ad ad

राजनीति


चीनले हतियार कहाँबाट खरिद गर्छ, कहाँ पठाउँछ?

चीनले हतियार कहाँबाट खरिद गर्छ, कहाँ पठाउँछ?

चिनियाँ राष्ट्रपति सी चिनफिङ


नेपालखबर
असार २२, २०७८ मंगलबार १७:१,

गत बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीमा प्रदर्शन गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र, ट्यांक, युद्धक विमान तथा समुद्री ड्रोनले चीनको बढ्दो सैन्य शक्ति र क्षमतालाई झल्काउँछ।

चीन लामो समयदेखि सबैभन्दा उन्नत सैन्य प्रविधि आयात र उत्पादन गर्ने दौडमा विश्वका प्रमुख राष्ट्रसँग लागि परेको छ। तर उसले आफ्नो विदेशी हतियारहरू कहाँबाट प्राप्त गर्छ, र आफ्नो हातहतियारहरू कहाँ पठाउँछ?

चीनका लागि हतियारको मुख्य आपूर्तिकर्ता 

चीनले बिस्तारै आफैंले सैन्य उपकरण निर्माण गर्न थालेको छ, तर अझै चीनले रुसबाट हतियारहरु प्राप्त गर्दछ। यो सहयोग सन् १९९० मा अन्त्य भएको शीतयुद्धदेखि नै जारी छ।

चीनले त्यसबेला खस्कँदै गइरहेको आफ्नो जनमुक्ति सेनालाई आधुनिकीकरण गर्ने अभियान सुरु गरेको थियो। सोही समयमा खाडीको युद्धमा अमेरिकाले शक्ति प्रदर्शन गरिरहेको थियो भने ताइवान र चीनबीच तनाव जारी थियो।

चीनले पश्चिमा राष्ट्रलाई नै आधुनिक हतियार र प्रविधिको स्रोत मान्दै आएको थियो। तर जब सन् १९८९ को तियानमेन स्क्वायरको घटनापछि अमेरिका र युरोपलेले चीनमाथि हतियार प्रतिबन्ध लगाए, अवस्था परिवर्तन भयो। 

त्यस लगत्तै रुस चीनको प्रभावकारी वैकल्पिक सहयोगी बन्यो। सन् १९९१ मा सोभियत संघको पतनपछि त्यहाँको हतियार उद्योग ओह्रालो लाग्दै थियो। तर चीनसँग सुरुवात भएको व्यापारले रूसलाई पुर्नउत्थान हुन सहयोग मिल्यो। त्यसपछि नै चीनले सन् १९९२ मा रुसबाट सुखोइ सु–२७ युद्धक विमान खरिद गरेको थियो।

-चीनले प्रयोग गर्ने रुसको युद्धक विमान सु–३५

गत डिसेम्बरमा सार्वजनिक भएको द स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिट्युट एसआईपीआरआईको अनुसन्धान अनुसार सन् २०१६ देखि २०२० को अवधिमा चीनले रुसबाट ७७ प्रतिशत हतियार आयात गरेको थियो।

सो अवधिमा चीनले रुसबाट निर्यात हुने १८ प्रतिशत हतियार प्राप्त गरेको थियो। जसले चीनलाई रुसको दोस्रो ठूलो हतियार निर्यातकर्ता बनायो। तर भारतले चीनभन्दा बढी हतियार रुसबाट खरिद गर्दै आएको छ।

अनुसन्धानअनुसार पछिल्लो पाँच वर्षमा चीनले पहिलेको पाँच वर्षभन्दा ४९ प्रतिशत बढी हतियार रुसबाट खरिद गरेको छ।

यतिबेला चीन र रुसले सैन्य र रणनीतिक मुद्दाहरुमा दोहोर्‍याउँदै सहकार्य गरिरहेका छन्। तर उनीहरुले सैन्य सहकार्यलाई सुधार गर्ने, संयुक्त युद्ध अभ्यासलाई वृद्धि गर्ने बताइरहँदा आफूहरु शीतयुद्धकालिन गठबन्धन नभएको बताउने गरेका छन्।

गत जुनमा दुवैले संयुक्त रुपमा भनेका थिए,‘हाम्रो सहकार्य शीतयुद्ध ताकाको जस्तो राजनीतिक र सैन्य गठबन्धन होइन।’

अन्य कहाँबाट चीनले हतियार ल्याउँछ?

युरोपियन महाद्वीपमा छरिएका अन्य धेरै देशहरूले चीनको सैन्य उपकरण आपूर्तिमा योगदान दिएका छन्।

रुसपछि चीनलाई हतियार बेच्ने देशहरु फ्रान्स र युक्रेन हुन्। सन् २०१६ देखि २०२० सम्म फ्रान्सबाट चीनले ९ दशमलब ७ प्रतिशत हतियार प्राप्त गर्दा युक्रेनबाट ६ दशमलब ३ प्रतिशत हतियार पायो।

सो अवधिमा युक्रेनको कुल निर्यातको ३६ प्रतिशत हतियार प्राप्त गरेको चीन युक्रेनी हतियारहरूको दोस्रो ठूलो आयातकर्ता थियो।

चीन स्विजरल्यान्डको पनि दोस्रो ठूलो हतियार आयातकर्ता हो। चीनले सन् २०१६ देखि २०२० सम्ममा स्वीजरल्यान्डको कुल निर्यातको १३ प्रतिशत हतियार खरिद गरेको थियो।

एसआईपीआरआईका अनुसार चीन सन् २०२० को विश्वकै छैठौं ठूलो हतियार आयातकर्ता मूलुक हो।

चीनले कस्ता किसिमका हतियार खरिद गर्छ?

इतिहासलाई हेर्दादेखि आजसम्म चीनले रुसबाट अधिकत मात्रामा हवाई रक्षा प्रणाली र युद्धक विमान खरिद गरेको छ।

अमेरिकी रक्षा विभागको प्रतिवेदनअनुसार चीनले रुसबाट सन् २०१६ मा २४ सु–३५एस युद्धक विमान खरिद गरेको थियो। हाल सबै विमान सेवामा छन्। सन् १९९० को मध्यदेखि हालसम्म चीनले १२ वटा किलो–क्लास अट्याक सबमरिन ‘पनडुब्बीहरु’ खरिद गरेको छ।

चीनले रुसबाट नौसेनाले प्रयोग गर्ने एके–१७६ बन्दुक र एमआई–८एमटी पनि खरिद गर्ने गरेको छ। एके–१७६ ले कम उचाईमा उडेका ड्रोन र विमानहरुलाई खसाउन मद्दत गर्दछ। त्यस्तै एमआई–८एमटी हेलिकप्टरले भने हतियारधारी विमानको काम गर्छ।

Is China's new ICBM a game changer in Asia Pacific? | ORF

पछिल्लो वर्षहरुमा भने चीनले रुसबाट एएल–३१ र डी–३० टर्बोफ्यान इन्जिनहरु धेरै संख्यामा खरिद गर्ने गरेको छ। यी इन्जिनहरु जडान गरेर चीनले आफ्नै लडाकु विमानहरु बनाउन थालेको छ।

फ्रान्सबाट पनि चीनले सयौं सैन्य हेलिकप्टरहरु पाएको छ। सन् १९८० देखि हालसम्म चीनले फ्रान्सका एएस५६५एस हेलिकप्टर खरिद गरिरहेको छ। चीनले जर्मनी, युत्रेन र बेलायतबाट पनि हजारौं डिजेल इन्जिन, ग्यास टर्बाइन र टर्बोफ्यानहरु आयात गरेको छ।

अमेरिकी राज्य विभागका अनुसार रुसले आफ्नो हतियारको क्षमतालाई बढाएको छ जसलाई चीनले खरिद गर्दछ। यस्ता हतियारमा एस–४०० हवाई रक्षा प्रणाली, सोभरमेनी–क्लास डिस्ट्रोयर जहाज तथा अत्याधुनिक क्रुज क्षेप्यास्त्र पर्दछन्।

के चीन मुख्य हतियार निर्यातकर्ता पनि हो?

एसआईपीआरआईको अनुसन्धानअनुसार चीनले विदेशी हतियारमा आफ्नो निर्भरता घटाएको छ र पछिल्ला बर्षहरूमा आफ्नो सैन्य उत्पादन क्षमताको विस्तार गरेको छ। 

सन् २०१७ को अनुसन्धानअनुसार अमेरिकापछि विश्वकै दोस्रो ठूलो हतियार निर्यातकर्ता देश चीन नै हो।

अनुसन्धानअनुसार सन् २०१५ देखि २०१९ सम्म चीन विश्वमा दोस्रो ठूलो हतियार उत्पादनकर्ता मूलुक हो।

चीन पहिले रुसी हतियारमा निर्भर थियो तर अहिले हतियार विकासको क्षेत्रमा उ रुस बराबरी अथवा रुसभन्दा अगाडि छ।

यसको अधिकांश कारण चीनको ठूलो बजेट हो। एसआईपीआरआईका अनुसार पछिल्लो २६ वर्षयता चीनले आफ्नो रक्षा बजेट हरेकवर्ष बढाइरहेको छ।

सन् २०२० मा चीनले आफ्नो रक्षा खर्चको लागि २५२ अर्ब अमेरिकी डलर छुट्याएको थियो। सोही वर्ष रुसको रक्षा बजेट ६१ दशमलब ७ अर्ब अमेरिकी डलर मात्र थियो।

चीनले कसलाई हतियार बेच्छ?

चीनले आफ्नो छिमेकीहरुलाई प्राथमिक हतियार आपूर्तिकर्ताको रुपमा सेवा दिँदै आएको छ। उसले एसियाली देशहरु पाकिस्तान, बंगलादेश र म्यान्मारमा हतियारहरु बेच्दै आएको छ।

सन् १९९१ यता पाकिस्तान चीनको मुख्य हतियार आयातकर्ता देश हो। चीनले अफ्रिकी देशसँग पनि सम्बन्ध विकास गरेको छ।

सन् २०१० देखि २०२० सम्म चीनले आफूले आपूर्ति गर्दै आएको हतियारमध्ये १९.१ प्रतिशत हतियार अफ्रिकामा बेचेको छ।

एसआईपीआरआईका अनुसार सन् २०१६ देखि २०२० सम्ममा चीनको कूल निर्यातमध्ये ३८ प्रतिशत हतियार पाकिस्तानले खरिद गरेको थियो। यस्तै १७ प्रतिशत हतियार बंगलादेशले खरिद गर्दा ८.२ प्रतिशत हतियार अल्जेरियाले खरिद गरेको थियो।

चीनको हतियार खरिदकर्र्ता देशहरु पनि अहिले बढ्न थालेका छन्। सन् २०१० देखि २०१४ सम्ममा चीनबाट ४० देशले हतियार खरिद गर्दथे भने २०१५ देखि २०१९ को अवधिमा सो संख्यामा वृद्धि भएको छ। अहिले चीनबाट ५३ देशले हतियार खरिद गर्दछन्।

-चीनले पाकिस्तानलाई बेचेको जेएफ–१७ थन्डर फाइटर जेट

सन् २०११ देखि चीन ड्रोन हतियारको प्रमुख निर्यातकर्ता हो। चीनबाटै अधिकाँश राष्ट्रले ड्रोन खरिद गर्दछन्। त्यसअघि अमेरिका, बेलायत र इजरायल ड्रोन हतियार व्यापारको अग्रपंक्तिमा थिए।

युनिभर्सिटी अफ पेनसिल्भेनिया र टेक्सस ए एन्ड एम युनिभर्सिटीको अनुसन्धान अनुसार सन् २०११ देखि २०१९ सम्ममा १८ देश प्रमुख ड्रोन हतियार खरिदकर्ता थिए।

१८ मध्ये ११ देशले भने चीनबाट यस्ता हतियार आयात गरेका थिए। साउदी अरेबिया, इजिप्ट तथा उज्बेकिस्तानले चीनबाट प्रमुख रुपमा यस्ता उपकरण खरिद गर्ने गरेका छन्।

सो अवधिमा अमेरिकाले फ्रान्सलाई मात्र ड्रोन बेच्न सकेको थियो। अब सन् २०२२ देखि २०२८ को अवधिमा चीनले पाकिस्तानलाई ८ वटा पनडुब्बी बेच्ने अपेक्षा गरिएको छ।

यी दुई राष्ट्रले संयुक्त रुपमा जेएफ–१९ युद्धक विमान, एन्टी ट्यांक क्षेप्यास्त्र, जमिनमा आधारित क्षेप्यास्त्र, क्षेप्यास्त्र जहाज, ट्यांक तथा अन्य हतियार उत्पादन गर्ने गरेका छन्।

चीनको हतियार उत्पादन गर्ने मुख्य कम्पनीहरु

एसआईपीआरआईका अनुसार सन् २०१९ मा विश्वका शीर्ष २५ हतियार निर्माणकर्ता कम्पनीमध्ये चार चिनियाँ थिए, जसले विश्वको पुरा हतियार विक्रीको १६ प्रतिशत ओगटेको थियो।

चिनियाँ जनमुक्ति सेनाको हतियारको प्राथमिक आपूर्तिकर्ता कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसन नोरिन्को हो। यस कम्पनीले जनमुक्ति सेनालाई ट्यांक, लामो दुरीमा आक्रमण गर्न सक्ने हतियार, हवाई रक्षा सामग्रीहरु प्रदान गर्दै आएको छ।

यस कम्पनीले नौसेना, हवाई सेना, रकेट फोर्स, रणनीतिक फोर्स तथा प्रहरीलाई प्राविधिक सहायता दिँदै आाएको छ।

यस्तै चीनको उड्डयन क्षेत्रमा एभियसन इन्डस्ट्री अफ चाइना एभिकको बर्चस्व छ। यसले युद्धक जहाज, युद्धक हेलिकप्टर, ड्रोन तथा सिभिल एयरक्राफ्टहरु बनाउँछ।

चाइना इलेक्ट्रोनिक्स टेक्नोजोली ग्रुप कर्पोरेसन सीइटीसी विद्युतीय सुरक्षा तथा देशको विभिन्न क्षेत्रको जानकारी राख्ने शक्तिशाली निगम हो। यसले संचार, नक्शा, यातायात, विद्युतीय खतराबारे जानकारी राख्दछ।

चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेसन सीएसजीसीले भने हल्का सवारीहरू, सवारी साधनहरू, र बन्दुकहरू उत्पादन गर्दछ।

यस्तै अन्य मुख्य हतियार उत्पादन गर्ने कम्पनीहरु चाइना एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसन, चाइना जनरल न्युक्लियर पावर ग्रुप, चाइना नेसनल न्युक्लियर कर्पोरेसन र चाइना स्टेस सिपबिल्डिङ कर्पोरेसन हुन् (एससीएमपीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .