ad ad

विचार


सी चिनफिङ विचारधाराः ऐतिहासिक सन्दर्भ र समकालीन प्रासंगिकता

सी चिनफिङ विचारधाराः ऐतिहासिक सन्दर्भ र समकालीन प्रासंगिकता

डा. महेश मास्के
असोज १४, २०७६ मंगलबार ४:१६,

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव सी चिनफिङले समाजवाद विकासको निम्ति भएका विभिन्न कालखण्डका चिनियाँ अभ्यासबारे गहन विश्लेषण र संश्लेषण प्रस्तुत गर्नुभएको थियो। ती कालखण्डहरुका प्रधान अन्तरविरोध समाधान गर्ने क्रममा नै चिनियाँ विशेषताहरुसहितको समाजवाद विकसित भएको स्पष्ट पार्दै उहाँले भन्नु भएको थियो, ‘चीन अब एउटा नयाँ युगमा प्रवेश गरेको छ, असन्तुलित तथा अपर्याप्त विकास र उन्नत जीवनका लागि जनताको बढिरहेको आवश्यकता बीचको अन्तरविरोध यस नयाँ युगको अन्तरविरोध हुन पुगेको छ।’ त्यसलाई समाधान गर्न सीले आठ विशेषता र १४ आधारभूत नीतिहरुले बनेको ‘नयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवादको विचार’ अघि सार्नुभयो, जुन सर्वसम्मतिले चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा ‘सी चिनफिङ विचार’ का रुपमा प्रतिष्ठापित भयो।

त्यसैले सी चिनफिङ विचारलाई चिनियाँ समाजको नयाँ युगको नयाँ अन्तरविरोध समाधान गर्न सहयोग पुर्याउने समग्र निर्देशक विचार भन्न सकिन्छ। चिनियाँ इतिहासका विविध कालखण्डहरुका शिक्षाहरुलाई संग्रहीत र ग्रहण गर्दै सी चिनफिङ विचारले नयाँ चुनौतीहरुको समाधानका बाटा खोज्ने प्रयत्न गरेको देखिन्छ। तसर्थ, सीविचारको सार भनेको निरन्तरता पाईरहेका पुराना र विकासित भइरहेका नयाँहरुबीचको द्वन्द्वात्मक एकता र संघर्ष हो भन्ने मेरो बुझाई हो। त्यही प्रकृयाबाट अघि बढ्दै यसले समाजवाद निर्माणका लागि आफ्नै मार्ग पहिल्याउन प्रयत्नशील रहेका विश्वका अन्य देशहरुलाई केही उपयोगी अनुभवको योगदान दिन पनि सक्छ।

चिनियाँ समाजको विकासलाई बुझ्नका लागि कालखण्ड विभाजन एक महत्वपूर्ण अवधारणा हो। विद्वानहरु सहमत छन्– आधुनिक चीनको सबैभन्दा महत्वपूर्ण अवधी चीनको माक्र्सवादसँगको साक्षात्कारबाट सुरु हुन्छ, जब १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भयो। अरु राजनीतिक शक्तिहरुसँग प्रतिस्पर्धा गर्दै अन्ततः यो विजयी भयो र नयाँ जनवादी क्रान्तिको सफलता र जनवादी गणतन्त्र चीन स्थापनाको नेतृत्व ग¥यो। त्यस समयको अन्तरविरोध सामन्तवाद एवम् साम्राज्यवादको संयुक्त शक्ति र चिनियाँ जनताका बीचमा थियो, जुन नयाँ जनवादी क्रान्तिबाट समाधान गरियो। त्यसपछि पुरानो चिनियाँ समाजलाई सहकारिता र कम्युनहरुका माध्यमबाट समाजवादतर्फ रुपान्तरण गर्ने भीमकाय संरचनागत परिवर्तनका प्रयत्न भए। सांस्कृतिक क्रान्तिको अवधीमा अन्तरविरोधको चरित्र ‘विकासको बुर्जुवा बाटो र सर्वहारा बाटोका बीचमा रहेको द्वन्द्व’ भनि निक्र्यौल गरियो।

