शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। बुधबार सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भएपछि लामो समय बन्द भएका विद्यालय क्रमशः खुलेका हुन्।
विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरु भएको छ। विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन पनि सुरु भएको छ। शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने उनले बताए।
बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० सम्म नियमित भएको बताए। सो विद्यालयले प्रवेश परीक्षामार्फत ६०० नयाँ विद्यार्थी भर्ना गरेको छ। प्रवेश परीक्षामा २ हजार ७०० विद्यार्थी सहभागी भएका थिए।
‘हामी विद्यार्थी र अभिभावकप्रति जिम्मेवार छौँ, संवेदनशील पनि छौँ। सार्वजनिक बिदाको दिनमा पनि कक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रम समयमै सम्पन्न गर्छौँ,’ कँडेलले भने।
यसैगरी काठमाडौँ उपत्यकाका विभिन्न अन्य सामुदायिक विद्यालयमा पनि विद्यार्थी भर्नाको चहलपहल देख्न सकिन्थ्यो।
त्यस्तै, कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीको काम चलिरहेको र शनिबारसम्म सबै काम सम्पन्न हुने जनाएको छ। शिक्षकको आन्दोलनका कारण यही वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेको थियो।
विद्यार्थी भर्नाको चहलपहल हेर्नुहोस् तस्बिरहरूमा:
















Shares

प्रतिक्रिया