काठमाडौं उपत्यकाको जनसंख्या ६० लाखभन्दा माथि छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले प्रयोग गर्ने फुटपाथ नै हो। त्यही फुटपाथ पनि अतिक्रमणका लागि हानाथाप हुन्छ। दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि झन् कस्तो होला?
समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटी सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन्। देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो।
तर संघीय राजधानीको अवस्था त्यस्तो छैन। यहाँका फुटपाथमा पाइला पाइलामा अनगन्ती अवरोध छन्। खाल्डाखुल्डी, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन्। धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ। सडकमा भएका फुटपाथ पनि साँघुरा छन्। तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्ड्याइने र पोलदेखि हुलाकका पत्र मञ्जुषा समेत राखिएको देख्न सकिन्छ।
यी साँघुरा सडकमा रूख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ। फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने व्यवस्थापन हुन नसक्दा ढल सडकमै बहन्छ। हिँड्दाहिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन। त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटी भरिभराउ हुन्छन्, महानगरपालिकाले सडकपेटीमा राखिएका सवारीसाधन उठाएर त लान्छ तर कहिल्यै पार्किङ स्थलबारे सोच्न सकेको देखिँदैन। कतिपय सडकपेटीमै बालुवा, तार गिटी अर्थात् निर्माण सामग्री छरपस्ट हुन्छन्।
न्युज एजेन्सी नेपालले तयार पारेको फाेटाेफिचर :
Shares
प्रतिक्रिया