Xithought

त्यतिबेला कूल गार्हस्थ उत्पादन (जीडीपी) कम हुँदा पनि जनताको जीवनस्तर र जीवनको गुणस्तर सुधार गर्नमा चीन एक उदाहरण बनेको थियो। पछि, उत्पादक शक्तिको विकासमा देखा परेका जटिलता र सांस्कृतिक क्रान्तिको बेला ‘ग्याङ अफ फोर’ को उपनामले चिनिएका चार जनाको समूहले गरेका ज्यादतीहरुका परिप्रेक्ष्यमा चिनियाँ नेतृत्वहरुले विकासको दिशाबारे पुनर्विचार गरे र त्यसलाई आधुनिकीकरण तर्फ पुर्नउन्मुख गरे। माओ चतुङको निधनभन्दा केही वर्ष पहिले मात्रै तीब्र वैचारिक मन्थनका बीचबाट ‘चार आधुनिकीकरण’ को नीतिले मूर्त रुप लियो। १९२१ देखि १९७८ सम्मको उथलपुथलकारी कालखण्डलाई ‘उभिँदै गरेको युग’ (इरा अफ स्ट्यान्डिङ अप) भनियो, जसको केन्द्रमा अध्यक्ष माओ चतुङ र चिनियाँ यथार्थसँग माक्र्सवादको सार्वभौम सत्यलाई एकिकरण गर्ने विचारको रुपमा विकसित भएको ‘माओ चतुङ विचार’ रहे।

अर्को महत्वपूर्ण कालखण्ड १९७८ देखि २०१२ बीचको हो। यस अवधिको अन्तरविरोधको पहिचान गरियोः ‘चिनियाँ जनताको बढ्दो भौतिक र सांस्कृतिक आवश्यकता र पछौटे उत्पादक शक्ति।’ यस अवधिमा ‘खुल्लापन र सुधार‘ तथा ‘निर्यातमुखी समाजवादी बजार अर्थतन्त्र’ को माध्यमबाट उत्पादक शक्तिको विकास गरियो, जस मार्फत चीनले विस्मयकारी समृद्धि हासिल गर्यो। यो कालखण्ड ‘धनी बन्ने’ (गेटिङ रिच) अवधिका रुपमा परिचित भयो। यस कालखण्डलाई नेतृत्व गर्ने विचारधारालाई ‘तङ स्याओफिङ विचार’ भनियो र यस युगको केन्द्रमा सर्वाधिक महत्वपूर्ण नेता तङ स्याओफिङ रहनुभयो। तङलाई ‘चिनियाँ विशेषताहरुसहितको समाजवाद’ शब्दावलीका लागि पनि श्रेय दिइन्छ।

उत्पादक शक्तिहरुको विकासलाई प्राथमिकता दिइए अनुसार नै समुन्द्रीतटका शहरहरुलाई आर्थिक वृद्धिको केन्द्र बनाउँदै चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो। यसले करोडौं मानिसहरुलाई निरपेक्ष गरिबीबाट बाहिर ल्यायो, विज्ञान र प्रविधिमा तीब्र विकास गर्यो, विश्वको उत्पादनगृह बन्यो, खर्बौं डलरको विदेशी मुद्रा सञ्चिति ग¥यो र हरेक वर्ष औसतमा ९ दशमलव ५ प्रतिशतको वृद्धिदर कायम ग¥यो। १९९० को दशकमा समाजवादी क्रान्तिको पहिलो किल्ला सोभियत संघ ढलेको र कम्युनिस्ट पार्टीलाई सत्ताबाट बाहिर पु¥याइएको अवस्थामा पनि चीन निरन्तर समृद्ध भइरह्यो।

तथापी समाजवादी शिविरको यो संकटले चिनियाँ नेतृत्वलाई आफ्नै अस्तित्व कायम राख्ने रणनीतिबारे पुनर्विचार गर्न चुनौती दियो। चीनले राष्ट्रपति चियाङ चमिनको नेतृत्वमा ‘तीन प्रतिनिधित्वको सिद्धान्त’ (थ्योरी अफ थ्री रिप्रिजेन्ट्स्) विकास ग¥यो, जसले राज्यको रेखदेखमा नीजि क्षेत्रलाई प्रोत्साहन दिँदै समाजवादी विकासको चिनियाँ बाटोमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई दृढताका साथ अघि बढायो। ‘कम्युनिस्ट पार्टी अग्रगामी उत्पादक शक्तिको प्रतिनिधि, अग्रगामी संस्कृतिको प्रतिनिधि र बहुसंख्यक चिनियाँ जनताको प्रतिनिधि हुनैपर्दछ’ भन्ने यसको जोड रह्यो।

यस सहस्राब्दीको पहिलो दशकदेखि भने ‘धनी बन्ने’ नीतिका केही नकारात्मक पक्षहरु देखा पर्न थाले। ग्रामीण श्रमिकहरुको ठूला शहरहरुमा बसाइसराइले उत्पन्न समस्या, धनी र गरिबबीचको खाडल बढाउँदै अर्बपतिहरुको संख्यामा अत्यधिक वृद्धि, ग्रामीण अर्थतन्त्रको संकुचनले बढेको शहर–गाउँबीचको खाडल आदि। वातावरणीय प्रदूषण, क्षयीकरण र भ्रष्टाचार पनि उल्लेख्य देखिन थाले। अर्कोतर्फ, अमेरिका, युरोपेली संघ र जापान जस्ता विश्वव्यापीकरण र नवउदार अर्थतन्त्रका केन्द्रहरु आर्थिक मन्दीबाट गुज्रिरहेका थिए र निर्यातमुखि चिनियाँ अर्थतन्त्र यस मन्दिको भासमा फस्ने खतरा थियो। यी समस्याको सामना गर्न राष्ट्रपति हु जिन्ताओको नेतृत्वमा ‘विकासप्रति वैज्ञानिक दृष्टिकोण’ (साइन्टिफिक आउटलुक अन डेभ्लप्मेन्ट) को अवधारणा आयो, जसले ‘आर्थिक विकास’ मा मात्र जोड दिनुको साटो ‘समग्र विकास’ मा जोड दिँदै ‘समाजवादी सामन्जस्यपूर्ण समाज’ को लक्ष्य अपनायो। यस अवधारणाले चीनलाई विश्वव्यापीकरणको संकटका बेला पनि स्पष्टताका साथ अघि बढ्न सघायो तर असन्तुलित विकास, भ्रष्टाचार, वातावरणीय क्षयीकरण, धनी–गरिब र गाउँ–शहर बीचको खाडल चाहिँ विकराल समस्या बन्न थाले।

सी चिनफिङ कम्युनिस्ट पार्टी र जनवादी गणतन्त्र चीनको सर्वोच्च नेताका रुपमा आएसँगै यस्ता भयाबह हुँदै गएका समस्याहरुको सामना गर्न नयाँ नीतिहरु र प्रभावकारी सुशासनका अवधारणाहरु विकास गरिए। ‘चीनको शासन’ नामक दुई भागमा संकलित पुस्तकमा सीका प्रायः ती सबै अन्तर्दृष्टिपूर्ण प्रवचनहरु छन्, जसले चीनलाई आधुनिक, समृद्ध, शक्तिशाली, जनवादी, सांस्कृतिक रुपमा अग्रगामी, सद्भावपूर्ण र सुन्दर समाजवादी मुुलुक बनाउने उद्देश्यसहित राष्ट्रिय कायाकल्पको चिनियाँ सपनालाई मूर्तता दिन्छन्। ‘चिनियाँ समाज परिवर्तित प्रधान अन्तरविरोधसहित नयाँ युगमा प्रवेश गरेको छ’ भन्ने कुरा पहिचान गरिनु एउटा महत्वपूर्ण कदम थियो। त्यसैले सी चिनफिङ विचार असन्तुलित तथा अपर्याप्त विकास र उन्नत जीवनका लागि जनताको बढ्दो आवश्यकताका बीचको वर्तमान अन्तरविरोधलाई हल गर्न कटिवद्ध निर्देशक सिद्धान्त, नीति तथा रणनीतिको एक संग्रहको रुपमा विकसित भएको देखिन्छ। यसले २०४९ सम्म अर्थात् जनवादी गणतन्त्र चीन स्थापना भएको एक शताब्दी पुग्दा सबै क्षेत्रमा मध्यम तहको समृद्ध समाज र एउटा आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्य प्राप्ती गर्ने अभिष्ट राखेको छ।

Xithought5

राष्ट्रपति सी चिनफिङद्वारा अघि सारिएका १४ वटा आधारभूत नीतिहरु यसप्रकार छन्ः
१. सम्पूर्ण काममा पार्टी नेतृत्वको सुनिश्चितता
२. जनताकेन्द्रित अवधारणाको निरन्तरता
३. सुधारको समग्र गहिराइको निरन्तरता
४. खुल्ला, मौलिक, हरित अर्थतन्त्र र समाजवादी वितरणसहितको विकासको नयाँ अवधारणाको अवलम्बन
५. जनताद्वारा राष्ट्र सञ्चालन
६. कानुनी शासनमार्फत चीनको शासन
७. समाजवादी अहम मूल्यहरु, माक्र्सवादको प्रवद्र्धन, साम्यवादी आदर्श र चिनियाँ विशेषताहरुसहितको समाजवादको अभ्यास
८. विकासमार्फत जीवनस्तरको बढोत्तरी र सुनिश्चितता
९. मानव र प्रकृतिबीचको सद्भाव सुनिश्चितता
१०. राष्ट्रिय सुरक्षाका लागि समग्र अवधारणा अवलम्बन
११. चीनको सशस्त्र बलमाथि पार्टीको पूर्ण पकड
१२. एक मुलुक दुई प्रणालीको अवलम्बन र राष्ट्रिय पुनःएकीकरणको प्रवद्र्धन
१३. मानव जातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण प्रवद्र्धन
१४. पार्टीमाथि पूर्ण र कठोर सुशासन

यदि हामीले हालको पञ्चवर्षीय योजना र नयाँ परियोजनाहरु हे¥यौँ भने हामी यी सबै आधारभूत नीतिहरु चिनियाँ समाजका ठोस व्यवहारमा अनुवाद भइरहेको देख्न सक्छौँ। चीनभित्र नयाँ प्रकारको शहरीकरण र ग्रामोदयले गाउँ–शहरको खाडललाई कम गराइरहेको छ, आप्रवासी कामदारहरु ठूला शहरहरुबाट उल्लेख्य संख्यामा तिनीहरुको आफ्नो घर वा घर नजिकको शहरमा फिर्ता भइरहेका छन्। वातावरणीय कानुनहरु कडा रुपमा लागू गरिएका छन्। समाजवादका अहम् मूल्यहरु तथा समाजवादी वितरणका बारेमा छलफलहरुले प्राथमिकता पाइरहेका छन्। राष्ट्रिय कायाकल्पको चिनियाँ सपनाले गति लिरहेको छ। धेरै दशकसम्म चीनमा लोकप्रिय कथन थियो– ‘आफने शक्ति नदेखाऊ, समयको प्रतीक्षा गर!’ अब चीनमा यो समय आइसकेको देखिन्छ र ऊ आफ्ना न्यायोचित अधिकारहरुका लागि सक्रिय भइरहेको छ। त्यसैले चीनको यो नयाँ युग ‘बलशाली बन्दै गरेको’ (गेटिङ स्ट्रोङ्गर) युगको रुपमा पनि चिनिन थालेको छ।

यदि हामीले इतिहासको प्रगतिशील गतिलाई हेगेलीय त्रिक (ट्रायड) अर्थात वाद (थेसिस), प्रतिवाद (एन्टि थेसिस) र संश्लेषण (सिन्थेसिस) का आधारमा हे¥यौँ भने माओ युगका नीतिहरुलाई वाद, तङ युगका नीतिहरुलाई प्रतिवाद र सी युगका नीतिहरुलाई संश्लेषण मान्न सकिएला, जसले समाजिक विकासको अझ उच्च तहमा पुग्नका लागि अघिल्ला दुबै युगका नकारात्मक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्नका साथै यिनका विरासतलाई अघि बढाउने यत्न गर्दछ।

१४ बुँदाहरुमध्ये एउटामा ‘साझा भविष्यसहितको समुदाय निर्माण’ को आह्वान गरिएको छ, जसले विश्वका ती समुदायलाई आकर्षित गरेको देखिन्छ, जो सामाजिक न्यायबाट प्रेरित भएर आफ्नै तरिकाबाट समाजवाद वा लोककल्याणकारी राज्य निर्माण गर्न लागि परेका छन्। यस बुँदाबारे राष्ट्रपति सीले भन्नुभएको छः ‘चिनियाँ जनताको सपना अरु मुलुकहरुका जनताको सपनासँग घनिष्ट रुपमा जोडिएको छ, चिनियाँ सपना शन्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण र स्थायी अन्तर्राष्ट्रिय व्यवस्थाको मातहतमा मात्र पूरा हुन सक्छ।’

यस्तो आह्वानले न्यायमा आधारित, साझा हित र सम–विजयी (विन विन) सहकार्यका आधारमा नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको परिकल्पना गर्दछ। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीनको एक यस्तो ‘सिग्नेचर’ पहल हो, जसले वर्तमान अन्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थालाई विकल्प दिने क्षमता राख्दछ। यद्यपी यो कुरा पनि प्रष्ट छ कि केही प्रमुख राष्ट्रहरु चीनको शान्तिपूर्ण उदयलाई शान्तिपूर्ण रुपमा स्वीकार गर्न तयार देखिँदैन्न। व्यापार युद्ध र बीआरआईलाई बद्नाम गर्न ‘ऋण–पासो’ का आरोपका प्रयत्न यस किसिमका उदाहरण हुन्। तर, एकपटक अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भन्नुभएको थियो, ‘तिमीले सबै मानिसलाई केही समयका लागि मूर्ख बनाउन सक्छौ र केही मानिसलाई सधैँभरिका लागि पनि मूर्ख बनाउन सक्छौ। तर, तिमीले सबै मानिसहरुलाई सधैँभरिका लागि मूर्ख बनाउन सक्दैनौ।’ हालै जी–७ मुलुक इटालीको बीआरआईमा सहभागी हुने निर्णयले पश्चिमाहरुको त्यस प्रकारको असफलता झल्किएको छ। यदि नेपाल र चीनले पारस्परिक लाभ र सहकार्यका परियोजना बनाएर अघि बढेमा नेपालले बीआरआईबाट लाभ लिन सक्ने प्रचुर सम्भाव्यता छ।

नेपालले पनि समाजवादउन्मुख विकासको आफ्नै बाटो खोजिरहेको छ। नेपाल त्यस्तो भूमि हो, जहाँ प्रमुख शैविक, बोन, वैदिक र बौद्ध दर्शन, संस्कृति र सभ्यता, कला र शील्प विकास भए वा फैलिए। हाम्रो प्राचीन ज्ञान र मान्यताले ‘बसुदैव कुटुम्बकम्’ अर्थात् सपूर्ण विश्वलाई एउटा परिवारका रुपमा हेर्न प्रेरित गर्दछ। शान्ति, समृद्धि र सुखको नेपाली सपना साकार बनाउन र आधुनिकीकरणलाई समृद्ध बनाउन आफनो प्राचीन गौरवलाई पुर्नजागृत गराउन चाहन्छ। यस परिप्रेक्ष्यमा समकालीन नेपालमा सी चिनफिङ विचारधाराको सान्दर्भिकतालाई मेरो विचारमा निम्न आठ बुँदामा सारांश निकाल्न सकिन्छः

१. नेपाली विशेषताहरुसहितको समाजवादउन्मुख विकासको बाटोमा हिँड्नका लागि नेपालले माक्र्सवादको विश्वव्यापी सच्चाइ र साम्यवादका आदर्शहरुलाई नेपाली समाजको ठोस व्यवहारसँग एकिकृत गर्न सक्नु पर्छ।

२. समयसान्दर्भिक प्राचीन ज्ञानलाई आधुनिक समाजवाद उन्मुख आकांक्षाहरुसँग समायोजन गर्नुपर्छ र शोषणमुखी परम्पराहरुको अन्त्य गर्नुपर्छ।

३. जनता इतिहासका निर्माता हुनुका साथै शासनका निर्णायक शक्ति हुन्। नेपाल कम्युनिस्ट पार्टीले जनताको विश्वास जित्नका लागि गम्भीर प्रयास गर्नुपर्छ र तिनीहरुप्रति उत्तरदायी हुनुपर्छ। यदि भ्रष्टाचार नियन्त्रण गर्न, जनमुखी नीति लिन र जनताको सेवा गर्न असफल भएमा नेपाल कम्युनिस्ट पार्टी आफ्नो ऐतिहासिक दायित्व निर्वाह गर्न असफल हुनेछ।

४. नेपालले आर्थिक–सामाजिक विकासको सन्तुलित र एकीकृत पर्यावरण–मैत्री रणनीति अवलम्बन गर्नुपर्दछ, जुन समग्र, हरित, मौलिक, समाजवादउन्मुख न्यायपूर्ण र वितरणमुखी हुन्छ। यसबारे चीनको नयाँ प्रकारको शहरीकरण र ग्रामोदयबाट सिक्न सकिन्छ।

५. प्रतिनिधित्वमूलक लोकतन्त्र चाहे समानुपातिक वा समावेशी होस्, एक्लै मात्र पर्याप्त नहुन सक्छ। सहभागितामुलक परामर्शयुक्त लोकतन्त्रको बोध हुनु पनि आवश्यक छ, जसले गाउँदेखि केन्द्रीय सदनसम्म जनतालाई निरन्तर रुपमा सहभागी गराउँछ।

६. बजार अर्थतन्त्रलाई समाजवाद उन्मुख संरचनाभित्र राख्नका लागि राज्य पर्याप्त मात्रामा बलियो हुनुपर्छ। नीजि क्षेत्रले राज्यको मार्गदर्शनमा रही सार्वजनिक क्षेत्रलाई सघाउने गरी काम गर्नुपर्छ।

७. उत्पादक शक्ति वृद्धिका लागि विज्ञान तथा प्रविधि, अनुसन्धान र विकास निर्णायक साधन हुन्। राज्यले वैज्ञानिक, प्राज्ञिक, प्रविधिज्ञ, अनुसन्धानकर्ता र बुद्धिजीवीहरुलाई सघाउने वातावरण सुनिश्चित गर्नुपर्छ।

८. शान्ति, समृद्धि र सुखको नेपाली सपना अरु मुलुकका जनताका त्यस्तै प्रकारको सपनासँग घनिष्ट रुपमा जोडिएको छ। त्यसैले नेपालले शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण बनाउन खासगरी छिमेकी मुलुकहरुसँग आफ्नो कुटनीतिक पहल बढाउनुपर्छ।

यी मध्ये केही निकर्ष एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका अरु विकासशील मुलुकहरुका लागि पनि सान्दर्भिक हुन सक्छन्। विश्व पुँजीवादका घेराबन्दीबीच झण्डै एक्लो जस्तो समाजवादको मर्म बचाउँदै साम्यवादको यात्रामा हिँड्ने कठीन र चुनौतिपूर्ण अभिभारा चीनले कसरी वहन गरिरहेको छ भनेर विश्वले हेरिरहेको छ। राष्ट्रपति सी चिनफिङले यसै वर्ष आन्तरिक तथा बाह्य दुबै जटिलतामाथि विजय प्राप्त गर्न एउटा नयाँ लामो यात्रा (लङ मार्च) का लागि आह्वान गर्नुभएको छ। मेरो ठम्याईमा यो एउटा यस्तो इतिहास निर्माणको प्रयत्न हो, जुन विश्वले यसअघि कहिल्यै देखेको थिएन।

(जनवादी गणतत्र चीनका लागि नेपालका पूर्वराजदूत डा. महेश मास्केले चीन अध्ययन केन्द्रद्वारा असोज ८ गते काठमाडौँमा आयोजित ‘सी चिङफिङ थटः बिल्डिङ अ कम्युनिटी विथ अ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ शीर्षक गोष्ठीमा प्रस्तुत गरेको कार्यपत्रको नेपाली अनुवाद।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .