ad ad

विचार


नागरिकता विवाद: भूमण्डलीकरणको सन्दर्भमा खोजिनुपर्छ समाधान

नागरिकता विवाद: भूमण्डलीकरणको सन्दर्भमा खोजिनुपर्छ समाधान

गोविन्द कुसुम
भदौ ३१, २०७६ मंगलबार ७:१८,

विद्यमान कानुनले तीन किसिमका नागरिकताको व्यवस्था गरेको छ। वंशज, अंगीकृत र विशिष्ट। पहिले जन्मसिद्ध नागरिकता दिने व्यवस्था पनि थियो। अहिले हटाइएको छ। वंशजको नागरिकतामा कुनै समस्या छैन। विशिष्ट भनेको सम्मानार्थ नागरिकताको व्यवस्था हो।

यस किसिमको नागरिकता नेपाली समाज र राष्ट्रलालाई योगदान पुर्याउने टोनी हेगनसहित केहीले पाएका छन्। अहिले देखिएको विवाद अंगीकृत नागरिकताको विषयमा हो। नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिला, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई कसरी नागरिकता दिने भन्ने विषयमा विवाद देखिएको छ। यो विषयलाई गम्भीरतापूर्वक लिन जरूरी छ, यस विषयमा थप बहस र छलफल हुनुपर्छ।

अंगीकृत नागरिकता प्राप्तिको विषय उठान गर्नुअघि हाम्रो अवस्थाबारे पनि एक पटक हेराैं। नेपालको सीमा भारत र चीनसँग जोडिएको छ। बन्द सीमा भए पनि चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालीहरुको विहेबारी हुने गर्छ। भारतीयसँग बिहेबारी हुने संख्या अझ ठूलो छ। नेपालीहरुले उताका चेली विवाह गर्छन्। यताका चेलीहरु विवाह गरेर भारत-तिब्बत जान्छन्। खुला सीमाका कारण भारतसँग हुने सीमापार विवाह संख्या बढी भएको हो।

नागरिकताको विषयमा विवाद देखिएको यो पहिलो पटक होइन। पहिला नेपाली महिलाबाट जन्मेका सन्तानबारे विवाद थियो। अहिले आमाले बाबु को हो भनेर पुष्टि गरेपछि नागरिकता उपलब्ध गराउने व्यवस्था भएको छ। त्यसपछि अहिले विदेशी ज्वाइँ र विदेशी बुहारीको हकमा विवाद सतहमा देखिएको हो। नागरिकता विधेयक संसदीय समितमा पुगेपछि यो अझ बल्झिएको छ। यसमा कुन व्यवस्था ठीक, कुन बेठीक भनेर राजनीतिक तहबाट बृहत् छलफल भएको देखिँदैन।

अंगीकृत नागरिकता प्राप्तिको विषयमा भारतमा विदेशी महिलाले विवाह गरेर गएको ७ वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था छ। कुनै नेपाली चेली विवाह गरेर झापाबाट दार्जिलिङ गइन् भने नागरिकताका लागि ७ वर्ष कुर्नुपर्छ। अन्य देशले पनि विवाह गरेर जाने वित्तिकै नागरिकता दिँदैनन्। यसो गर्नुको मुख्य कारण जनसांख्यिक सन्तुलन र अर्को राष्ट्रिय सुरक्षा नै हो। जभाभावी नागरिकता वितरण गर्दा जनसांख्यिक असन्तुलनले समस्या निम्त्याएका उदाहरण विश्वका धेरै देशमा देखिएका छन्। नागरिकता राष्ट्रिय सुरक्षासँग सिधै जोडिने विषय समेत हो।

अहिले एउटा पक्ष विवाह गरेर नेपाल आउनासाथ विदेशी महिलाले आफ्नो नागरिकता परित्याग गरेको घोषणा गरेपछि अंगीकृत नागरिकता दिनुपर्छ भनिरहेछ। यसमा केही प्रश्नहरू अनुत्तरित छन्। उनीहरुले नागरिकता परित्याग गरेको भनेर जाँच्ने संयन्त्र के हो? कसरी जाँच्ने र त्यसको पुष्टि गर्ने?  हामी सबैले पछिल्लो समय देखेको विषय नक्कली विवाहको पनि हो। अस्ट्रेलिया जान सजिलो हुन्छ भनेर नक्कली पति-पत्नी बन्नेहरुको विषय सञ्चार माध्यमले बारम्बार सार्वजनिक गरेका छन्। सहज रुपमा नागरिकता पाउने हो भने नक्कली विवाहका  घटनाहरु नआउलान् भन्न सकिँदैन।

हाम्रोमा अहिलेको छलफल भारतको बिहार र उत्तर प्रदेशलाइ हेरेर मात्रै भइरहेको छ। विश्वव्यापीकरणको युगमा वैवाहिक सम्बन्धको विषय सीमा क्षेत्रमा मात्रै सीमित छैन। नेपालीहरु संसारभर छरिएर रहेका छन्। पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरु धर्मपरिवर्तन मात्रै होइन काम गर्ने देशको महिला वा पुरुषसँग विवाह गर्न थालेका कैयाैं उदाहरण छन्। नेपालीसँग विवाह हुने कस्तो पृष्ठभूमि, के उद्देश्य भएका मानिसहरु हुन्? उनीहरु नेपाल बस्दा नेपाललाई कुनै प्रकारका समस्या पर्छ कि पर्दैन? छिमेकी देशहरुलाई अफ्ठ्यारो पर्छ कि पर्दैन? त्यो हेर्न जरूरी हुन्छ। हामीले भारतलाई मात्रै हेरेर मात्र पुग्दैन। पाकिस्तान र बंगलादेशलाई हेर्नुपर्छ, भूमण्डलीकरणलाई पनि हेर्नुपर्छ।

विश्वव्यापीकरणको युगमा छिमेकसँग मात्रै हाम्रो आवतजावत र सम्पर्क हुँदैन। अन्तर्देशीय विवाहबारी पनि सीमा क्षेत्रमा मात्र केन्द्रित छैन। नेपाल आउने वा नेपालीसँग वैवाहिक सम्बन्ध राखेर आउने व्यक्ति सबै राम्रो उद्देश्यका हुन्छन् भनेर सुनिश्चति गर्न पनि सकिँदैन। खुकुलो व्यवस्था राख्ने हो भने त्यसको दुरूपयोगले अन्तर्राष्ट्रिय तहका अपराधको सम्भावना समेत बढाउनेछ। खराब उद्देश्य र आचरण भएका वा आतंकवादीहरुले समेत त्यसको दुरुपयोग गर्न सक्छन्। यसै पनि नेपालको अपराध नियन्त्रण संयन्त्र बलियो छैन। त्यसैले सो विषयमा सुनिश्चित हुन नागरिकता प्राप्त गर्न चाहने व्यक्ति लामो समय नेपालमै बस्दा उसको बानी, व्यवहोरा तथा पृष्ठभूिमको परीक्षण हुन सक्छ। यस्तो व्यवस्था जरूरी छ।

विश्वका देशहरूमा नागरिकता प्राप्तिको प्रक्रिया हेर्ने हो भने पनि त्यस्तो व्यवस्थाबाटै गुज्रिएको देखिन्छ। कुनै नेपाली रामप्रसाद वा श्यामप्रसाद बकाइदा कानुनी रूपमै अमेरिकामै बस्नेगरी प्रक्रिया थालनी गरेर गए पनि त्यहाँ तत्कालै नागरिकताको अधिकार पाउँदैन। पहिले स्थायी रुपमा बस्न अधिकार पाउँछ। त्यसपछि क्रमश: एकपछि अर्को चरण पार गर्दै नागरिकता पाउने हो। नागरिकताजस्तो सम्वेदनशील विषयलाई आज विवाह गरेर आयो भोलि दिने व्यवस्था दुनियाँमा कुनै मुलुकमा पनि छैन। यो राष्ट्रियता, सार्वभौमिकता, शान्ति सुरक्षाजस्ता विषयसँग सिधै जोडिने विषय समेत हो। सबै खराब मनका हुन्छन् भन्ने होइन तर राष्ट्रिय सुरक्षाको विषय जोडिने कुरामा आँखा चिम्लिन पनि हुँदैन।

पछिल्लो समयमा विश्वभर अन्तर सीमा आतंकवादले ठूलो समस्या पैदा गरिरहेको छ। आतंकवादको फैलावट विभन्न स्वरूपमा भइरहेको छ। विद्यार्थी, व्यापारी, नोकरी वा वैवाहिक सम्बन्धबाट आउने व्यक्ति नै यसका प्रयोगकर्ता देखिएका छन्। नेपालले कुनै पनि देशलाई आफ्नो भूभाग कसैविरुद्ध प्रयोग गर्न नदिने नीति लिएको छ। तर नेपालको सहज व्यवस्थालाई दुरुपयोग गर्दै नागरिकता लिएर अर्को देशविरुद्ध त्यसलाई प्रयोग गर्न थाले के हुनेछ? नागरिकताको व्यवस्था निर्धारण गरिनुअघि यो विषयमा बहस हुन जरूरी छ। नागरिकताको विषयलाई क्षणिक स्वार्थ वा राजनीतिक जोडघटाउका लागि प्रयोग गरिनुहुँदैन।

(गोविन्द कुसुम पूर्वगृहसचिव हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .