ad ad

राजनीति


‘एमाले एकताको सुखद खबर आज सुनाउन सकेनौं’

‘एमाले एकताको सुखद खबर आज सुनाउन सकेनौं’

नेपालखबर
असार २६, २०७८ शनिबार १८:५२,

पार्टी एकताका लागि सहमतिको लगभग अन्तिम बिन्दुमा पुगिसकियो भनिरहेको एमाले कार्यदलको बैठकले शनिबार पनि निष्कर्ष निकाल्न सकेन।

अर्थ मन्त्रालय (सिंहदरबार) मा बसेको एमाले कार्यदलको बैठकमा पार्टी एकीकरणका लागि सकरात्मक छलफल भए तापनि केही विषयमा सहमति जुट्न नसकेको नेताहरूको भनाइ छ।

‘एमाले एकताको सुखद समाचार सुन्न देशभरिका पार्टी पंक्ति आतुर छ, समर्थक शुभचिन्तक पनि आतुर हुनुहुन्छ, सबैको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै एकताका लागि औपचारिक अनौपचारिक ढंगले लागिरहेका छौं,’ बैठकपछि कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘समस्या के थिए, ती समस्या कसरी समाधान गर्ने भन्ने सन्दर्भमा एकअर्काको मनोभाव बुझ्यौं, हामी सहमतिको अन्तिम अन्तिममा आइपुगेका छौं, तर आजै सुखद समाचार घोषणा गर्न सकेका छैनौं। भोलिको दिन आम पार्टी पंक्तिले अपेक्षा गरेर बसेको सन्देश सुनाउन सफल हुनेछौं।’

कार्यदलको बैठक बस्नुअघि आफ्ना वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्य सहमतिका लागि तयार पारिएको भनिएको मस्यौदा लिएर उनलाई भेट्न उनको निवास (कोटेश्वर) पुगेका थिए। भेटमा नेता नेपालले अहिले देउवालाई प्रधानमन्त्री बनाउनेगरी सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने र फैसला प्रभावित हुनेगरी कुनै काम गर्न नहुने बटमलाइनमा रहेर मात्र सहमति जुटाउन सुझाव दिएका थिए। 

उनीहरूसँग भेटपछि नेपालखबरसँग पनि वरिष्ठ नेता नेपालले यो बटमलाइनबाट दायाँबायाँ गर्न नसकिने बताएका थिए।

यो पनि : ​हाम्रो बटमलाइन– अदालतको फैसलालाई प्रभावित गर्ने काम र हस्ताक्षर फिर्ता गरिन्न: नेपाल

अदालतको फैसलालाई कसरी हेर्ने भन्ने विषयमै कार्यदलका सदस्यबीच एकमत छैन।

ओली समूहका कार्यदल सदस्य सकेसम्म हस्ताक्षर फिर्ता भएको राजनीतिक घोषणा सर्वोच्च अदालतको फैसला (सोमबार) अघि नै गराउने प्रयासमा छन्, तर नेपाल समूह यसमा सहमत देखिँदैन। 

अब नयाँ राजनीतिक घटनाक्रम विकास हुनुअघि एमाले नेताहरूसँग सहमतिका लागि आइतबार एक दिन बाँकी छ। आइतबार पार्टी एकताको सुखद समाचार सुनाउन सफल हुने दाबी नेता गोकर्ण विष्टले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .