शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले १४ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।
शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरूले हरेक दिन माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गर्छन्।
तर, लामो समयदेखि विरोध प्रदर्शन गर्दासमेत सरकारले नसुनेको भन्दै शिक्षकहरू खिन्न छन्।
नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूमा सरकारप्रति आक्रोशसमेत बढ्दै गएको छ।
तर, आक्रोशित शिक्षकले संयमताका साथ प्रदर्शन गरिरहेका छन्।
उनीहरू सडकमा नाचगान गर्छन्, र सरकारलाई व्यंग्य गर्छन्।
मंगलबार शिक्षकहरूको प्रदर्शनस्थलमा पुग्दा व्यंग्यात्मक शैलीमा दोहोरी गीत गाइरहेका थिए। कतपय शिक्षक शिक्षिका नाचिरहेका थिए, कोही बाजा बजाइरहेका थिए भने थुप्रै दर्शक बनेर साथ दिइरहेका थिए।
शिक्षकहरू विरोध प्रदर्शनको यो तरिका मौलिक र प्रभावकारी देखिन्थ्यो।
शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरूका माग छन्।
सरकारबाट पटक—पटक धोका पाएको भन्दै शिक्षकहरुले तत्काल निर्णय नहुन्जेल र ऐन जारी नभएसम्म सडक नछाड्ने ढिपी कसेका छन्। उनीहरू कक्षा १२ को परीक्षामा सहभागी नहुने र कक्षा १० को उत्तरपुस्तिका समेत नजाँच्ने अडानमा छन्।
सरकारले पटक–पटक शिक्षकहरुलाई झुक्याउने, अल्मल्याउने र धोका दिने काम गरेको कारण अब सरकारलाई विश्वास गर्ने वातावरण नरहेको उनीहरुको भनाइ छ।

















Shares

प्रतिक्रिया