वरिष्ठ नेता नेपाललाई कुनै ठाउँ नरहेको आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन्। 

तर दोस्रो पुस्ताका नेता भने एमाले एकता बचाउन भनेर जोड गरिरहेका छन्। 'एमालेलाई एकतावद्ध गर्ने कुरामा आमपार्टी पंक्ति चिन्तित छ। आम पार्टी पंक्ति, कार्यकर्ताको चिन्ता र सरोकारलाई ख्याल गरेर हामी केही स्थायी कमिटी सदस्य बसेका हौँ', विष्टले भने, 'हामीले हाम्रा प्रयत्नलाई अघि बढाउने कुरा स्वभाविक हो। कार्यकर्तामा देखिएको अन्योल र चिन्तालाई हटाउन पार्टी जोगाउँछौँ भनेर हामी बसेका हौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .