विचार

Tata MotorsTata Motors

इन्डो-प्यासिफिक चीन घेर्ने रणनीति हैन, नेपालले हस्ताक्षर गर्नु पर्दैन


क्लिन्टन एस ब्राउन
काठमाडौं, असोज ४

काठमाडौंस्थित अमेरिकी दूतावास

‘जब हामी इन्डो–प्यासिफिक रणनीति बारे कुरा गर्छौं, त्यहाँ त्यस्तो कुनै क्लब छैन, जसमा नेपालले हस्ताक्षर गर्न सक्छ– यो हाम्रो आफ्नो नीति हो। यो हाम्रो आफ्नो नीति हो, रणनीति होइन।’

सबभन्दा पहिला एउटा व्यक्तिगत कुराः नेपालमा म र मेरो परिवारलाई स्वागत गरेकोमा तपाईंहरुलाई धन्यवाद। म मेरी श्रीमती र दुई बच्चासहित यहाँ छु र हरेक दिन हामीलाई सम्मानित अतिथिको अनुभूति भइरहेको छ। हरेक दिन हामीले देख्दछौँ कि नेपाली जनता आत्मीयता र अतिथि सत्कारका लागि किन विश्वभर प्रसिद्ध छन्!

संयुक्त राज्य अमेरिका जनताले आफ्नो सरकार आफैँ चुन्न पाउनुपर्छ भन्ने आदर्शका साथ स्थापना भएको थियो। हामीकहाँ सरकारभन्दा पनि पहिला कंग्रेस थियो। एक अमेरिकीका लागि जनताबाट निर्वाचित प्रतिनिधिहरुभन्दा महत्वपूर्ण केही पनि हुँदैन। त्यसैले नेपाल र अमेरिकाबीचको सम्बन्धका बारेमा तपाईंहरु संसद्का वर्तमान तथा पूर्व सदस्यहरुसमक्ष बोल्न पाउनु सम्मान हो। म आशा गर्दछु, आज मैले व्यक्त गर्ने धारणाले संसद्भित्र र बाहिर रहेका नेपालका नेताहरुलाई एक अमेरिकीले अमेरिका–नेपाल सम्बन्धलाई कसरी हेर्दछ भनेर बुझ्नलाई मद्दत गर्नेछ।

दुई बर्षअघि मात्रै हामीले हाम्रा दुई देशबीचको सम्बन्धको ७० औँ बार्षिकोत्सव मनायौँ। राजदूतवास वरपर हामीले तस्वीरहरु प्रदर्शन ग¥यौँ, जसले हाम्रो सम्बन्धको प्रगाढता झल्काउँछन्। राजदूत कार्यालयको नजिकै तपाईंले सबै पूर्व अमेरिकी राजदूतहरु देख्न सक्नुहुनेछ, जसले १९४७ पछिको अमेरिकी सम्बन्धको झलक दिन्छ। हाम्रो सार्वजनिक सम्बन्ध कार्यालय नजिक हामीले हाम्रो युवा परिषद्मा सहभागी युवा नेपालीहरु, हाम्रो मिडिया तालिममा सहभागी नेपाली पत्रकारहरु र सांस्कृतिक सम्बन्ध जोड्ने नेपाली कलाकारहरुका तस्वीर राखेका छौँ। युएसएड मलाई मन पर्छ। तिनीहरुसँग सार्वजनिक निर्माण कार्यको खाका तयार पार्न सघाइरहेका अमेरिकी इन्जिनियरहरु, तराईमा औलोका विरुद्ध लड्न सहयोग गरिरहेका अमेरिकी जनस्वास्थ्य विज्ञहरु र नेपाली किसानहरुसँग खेतमा काम गरिरहेका अमेरिकी कृषि विज्ञहरुका तस्वीरहरु छन्। 

नेपालमा संयुक्त राज्य अमेरिकाको ७० बर्षभन्दा बढीको इतिहास भनेको नेपाललाई बढी समृद्ध, बढी सुदृढ, बढी सुरक्षित र बढी सार्वभौम बनाउन अमेरिकाले काम गरिरहेको इतिहास हो।

बढी समृद्धः हामीले नेपाली साझेदार र अरुहरुसँग नेपाली जनताको आय र जीवनस्तर माथि उठाउन काम ग¥यौँ। १९६२ देखि झण्डै चार हजार अमेरिकीहरुले पिस क्रोप्स भोलेन्टियरहरुका रुपमा नेपालमा शिक्षा, वातावरण र प्राकृतिक स्रोत संरक्षण, स्वास्थ्य र सामुदायिक तथा युवा विकासमा काम गरे। युएसएडले नेपाली उद्यमीहरुलाई तालिम प्रदान गरेको छ। संयुक्त राज्यले नेपाली वस्तुका लागि आफ्नो बजार खुल्ला गरेको छ– भारतबाहेक नेपालको बढी निर्यात किन्ने अमेरिकाभन्दा अर्को कुनै मुलुक छैन। २०१८ मा नेपालको अमेरिकाबाहेक यसका हरेक मुख्य व्यापारिक साझेदारसँग व्यापार घाटा रह्यो।

युवा नेपालीहरुले अमेरिका अध्ययन गरेका छन् र नेपालमा व्यवसाय स्थापना गर्न तथा रोजगारी सिर्जना गर्न नेपाल फर्केका छन्। नेपालको अर्थतन्त्रका लागि अमेरिकामा रहेका नेपालीहरु विप्रेषणका दोस्रो उच्च स्रोत हुन्। यद्यपि, हामी विश्वको अर्को भागमा छौँ, हाम्रा पर्यटकहरु नेपाल भ्रमण गर्ने तेस्रो ठूलो स्रोत हुन् र उनीहरु लामो समय बस्छन्, तुलनात्मक रुपमा औसत पर्यटकले भन्दा बढी खर्च गर्दछन्।

बढी सुदृढः २०१५ को भूकम्प र बाढी जस्ता बारम्बार हुने प्राकृतिक प्रकोपको सामना गर्नका लागि तत्कालै काम गर्न अमेरिकी जनताले नेपाली सेनालाई तालिम र उपकरणहरु प्रदान गरेका छन्। युएसएड र अमेरिकी सेनाले उपकरण र तालिम दिएका छन् र नेपाललाई प्राकृतिक प्रकोपका बेला सहयोग गर्न र घटना हुँदा तत्काल सामना गर्नका लागि सेवा स्थापना गरेका छन्।

हामीले नेपालीहरुलाई तपाईंहरुको राजनीतिक यात्रामा साथ दिएका छौँ, तपाईंले आफूलाई चाहियो भनेर हामीलाई भनेका आधारमा लोकतान्त्रिक प्रक्रियालाई सघाएका छौँः उदाहरणका लागि– संसद्का सदस्यहरुका लागि तालिम र नेपालको निर्वाचन प्रक्रियालाई सहयोग। नेपालले आफ्नो निर्वाचनका लागि गर्व गर्ने अधिकार राख्दछ। र, हामी यसको साझेदार हुन पाएकोमा गर्व गर्दछौँ, जसले धेरै काम पूरा गरेको छ।

बढी सुरक्षितः अमेरिकी सेनाले नेपाली सेनालाई सहयोग गर्नका लागि तालिम, उपकरण र विज्ञता उपलब्ध गराएको छ। यहाँ पनि मानवीय सहायता, प्राकृतिक प्रकोपको सामना र व्यावसायीकरणसहित नेपालले जे आफूलाई चाहिन्छ भन्छ, त्यही उपलब्ध गराउँछौँ। मुद्दामामिला समाधन गर्न हाम्रो प्रहरीले तपाईंको प्रहरीसँग काम गरेको छ, हाम्रा न्यायाधिवक्ताहरुले तपाईंहरुका न्यायाधिवक्ताहरुसँग उत्कृष्ट अभ्यासका लागि कुराकानी गरेका छन् र हाम्रा न्यायाधीशहरुले कानुन र दण्ड–सजायका बारेमा नेपाली न्यायाधीशहरुसँग छलफल गरेका छन्।

यी जम्माजम्मी भोजभतेर वा विदेशी पर्यटकका लागि भ्रमण ‘मात्र’ होइनन्, यिनीहरु सघन तालिम सत्रहरु हुन्, जसले मानव बेचविखन र साइबर अपराध नियन्त्रण जस्ता नेपालका प्राथमिकता अनुसारको राष्ट्रको क्षमता निर्माणमा योगदान दिन्छन्, सीप निर्माण गर्दछन्।

बढी सार्वभौमः मैले विश्वभरको अमेरिकी विदेश नीति अध्ययन गरेको छु। मलाई थाहा छ, त्यहाँ केही यस्ता अध्याय छन्, जसमा हामी गर्व गर्छौं र मलाई थाहा छ, केही यस्ता अध्याय पनि छन्, जसमा हामी त्यति गर्व गर्दैनौँ। जहाँसम्म म अनुसन्धान गर्न सफल भएको छु, हामी अमेरिकीहरु नेपालसँगको सहचार्यबाट अत्यन्त गौरवान्वित छौँ। हामीले नेपालको सार्वभौमसत्ता कम आँक्ने गरी कहिल्यै कुनै काम गरेका छैनौँ। हामीले नेपाललाई आफ्नो बाटो आफैँ तय गर्ने यसको सार्वभौम अधिकारमा आघात पर्ने गरी कुनै काम गर्न भनेका छैनौँ। हामीले नेपालमा सरकार बनाउने वा ढाल्ने कुनै काम कहिल्यै गरेका छैनौँ अथवा कुनै राजनीतिक दललाई कोसँग मोर्चा बनाउने वा कसको विरोध गर्ने भनेर कहिल्यै भनेका छैनौँ। अझ बढी समृद्ध, सुदृढ र सुरक्षित हुन सहयोग गर्दै हामीले नेपाललाई आफ्नो खुट्टामा आफैँ उभिनका लागि दक्ष बनाउन सहयोग गरेका छौँ, जसका कारण नेपाल अरु कसैभन्दा कम परनिर्भर, बढी सार्वभौम र बढी स्वतन्त्र हुन सकोस्।

अमेरिका–नेपाल सम्बन्धको सैनिक पक्षका बारेमा मैले सुन्ने गरेका केही मानिसहरुको सरोकारका बारेमा मलाई संक्षिप्तमा दुईवटा कुरा गर्न अनुमति दिनुहोस्।

पहिलो, नेपालसँग अमेरिकी सैनिक सहचार्यका बारेमा कुनै कुरा लुकेको छैन। हामी नेपाली सुरक्षा बलहरुसँग काम गर्दछौँ– सधैँभरि तिनीहरुलाई सुपरीवेक्षण गर्ने नागरिक मन्त्रालयहरु र परराष्ट्र मन्त्रालयमार्फत– तालिमहरु दिनका लागि, जुन नेपाल सरकारले आफ्ना लागि आवश्यक छ भनेर हामीलाई भन्दछ। जस्तो– विशेषगरी संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरुको तयारी, जहाँ नेपालका सुरक्षा बलहरुले विश्वव्यापी सुरक्षा र शान्तिका लागि योगदान गरेका छन् र आफ्नो वीरता र व्यावसायिकताको राम्रो प्रतिष्ठा आर्जन गरेका छन्। संयुक्त राज्य अमेरिकाले उपलब्ध गराएको सैन्य तालिमले २०१५ को भूकम्पको बेला र बाढीको अगाडि वा पछाडि नेपाली र अमेरिकीहरुको जीवन रक्षा गर्न सहयोग पु¥याएको छ। हामी निकट भविष्यमा ‘स्विफ्ट वाटर रेस्क्यु’ तालिम गर्न गइरहेका छौँ। यो तपाईंका छिमेकीहरुलाई अस्थिर बनाउने कुनै गोप्य षड्यन्त्र होइन। यो नेपाली जीवन बचाउने योजना हो, कुनै गोप्य होइन। केही मानिसहरु अति उपयुक्त सहचार्यलाई पनि गोप्य षड्यन्त्र देख्छन्। जब म नेपालमा अमेरिकी सैनिक सहचार्यका बारेमा सोच्दछु, नेपाली नागरिकलाई सघाउने क्रममा २०१५ को भूकम्पपछि हेलिकप्टर दुर्घटनामा परी मरेका छ जना अमेरिकी सैनिकका बारेमा सोच्दछु, जो कहिल्यै भेटिएनन्। यसले नेपालमा अमेरिकी सैनिक सहचार्यको चरित्रका बारेमा उजागर गर्दछ।

दोस्रो, नेपालमा अमेरिकी सैनिक सहचार्यका बारेमा डरलाग्दो गरी कुरा गर्ने मानिसहरुलाई थाहा छैन कि सैनिक क्षेत्र हाम्रो सहायताको एउटा मात्र क्षेत्र हो र अरु गैरसैनिक क्षेत्रहरुको तुलनामा यो सानो मात्र छ।

तथ्यहरुमा हेर्नूस्ः यदि संयुक्त राज्यका लागि नेपालमा सैनिक क्षेत्र यति महत्वपूर्ण हुन्थ्यो भने हामीले गरेका अरु हरेक कुराहरुभन्दा यो किन यति सानो हुन्थ्यो? अवश्य, यो महत्वपूर्ण छ। यसले जीवन बचाएको छ– नेपाली जीवनहरु र अमेरिकी जीवनहरु। तर, यो बृहत् सम्बन्धको एउटा पाटो मात्र हो।

त्यसो भए अमेरिका–नेपाल सम्बन्ध के हो त?

नेपालको स्वास्थ्य, शिक्षा, ऊर्जा, कृषि, सडक, पुल, सञ्चारमाध्यम, उद्यम, सुरक्षा, भूकम्प तयारी तथा सामना, सीमान्तकृत जनसंख्याको सवलीकरण, मानव बेचबिखनविरुद्धको प्रयास न्यूनीकरण र वातावरणीय संरक्षण जस्ता धेरै विषयमा अमेरिकाले सात दशक लगानी गरेको छ। र, यसमा कुनै निहित स्वार्थ छैन।

अमेरिकाले हरेक बर्ष नेपालको विकास सहायतामा झण्डै दुई सय मिलियन अमेरिकी डलर दिने गरेको छ– अनुदानमा, न कि ऋणमा। र, कुनै स्वार्थ निहित छैन।

सडक र विद्युत् क्षेत्रका लागि पाँच सय मिलियन अमेरिकी डलर एमसीसीमार्फत मुखैमा आएको छ, जुन नेपालीहरुले हामीलाई तिनीहरुको प्राथमिकता हो भनेका छन्। र, कुनै निहित स्वार्थ छैन। संयुक्त राज्य अमेरिका नै हो, जसले नेपाली बस्तुका लागि आफ्नो बजार खुल्ला गरेको छ। र, कुनै निहित स्वार्थ छैन।

९० हजारभन्दा बढी अमेरिकी पर्यटकहरु नेपालको संस्कृतिमा रमाउन र अर्थतन्त्रलाई मद्दत पु¥याउन आउँछन्। र, कुनै निहित स्वार्थ छैन।

र, दशौँ हजार नेपालीहरुले तिनीहरुको दक्षता अभिवृद्धि गर्न अमेरिकी विश्वविद्यालयहरुमा पढिरहेका छन्। कुनै निहित स्वार्थ छैन।

कुनै निहित स्वार्थ छैन।

यो तथ्य हो– कुनै पनि सरकार, मेरो पनि, दान (च्यारिटी) होइन। सबै सरकारहरु, मेरो पनि, आफ्नो राष्ट्रिय हित प्रबद्र्धन गर्दछन्।

अमेरिकालाई एउटा शक्तिशाली राष्ट्रका रुपमा केले राख्यो भन्दा जब हामी स्व–हितका बारेमा सोच्दछौँ, हामी अरुका पनि स्व–हितका बारेमा सोच्दछौँ। हामी विश्वास गर्दछौँ, अमेरिका तब उत्कृष्ट हुन्छ, जब नेपाल उत्कृष्ट हुन्छ, अमेरिका तब बलियो हुन्छ, जब नेपाल बलियो हुन्छ। हामी तब उन्नत हुन्छौँ, जब हामीले नेपालको स्वास्थ्य क्षेत्रमा प्रदान गरेको लाखौँ डलरका कारण नेपालको मातृ–शिशु मृत्युदर कम हुन्छ।

मलाई नेपालमा अमेरिकाले के गरेको छ भन्नेबारेमा केही उदाहरणहरु पेस गर्ने अनुमति दिनुहोस्, साँच्चै उदाहरण, खोक्रा बाचाहरु होइन।

हामी विश्वास गर्दछौँ, अमेरिका तब उन्नत हुन्छ, जब नेपाली अर्थतन्त्रले नेपालीका लागि नेपालमा रोजगारी सिर्जना गर्दछ, जसका लागि हामीले नेपाली उत्पादनहरुलाई हाम्रो बजार खुला गरेका छौँ र युएसएडले नेपाली किसान र उद्यमीहरुलाई सहयोग गर्दछ। हामी विश्वास गर्दछौँ, अमेरिका तब उन्नत हुन्छ, जब नेपालको ऊर्जा क्षेत्रले सफलता प्राप्त गर्दछ, जसका लागि हामी एमसीसीमार्फत पाँच सय मिलियन डलर खर्च गर्न तयार छौँ। र, हामीले नेपाललाई कुनै चीजका लागि पनि हस्ताक्षर गर्न भनेका छैनौँ, बाचा अनुसार पैसा खर्च गर्नबाहेक।

मेरा शब्द नपत्याउनूस्, मलाई विश्वास नगर्नूस्। अभिलेख हेर्नूस्– हाम्रो आजको अभिलेख र विगत ७० बर्षको अभिलेख हेर्नूस्, जुन अविराम र सफल रुपमा अमेरिकाले नेपालको आफ्नो यात्रालाई सहयोग गरिरहेको छ र बदलामा बहुत थोरै मागेको छ।

अंग्रेजीमा एउटा भनाइ छः उपहार दिएको घोडाको मुख नहेर्नू। तर, म ठान्दछु, त्यो ठीक होइन। म भन्न चाहन्छुः नेपालले सधैँभरि उपहार पाएको घोडाको मुख हेर्नुपर्छ। लिखतहरु राम्ररी पढ्नू्स्। यदि कसैले कुनै चीज निःशुल्क दिन्छ भने सोध्नूस्– किन? तिनीहरुको स्वार्थ के हो? के यो अरुको पनि हित बुझेको (इन्लाइटन्ड) स्व–हित हो? अथवा आफ्नो हित मात्र हो?

संयुक्त राज्य अमेरिकाले नेपालसँग के माग्दछ? हाम्रो नेपालसँग मुख्य आग्रह अमेरिका पक्षधर होस् भन्ने होइन, तथापि जरुर त्यसको स्वागत हुनेछ! हाम्रो मुख्य आग्रह हो, नेपाल नेपाल पक्षधर होस् ताकि नेपालले धेरै सचेत रुपमा आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सकोस् र लिखतहरु राम्रोसँग पढोस्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो भाषणमा विगतका सन्दर्भहरु उल्लेख गर्दै कानुनको शासनबाट शासित अन्तर्राष्ट्रिय प्रणालीप्रति नेपालको समर्थनका बारेमा बोल्नुभएको छ, जहाँ लोकतान्त्रिक मूल्यहरु अवलम्बन गरिन्छन्, जहाँ साना राष्ट्रहरुलाई ठूला राष्ट्रहरुबाट आक्रमणमा परिने वा किनारामा पारिने डर हुँदैन।

हामी भन्न सक्दैनौँ, यो हाम्रो मात्र कुरा हो।

जब हामी स्वतन्त्र र खुल्ला इन्डो–प्यासिफिक क्षेत्रका बारेमा कुरा गर्दछौँ, त्यो भनेको हामीले जे कुरा गरिरहेका छौँ, दुरुस्तै यही कुरा हो।

जब हामी इन्डो–प्यासिफिक रणनीतिका बारेमा कुरा गर्दछौँ, त्यहाँ त्यस्तो कुनै क्लब छैन, जसमा नेपालले हस्ताक्षर गर्न सक्छ– यो हाम्रो आफ्नो नीति हो। यो हाम्रो आफ्नो नीति हो, रणनीति होइन। हामी अन्तर्राष्ट्रिय प्रणालीलाई सुनिश्चित गर्न सहयोग गर्न चाहन्छौँ र विशेषगरी इन्डो–प्यासिफिक क्षेत्रमा, जुन कानुनी राज्यबाट शासित हुन्छ, खुल्लापन, स्वतन्त्रता र सुरक्षाका साथ रहन्छ, एउटा क्षेत्र– जहाँ साना राष्ट्रलाई ठूला राष्ट्रहरुबाट, मेरोबाट पनि, आक्रमणमा परिने वा किनारामा धकेलिने डर हुँदैन।

स्वतन्त्र र खुल्ला इन्डो–प्यासिफिकका बारेमा अमेरिकी अवधारणा चीनविरोधी गोप्य योजना हो भनेर दावी गर्नेहरुलाई या थाहा नै छैन या त थाहा नपाए जस्तो गर्दछन्, गत ७० बर्षमा इन्डो–प्यासिफिक क्षेत्रलाई स्वतन्त्र र खुल्ला राख्ने अमेरिकी व्यवहारले लाखौँ हजारौँ मानिसहरु– धेरैजसो चिनियाँ कम्युनिस्टहरु– लाई गरिबीबाट बाहिर निकाल्न कति सहयोग पुगेको छ।

वास्तवमा म तर्क गर्न चाहन्छु कि इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र र खुल्ला राख्नु चीनविरोधी नीति वा चीनलाई घेराबन्दी गर्ने रणनीतिभन्दा बढी चीन पक्षधर नीति होः स्वतन्त्र र खुल्ला इन्डो–प्यासिफिक क्षेत्र नै थियो, जसले चीनको आर्थिक इन्जिनलाई बाहिर विस्तारित हुन अनुमति दियो। यही सुरक्षा नै थियो, जसले शान्ति कायम ग¥यो र चीनलाई आफ्ना छिमेकीहरुसँग युद्ध गर्न होइन, आफ्नो विकासमा केन्द्रित हुन दियो। यो खुल्लापन नै थियो, जसले चीनका जहाजहरुलाई संसारभर उड्न दियो, चीनका पानीजहाजहरुलाई विश्वका समुद्रहरुमा तैरिन दियो र चिनियाँ विद्यार्थीहरुलाई सिक्नका लागि अमेरिकी विश्वविद्यालयहरुमा आउन दियो। एउटा स्वतन्त्र र खुल्ला इन्डो–प्यासिफिकले चीनलाई माथि उठ्न सघायो र यसले नेपाललाई आफ्ना लक्ष्यहरु प्राप्त गर्न सघाउन सक्छ।

सत्य यही हो, स्वतन्त्र र खुल्ला इन्डो–प्यासिफिकको अमेरिकी अवधारणा चीनलाई छुटाउने वा अरु कुनै मुलुकलाई सहभागी हुन नदिने कहिल्यै थिएन र छैन। नेपालका नेताहरुले लामो समयदेखि यही आदर्शलाई उठाएका छन्ः कानुनको शासन, सार्वभौमसत्ताको रक्षा, ठूला मुलुकले साना मुलुकलाई किनारामा नधकेलून् भन्ने नीति, विवादहरुको शान्तिपूर्ण माध्यमबाट समाधान।

मैले नेपालमा अमेरिकी कुटनीतिज्ञ हुनमा धेरै गर्व गर्नुको एउटा कारणमा हामीले यहाँ काम गरेको अभिलेख हो, जुन अभिलेख हाम्रा नीतिहरुमा आधारित छ र त्यसले हाम्रा वाचाहरुलाई पूरा गरेको छ। हामीले हाम्रा आफ्ना हितहरुलाई अरुको पनि हित बुझेको (इन्लाइटन्ड) स्व–हितका माध्यमबाट अघि बढाएका छौँ। हामी ७० बर्षदेखि हाम्रो एउटै धारणामा निरन्तर छौँ, जुन अन्यत्रका धेरै कम सरकारहरुले मात्र गर्न सक्छन्। म विश्वस्त छु, हामी यसलाई आउँदा ७० बर्ष र अझ त्यसपछि पनि जारी राख्नेछौँ।

(काठमडौँस्थित संयुक्त राज्य अमेरिकाको राजदूताबासका राजनीतिक तथा आर्थिक शाखा प्रमुख क्लिन्टन एस ‘ट्याड’ ब्राउनले पूर्वसांसद मञ्चद्वारा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ शीर्षक गोष्ठीमा ३१ भदौ, २०७६ मा प्रस्तुत गरेको लिखित मन्तव्यको अनुवाद)

 

असोज ४, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors