राजनीति


कांग्रेस महाधिवेशन : कहाँ पुग्यो क्रियाशील सदस्यता छानबिन?

कांग्रेस महाधिवेशन : कहाँ पुग्यो क्रियाशील सदस्यता छानबिन?

केशव सावद
काठमाडौँ, साउन १

सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आशन्न १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमै सम्पन्न गर्ने गरी छलफल अघि बढाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पूर्वनिर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी छलफल भएको छ।

यसअघि शुक्रबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पार्टीका तल्ला तहहरूको अधिवेशनको कार्यतालिका हेरफेर गर्ने बताइएको थियो। बैठकमा आशन्न महाधिवेशन समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको र कार्यतालिकामा कुनै हेरफेर नगरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए।

‘निर्धारित मितिमै महाधिवेशन गर्ने गरी छलफल भएको छ,’ बैठकपछि संयोजक लेखकले प्रेस बिफ्रिङका क्रममा भने।

कांग्रेसको आगामी साउन १२ गतेदेखि गाउँ कमिटीको अधिवेशन तय भएको छ।

महाधिवेशनको कार्यतालिकाअनुसार साउन १२ गते गाउँ र नगरपालिका अधिवेशन, साउन १६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन हुने छ। 

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुने तय भएको छ। केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने घोषणा भइसकेको छ।

क्रियाशील सदस्यता छानविन समितिले शुक्रबारसम्म सप्तरी र बारा बाहेकका ७५ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाइसकेको छ।

 ‘७५ जिल्लामा सदस्यता छानबिनमा प्रवेश गरिसकेका छौं। केही ठाउँमा निर्णय गर्न बाँकी छ। आज–भोलिमै निर्णय गरिसक्छौं,’ संयोजक लेखकले भने। 

उनले सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनको विषयमा विवाद देखिएका कारण क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया ढिलो भएको पनि बताए। संयोजक लेखकले सप्तरी र बारा जिल्लाबाट नवीकरण र वितरणका कागजातहरू समितिमा पुगिसकेका पनि जानकारी दिए । 

‘सप्तरी र बारामा आन्तरिक समायोजनको विषयमा विवाद थियो। नवीकरणको प्रक्रिया नै ढिलो गरी सुरु भयो,’ उनले भने, ‘कागजात आइसकेको छ। समितिको प्रतिवेदन दुवै जिल्लाको बाँकी कामका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्छौं।’

समिति संयोजक लेखकले एक–दुई दिनभित्रै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको पनि जानकारी दिए। 

‘समिति अन्तिम चरणमा प्रवेश गरिसकेको छ। अलमोस्ट सकिसकेको छ,’ उनले भने, ‘प्रतिवेदन बुझाउन समय मागेका छौं। प्रधानमन्त्रीज्यूको कार्यब्यतस्ता हेरेर भोलि–पर्सी प्रतिवेदन बुझाउँछौं।’

क्रियाशील सदस्यता छानबिन समितिका अनुसार अहिलेसम्म कांग्रेसका नयाँ र पुराना गरी आठ लाख ५३ हजार सदस्यको नाम ‘इन्ट्रि’ भइसकेको छ। समितिले विदेशस्थित जनसम्पर्क समितिबाट आउन बाँकी रहेका नामावलीसमेत गरेर झण्डै नौ लाख क्रियाशील सदस्य हुने पनि जानकारी दिएको छ। 

‘नौ लाखको संख्यामा सदस्य हुन्छन्। अन्तिम तालिका बनाउँदा थोरै थपघट होला,’ समिति संयोजक लेखकले भने।

बैठकमा पार्टीले गठन गरेको केन्द्रीय निर्वाचन समितिले मस्यौदा गरेको विषय, निर्वाचनका लागि गरेको तयारी र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा पनि छलफल भएको उनले बताए। 

लेखकका अनुसार सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका सदस्यहरूसँग छलफल गरेर निर्वाचनसँग सम्बन्धित निर्देशिकालाई अन्तिम रुप दिने निर्णय भएको छ। 

बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले अहिलेसम्म गरेका निर्णय र कार्यान्वयनका बारेमा पनि छलफल भएको बताइएको छ।

साउन १, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .