नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई कोभिड १९ विरुद्धको खोप निशुल्कमा उपलब्ध गराउन सक्नु अत्यन्त खुशीको क्षण भएको बताएका छन् ।
ह्वाइट हाउसबाट कोरोना खोप दिने घोषणा गरेको केही समयपछि ट्विट गर्दै राजदूत बेरीले अमेरिकाले दिएको खोप १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने बताएका छन्।
‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निशुल्क उपलब्ध गराउँदैछ’ बेरीले लेखेका छन् ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।’
एक डोज मात्रै लगाउँदा हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई उपलब्ध गराउने भएको छ। शुक्रबार अमेरिकाले भुटानलाई मोर्डेनाको ५ लाख डोज र नेपाललाई जोनसन एन्ड जोनसनको कम्पनीको १५ लाख डोज खोप उपलब्ध गराउने जनाएको छ।
Shares
प्रतिक्रिया