ad ad

विचार


‘प्रधान’ मन्त्री बनेसँगै दिल्लीमा अमितको उदय

‘प्रधान’ मन्त्री बनेसँगै दिल्लीमा अमितको उदय

विष्णु रिजाल
असार ३, २०७६ मंगलबार ६:३४,

भारतमा सन् २०१४ को सोह्रौं लोकसभा निर्वाचनअघि अमित अनिलचन्द्र शाहको परिचय गुजरातमा सीमित थियो। जब १० वर्षदेखि सत्तामा बसिरहेको भारतीय राष्ट्रिय कंग्रेसलाई सत्ताबाट हटाउन सबैभन्दा निर्णायक मानिएको उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) को इन्चार्ज (प्रभारी) को जिम्मेवारी दिइयो, तब उनी राजनीतिको केन्द्रमा चम्किन थाले। नभन्दै ८० लोकसभा सदस्य निर्वाचित हुने उत्तर प्रदेशबाट भाजपालाई ७२ सिटमा जिताएर अमित शाहले भारतमा नयाँ इतिहास मात्र रचेनन्, आफ्नो भाग्यको रेखा आफैं कोरे।

निर्वाचनमा भाजपाले सफलता पाएपछि गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बने भने उनकै प्रदेश मन्त्रिपरिषद्का विवादास्पद गृहमन्त्री अमित शाह भाजपा अध्यक्ष। तत्कालीन अध्यक्ष राजनाथ सिंह गृहमन्त्री बनेपछि पार्टी अध्यक्ष बनेका शाहले ६–दिनदयाल मार्गमा भाजपाको भव्य भवन मात्र बनाएनन्, अहिलेसम्मका अध्यक्षहरुमध्ये सबैभन्दा प्रभावकारी रुपमा आफूलाई स्थापित गरे।

यसपटकको निर्वाचनबाट भाजपालाई दोहो¥याएर ऐतिहासिक सफलता दिलाउने मुख्य श्रेय प्रधानमन्त्री मोदीलाई जाने नै भयो, त्यसका सबभन्दा ठूला हिस्सेदार अमित शाह मानिन्छन्। त्यही भएर होला, उनी यसपटक मोदीको मन्त्रिपरिषदमा रोजेको गृहमन्त्रालयसहित भित्रिएका छन्, त्यो पनि उत्तराधिकारीको प्रष्ट संकेत दिने गरी।

अमित शाह गृहमन्त्री बनेसँगै यसअघिका गृहमन्त्री राजनाथ सिंह रक्षामा सारिनुलाई सामान्य मन्त्रालय परिवर्तनका रुपमा मात्र हेरिएको छैन। मर्यादाक्रमका हिसाबले मोदीपछि सिंहको नाम भए पनि सबैलाई थाहा छ, तेस्रो नम्बरमा राखिएका शाह नै मोदीका ‘प्रधान’ मन्त्री हुन्। जानकारहरुले पहिल्यैदेखि विश्वास नलाग्ने गरी आँकलन गरिरहेका थिए– मोदीले शाहलाई उत्तराधिकारी बनाउनेछन्। अहिलेका गतिविधिहरूले त्यसलाई पुष्टी गर्दै गएका छन्।

प्रधानमन्त्री मोदीले बनाएका क्याबिनेट कमिटीहरुलाई उदाहरणका रुपमा लिन सकिन्छ। भारतमा सबै विषयमा क्याबिनेटमा छलफल गर्न सम्भव हुँदैन, अन्तिम निर्णय लिनका लागि आठवटा क्याबिनेट कमिटी बनाइएका छन्। अघिल्लो कार्यकालमा मोदीले छ वटा कमिटी आफ्नो नेतृत्वमा राखेर दुईवटा आफूपछिको बरियताका गृहमन्त्री राजनाथ सिंहलाई दिएका थिए। यसपटक चाहिँ सिंहको जिम्मेवारी खोसेर दुई कमिटीको नेतृत्व शाहलाई दिइएको छ। त्यति मात्र होइन, आठवटै क्याबिनेट कमिटीमा पर्ने शाह एक मात्र मन्त्री बनेका छन्। बरिष्ठ मन्त्री सिंहलाई दुईवटा कमिटीको सदस्यमा सीमित गरिएको छ।amit2

मोदी–शाह जोडीले भाजपालाई पूर्ण रुपमा आफ्नो पकडमा लिएको छ। पहिलेभन्दा यसपटक फरक के छ भने मोदीसँग अलिकति फरक मत राख्ने सबै नेताहरु पाखा लगाइएका छन्। मन्त्रिपरिषदबाट सुष्मा स्वराजको बहिर्गमन मोदीको बाटो सफा गर्ने अभियानकै एक अंग मानिन्छ। पार्टीलाई विगतमा नेतृत्व गरिसकेका र भाजपा स्थापनादेखि नै शीर्ष स्थानमा रहँदै आएका लालकृष्ण अडवाणी र मुरलीमनोहर जोशी जस्ता नेतालाई निर्वाचन लड्छौ कि भनेर सोध्न समेत आवश्यक ठानिएन।

पार्टीभित्र मोदीका पक्षमा नहरेका तीन मुख्यमन्त्रीहरु केही समयअघि प्रदेश निर्वाचनमा नराम्रो पराजय ब्यहोरेपछि थप कमजोर भएका छन्। छत्तीसगढका डा. रमण सिंह, राजस्थानकी बसुन्धराराजे सिन्धिया र मध्य प्रदेशका शिवराजसिंह चौहान चुनावबाट सत्ता गुमेपछि पार्टी कार्यालयको चक्कर लगाउनै सीमित छन्।

भाजपाले दोस्रो पटक यति धेरै मत हासिल गर्नुमा हिन्दू मतदाताहरुलाई गरेको आकर्षणले काम गरेको छ। मोदीले भारतलाई धर्मका आधारमा सक्दो विभाजित गर्ने कोसिस गरिरहेका छन्। र, त्यस क्रममा सबभन्दा ठूला सहयोगी देखिएका छन्, अमित शाह। मोदी जे सोच्छन्, शाहको सोचाइ पनि त्यही देखिन्छ। मोदी जसरी बोल्छन्, शाह पनि त्यस्तै आक्रामक छन्। मोदीको पृष्ठभूमि जसरी मुस्लिम विरोधी छ, शाह पनि यस्तै काण्डमा परिसकेका व्यक्ति हुन्। मोदीको राजनीति जसरी स्वयमसेवक संघ (आरएसएस) बाट सुरु भएको हो, शाह पनि त्यसैका उत्पादन हुन्। यी सबै कारणहरुले उनीहरुको रसायन (केमेस्ट्री) यति मिलेको छ, जुन विगतमा अटलविहारी बाजपेयी र लालकृष्ण आडवाणीका बीचमा थियो। amit3

तीन वर्षअघि उत्तर प्रदेशमा योगी आदित्यनाथलाई मुख्यमन्त्रीमा चयन गरिएपछि भारतीय राजनीतिको ध्यान उनीतिर सोझिएको थियो। धर्मका आधारमा राजनीति अघि बढाइएका कारण २०१९ मा मोदीको विकल्पमा अघि सार्ने गरी आदित्यनाथलाई रोजिएको भन्ने तर्कमा दम थिएन भन्न सकिन्न। तीनपटक लगातार लोकसभा सदस्य निर्वाचित भइसकेका, पारिवारिक लोभ–मोहबाट मुक्त र प्रशस्त उमेर भएका कारण आदित्यनाथलाई मोदीका उत्तराधिकारीका रुपमा हेर्नेहरुको कमी थिएन। तर, तीन वर्षका बीचमा आदित्यनाथले उत्कृष्ट कार्यसम्पादन गर्न सकेको अनुभूति हुन सकेन। सम्भवतः यही कारणले पनि उनीबाट दिल्लीको राजनीतिक नजर अमित शाहतिर सरेको छ।

अमित शाहलाई गृहमन्त्री बनाउनुका पछाडि अर्को महत्वपूर्ण कारणले काम गरेको छ। मोदीले सन् ०१४ मा गुजरात मोडलको बेलुन उडाएर निर्वाचन जितेका थिए भने यसपटक पाकिस्तानी आतंकावादीमाथिको सर्जिकल स्ट्राइकको साहरामा राष्ट्रवादी भावनाको फाइदा उठाएका छन्। अब उनीसँग सन् ०२४ को निर्वाचनका लागि धर्म मात्रै बाँकी छ। त्यसका लागि अयोध्यामा सन् १९९२ डिसेम्बर ६ का दिन बाबरी मस्जिद भत्काइएको ठाउँमा राम मन्दिर बनाउनुपर्ने हुन्छ। आएएसएसले मोदीसँग बारम्बार यही कुरा गरिरहेको छ र यसमा ठाकठुक पनि परिरहेको छ। उत्तर प्रदेशकै भए पनि राजनाथ सिंह धार्मिक सद्भाव बिगार्ने यस विषयमा त्यति इच्छुक देखिँदैनन्। अमित शाहले चाहिँ बारम्बार अयोध्यामा राम मन्दिर बनाउन ढिला भइसकेको भाषण गर्दै आएका छन्।

मोदी–शाहको योजना सन् २०२१/२२ मा अयोध्यामा राम मन्दिर बनाउने र ०२४ को निर्वाचनमा हिन्दू मतदाताको मत आफूसँगै राखिराख्ने देखिन्छ। त्यसका लागि उपयुक्त पात्रका रुपमा अमित शाह अघि सरेका छन्।

सन् २०१४ मा भाजपाको नेतृत्व सम्हालेपछि अमित शाहका लागि प्रत्येक दिन चुनावमय थिए। सायद कुनै दिन यस्तो भेटिँदैन, जुन दिन उनले सभालाई सम्बोधन नगरेका होऊन्। कुनै बेला इन्दिरा गान्धीले आफ्नो पार्टीलाई दिलाए जस्तो विजय यसपटक मोदी–शाहले भाजपालाई दिलाएका छन्। अहिले पनि भारतका १७ राज्यमा भाजपाको सरकार हुनुको श्रेय यिनै शाहलाई जान्छ। प्रधानमन्त्री मोदी र अध्यक्ष शाहबीचको रसायनले भाजपालाई उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म लाभ मिलेको छ।

यसपटकको निर्वाचनमा विहार र उत्तर प्रदेशमा भाजपालाई अपेक्षित लाभ मिल्न मुश्किल हुने विश्लेषण गरेर अमित शाहले आफ्नो ध्यान विल्कुल नयाँ क्षेत्र– पश्चिम बंगालमा केन्द्रित गरेका थिए। भाजपाले पश्चिम बंगालमा तृणमूल कंग्रेसकी ममता बनर्जीले चलाएको गुण्डागर्दीको राजनीतिलाई त्यसरी नै जवाफ दियो र कम्युनिस्ट समर्थकहरुको समेत भोट लिएर अनपेक्षित विजय हासिल गर्यो। यसका लागि यतिसम्म कि बंगालीहरुसँग ससाना कुरा गर्न सकुँ र उनीहरुले बोलेका शब्द बुझ्न सकुँ भनेर अमित शाहले बंगाली भाषासमेत सिकेका थिए।

अमित शाहलाई कुशल रणनीतिकारका रुपमा व्याख्या गरिनुका पछाडि यस्तै कथाहरुले काम गरेको छ। ०१४ मा भाजपाको अध्यक्ष अमित शाह र जेपी नड्डामध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल हुँदा राजनाथ सिंह–नरेन्द्र मोदीले सही निर्णय गरेका रहेछन् भन्ने कुरा अमित शाहले सावित गरिदिएका छन्। पाँच वर्ष पर्खेर अहिले बल्ल जेपी नड्डा भाजपाको कार्यकारी अध्यक्ष बनेका छन्। दिल्लीको राजनीति कसरी अघि बढ्छ, शाहका योजनाहरु कसरी कार्यान्वयन हुन्छन् वा भाजपाले तेस्रो पटक पनि बहुमत हासिल गर्ने रणनीति कसरी बनाउँछ अहिले नै प्रष्ट भन्न सकिन्न। तर एउटा कुरा निश्चित जस्तै के देखिन्छ भने मोदीको क्याबिनेटमै रहेका आफ्नै दुई पूर्ववर्ती अध्यक्षहरु राजनाथ सिंह र नितिन गडकरीलाई अमित शाहले निकै पछाडि छाडिसकेका छन्।

त्यसैले अमित शाहलाई यतिबेला मोदी क्याबिनेटको ‘प्रधान’ मन्त्रीका रुपमा व्याख्या गरिएको छ र, संभवतः मोदीको दोस्रो कार्यकालपछि उनी प्रधानमन्त्री बन्ने बाटोमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .