ad ad

राजनीति


प्रतिपक्षीका रूपमा कस्तो होला एमालेको भूमिका?

प्रतिपक्षीका रूपमा कस्तो होला एमालेको भूमिका?

मणि दाहाल
असार ३१, २०७८ बिहिबार ११:४२,

तीन वर्ष चार महिना २८ दिन सरकारको नेतृत्व गरेर बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक विपक्षी दलको नेताको जिम्मेवारीमा पुगेका छन्। 

२०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि नेकपा एमालेको संसदीय दलको नेता छानिएका ओली दोस्रो पटक सत्ताबाहिर पुगेका हुन्। 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच २०७३ साल असारमा नयाँ सत्ता गठबन्धन बनेपछि ओली प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए। 

प्रतिपक्षी दल बनेसँगै एमालेको भूमिका कस्तो होला भन्ने आम चासो देखिन थालेको छ। २०६२–०६३ को आन्दोलनपछि गैरराजनीतिक व्यक्तिको नेतृत्वमा बनेको सरकारबाहेक तेस्रो पटक मात्रै एमाले प्रतिपक्षमा बस्न लगेको हो। 

पहिलो पटक प्रतिपक्षी दलको नेता बन्दा ओली र एमालेका लागि राजनीतिक परिस्थिति अनुकूल थियो। भारतले लगाएको नाकाबन्दी सामना गर्नुका साथै चीनसँग पारवहन तथा यातायात सम्झौता गरेका कारण ओली सत्ता छाड्दा लोकप्रियताको शिखरमा थिए। 

तर, अहिले उनी सबै एजेन्डा गुमाएर निरीह अवस्थामा पुगेको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन्। 

‘त्यस समयमा ओलीको राजनीतिक कद उनको क्षमताभन्दा ठूलो बनेको थियो। भारतले गरेको नाकाबन्दीको समयमा ओलीले जुन अडान लिए, त्यसबाट त्यो अस्वभाविक रुपमा बढेको थियो,’ पोखरेलले भने, ‘अहिलेको अवस्थामा भने एजेन्डा पनि गुमाएर सत्ताच्युत भएको अवस्था हो। पद जोगाउन सम्झौता गर्दागर्दै ओलीको पहाडे राष्ट्रवाद र भारतविरुद्ध लिँदै आएको अडानको एजेन्डा गुम्यो।’

उनले नागरिकता विधेयक तथा जलस्रोत तथा अन्य विषयमा भारतप्रतिको नीतिका कारण ओलीले शक्ति गुमाएको बताए।

०७४ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो। ०७५ जेठमा दुई पार्टीबीच एकता भएपछि बनेको नेकपासँग संसदमा करिब दुई तिहाइ बहुमत थियो। नेकपा विभाजनपछि पनि एमाले सबैभन्दा ठूलो दल बनेको थियो। तर, अहिले एमाले पनि विभाजनको संघारमा पुगेको छ। 

प्रतिपक्षीका रुपमा ओली लोकतान्त्रिक र संवैधानिक सीमाभित्रबाट अघि बढ्ने लक्षण नदेखिएको खुला विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक डा. खगेन्द्र प्रसाईंले बताए।

‘सर्वोच्च अदालतमाथि गरेको टिप्पणी हेर्दा संसदभित्रको लोकतान्त्रिक वा संवैधानिक अभ्यासलाई स्वच्छ रुपले ग्रहण गरेर अघि बढ्छन् भन्ने ठाउँ देखिँदैन,’ प्रसाईंले नेपालखबरसँग भने, ‘तर, यो कुरा धेरै हदसम्म एमाले कस्तो अवस्थामा हुन्छ भन्ने कुराले निर्धारण गर्छ।’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्। बुधबार सरकारी निवास बालुवाटारबाट बालकोटस्थित घर फर्केका ओलीले नेपाललाई एमालेमा कुनै स्थान नभएको बताए। 

‘संख्याको रुपमा सानो भए पनि प्रभावशाली हिस्सा र कार्यकर्तामा हाराहारीको संख्या एकातिर रहने र नेकपा एमाले अर्कोतिर रहने अनि कांग्रेस र माओवादीको नेतृत्वको सरकारले चुनाव गराउने अवस्थामा एमालेको भविष्य संकटमा छ,’ प्रसाइँले भने, ‘कार्यकर्ताले दबाब दिएर एक बनाए भने वातावरण फरक हुन सक्छ। नत्र आगामी चुनावमा एमालेको अवस्था कमजोर हुने देखियो। पहिलो कुरा, पार्टीमा विवाद छ, दोस्रो एमाले सत्ताबाहिर छ। तेस्रो विषय भनेको सत्तामा बस्नेहरुले चुनावसम्मको गठबन्धन गर्ने विषयलाई अघि सारेका छन्।’

निवर्तमान प्रधानमन्त्री ओली देउवाको शपथ समारोहमा उपस्थित भएनन्। यसमार्फत उनले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना लागि स्वीकार्य नभएको जनाउ दिइसकेका छन्। 

जबकि विपक्षी दलको नेताको रुपमा देउवाको भूमिकाको सधैँ आलोचना हुँदै आएको थियो। ओली प्रधानमन्त्री हुँदा विपक्षी दलका नेता रहेका देउवामाथि भागबण्डामा सहभागी भएको र सरकारको गलत क्रियाकलापको आलोचना गर्न नसकेको आरोप लाग्दै आएको थियो। 

‘एमालेलाई सत्ताको धङधङीबाट बाहिर निस्कन केही समय लाग्ने देखिन्छ। एमाले विभाजनको संघारमा पुगेर फर्केको हो कि होइन, अझै स्पष्ट छैन,’ पोखरेलले भने, ‘प्रारम्भमा एमाले प्रतिपक्षीको भूमिकामा पनि अलमलमै होला। संख्याको हिसाबले पनि राम्रो अवस्थामा रहेको एमालेले पार्टीलाई एक बनाए सशक्त प्रतिपक्षी हुनसक्छ।’ 

पोखरेल एमालेको अहिलेको अवस्था लामै समय जानसक्ने सम्भावना रहेको बताउँछन्। 

‘नेपाल–खनाल पक्षले जुन उद्देश्यले गठबन्धन निर्माण गरेका थिए, त्यसको उदेश्य अहिले पुरा भएको छैन। संसद् बच्ने अवस्थामा मात्रै त्यो उदेश्य पुरा हुन्छ,’ पोखरेलले भने ‘ओलीले जे बोले, त्यसको कारण एकै स्थानमा आउने सम्भावना तत्काल देखिँदैन।’ 

प्रसाईंले पनि माधव नेपाल र उनीसँग निकट नेताहरु ओलीसँग जाने सम्भावना कम रहेको बताए।

संसदको बाँकी कार्यकालमा ओलीले अदालतको फैसलालाई राजनीतिक मुद्दा बनाउने देखिन्छ। यसको संकेत मंगलबार उनले राष्ट्रको नामका गरेको सम्बोधनमा पनि देखिन्थ्यो। सत्ताबाट बाहिरिनेबित्तिकै ओली युथ फोर्स पनि ब्युँताएका छन्। तर, ओलीको यो कदम उनको चरित्रअनुसार स्वभाविक भएको प्रसाईंको भनाइ छ।

‘हिजो सत्ता थियो, सत्ताको बलका आधारमा अघि बढ्नु भयो। सत्ता नभएको समयमा कुनै न कुनै बल चाहिने भयो,’ प्रसाईंले भने, ‘बलको आधारमा सत्तामा पुगेको मानिसले त्यही खोज्छ। सिद्धान्तवालाले सिद्धान्त खोज्छ, मसलवालाले मसल।’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले विपक्षी दलको नेताको रुपमा ओलीको भूमिका रचनात्मक हुने बताए।

‘एमालेले देउवालाई विश्वासको मत दिँदैन। विपक्षी दलको नेताहरुको रुपमा सशक्त भूमिका हुन्छ,’ भट्टराईले भने, ‘जनजीविकाको विषय र अन्य राजनीतिक एजेन्डालाई सशक्त रुपमा उठाउने काम हुन्छ। एमाले कमजोर प्रतिपक्ष हुँदैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .